Wednesday, November 26, 2008

बुझ र फर्क - वि.सं. २०४९ मा राष्ट्रिय वातावरण कविता प्रतियोगितामा प्रथम पुरस्कार पाउन सफल कविता

कविता
बुझ र फर्क
कवि - आयोदधौम्य (निर्मलमणि अधिकारी)

उजाड बनेको छ पृथ्वी
नीरस र फूङ्ग नेपाल -
कतै नदीमा बगरै-बगर टल्कने त होइन,
मानिसहरुको जीजीविषा धप्धप् बलेर
खरानी त हुन्न हाम्रो संसार !
ए मान्छे हो,
रोक आफैंलाई डढाउन खोज्ने हातहरु,
पछि फर्काऊ विष कुण्डतिर बढेका
तिम्रा ती खुट्टाहरु;
रुखसँग आत्मियता राखेर हेर,
यसका रत्याउने गीतका तालमा नाच त,
त्यसपछि तिम्रा हातहरु
ममतामयी नारीलेझैं
रुखलाई संरक्षण गर्न प्रयोग गर,
भविष्यमाथि बन्चरो नहान,
बुझ र फर्क -
हरित नेपालतर्फ ।
वि.सं. २०४९ मा राष्ट्रिय वातावरण कविता प्रतियोगितामा प्रथम पुरस्कार पाउन सफल यो कविता ऋचा, २०४९ कार्तिकमा प्रकाशित छ ।

Saturday, November 15, 2008

व्यथा (कविता)

कविता
व्यथा
बोलुँ -
बोलिपासो,
नबोलुँ -
नबोलिपासो;
जब म चूप हुन्छु
चिच्याउँछौं तिमीहरु
कि योसँग वाणी नै छैन
र जब म बोल्न थाल्छु
टाउको दुख्न थाल्छ तिमीहरुको
कि यो साह्रै बोल्यो
-यो हामी भन्दापनि बढि बोल्यो;
बोलुँ -
बोलिपासो
नबोलुँ -
नबोलिपासो ।
रचना मिति - २०५३।१२।७ बिहीबार, रातको ठीक पौनेबाह्र बजे ।
स्पीकर्स कर्नरमा प्रकाशित

Monday, November 10, 2008

छाङ्ग पिपलटार, मेरो पिपलटार

निबन्ध
छाङ्ग पिपलटार, मेरो पिपलटार
१६।१०।२०४८
छाङ्ग पिपलटार, मेरो पिपलटार, मेरो जन्मथलो, मेरो प्यारो गाउँ ।
कतिले नाम पनि नसुनेका होलान् र देख्ने चिन्ने जान्नेको संख्या झन् कति पो होला ! मान्छेहरुका दृष्टिमा यसको विशिष्टता केही नहुन पनि सक्छ; किनकि संसारका लाखौं गाउँहरुभन्दा पृथक् कुनै खासकुरा यहाँ उनीहरुले नदेखेका हुनसक्छन् । कुरा स्पष्टै छ - यहाँ भगवान् श्रीकृष्ण अवतरित हुनुभएन त्यसैले त यो व्रजभूमि भएन । यहाँ भगवान् श्रीराम अवतरित हुनुभएन त्यसैले यो साकेत मानिएन । अँ, यो पेरिस होइन जहाँ मोनालिसाको मृदु मुस्कानमा मदहोस भएकाहरुले इफेल टावरको गर्व बोकून् । न त यो सदा वसन्त-बहारमा झुम्ने क्वेटा नै हो । यो सँग मोहनजदडो र हरप्पाको जस्तो यश-आर्जन पनि मान्छेले नदेख्लान् । मिश्रको पिरामिडमा आफ्नो प्रतिकृति चियाउने रहर पनि मेरो पिपलटारले लिएन । पिपलटारले सिकन्दर जन्माएर विजयी हुनुको अनुभूतिमा रम्न पाएन । सुकरात अरस्तु प्लेटो नजन्मेको मेरो गाउँ; फ्रायड नित्से माक्स्र नहुर्केको मेरो गाउँ; तर नजिकै दमौलीमा जन्मेका वेदव्यासलाई हाम्रै छिमेकी त हुन् नि भनेर सन्तुष्ट छ यो । भानुभक्तले रामायणको अरण्यकाण्ड रच्दैगर्दा यही बाटो गुन्गुनाउँदै िहंडेको सम्झेर मख्ख छ । शिवभूमि हुन पाएकैमा सन्तुष्ट छ मेरो पिपलटार । मान्छेहरुले थाहा पाउन नचाहेर पो त नत्र पिपलटारको आफ्नै गौरवमय अतीत नभएको कहाँ हो र !
कुनैबेला कश्यप गोत्रीय मेघ ऋषिको नामबाट यो चिनिन्थ्यो जब यहाँ मेघह्रद मेघदह थियो । शायद गजेन्द्रमोक्ष यहीँ भएथ्यो । वासुकी अनन्त कुलीर कर्कट आदिइत्यादि नामका नागराजहरु यहाँ विहार गर्दाहुन् । छेउछाउतिर अनेक भँयर झाँक्रीका थान हुँदाहुन् । थुम्काथुम्कीमा देवी-देवता बास बस्दाहुन् । अनि मेघदहको नीलो गहिराइभित्र के देखेर हो कुन्नि डुल्दै त्यहाँ आइपुगेका कश्यप गोत्रीय ऋषिवर छागलले त्यस दहको पानीलाई पश्चिमतर्फ निकास दिएछन् इन्द्रसँग वज्र मागेर । जब दहको पानी पश्चिमतर्फबाट बग्दैगयो तब मलिलो जमीन भएको फाँट अर्थात् आजको ुम्याग्देफाँटु जन्म्यो । मेघनद आजको म्याग्देखोला ऋषिद्वय मेघ र छागलको गाथा गाउँदै दौडन थाल्यो र आजपनि हाम्रा पौरखी पुर्खाको कीर्ति सुनाउँदै बगिरहेकै छ म्याग्देखोलो - पिपलटारकै छेउबाट । सारा म्याग्देफाँटका प्राणीको जीवनाधारका रुपमा मेघनद हिजो पनि थियो र आजपनि छ । त्यसो त यदाकदा क्रोधित भएर गडगडाउन पनि यसले जानेको छ र त्यस्तोबेलामा धुरुक्क रुवाउँछ यसले । जे होस् म्याग्देले हामीलाई बताइरहेको छ पिपलटारको गौरवमय अतीत । यहाँ भगवान् शिव रम्नु भयो भैरव दगुरे नन्दी-भृंगीहरु खुशीले उफ्रे । सृष्टिकालमा शक्ति र शक्तिमान्को प्रणयलीला यहाँ चल्योहोला । यही म्याग्देका सुसेलीमा लयबद्ध भइरहेका होलान् कति कथा-कुथुंग्रीहरु ।
पिपलटार वास्तवमा समाधिस्थ ऋषिझैं छ स्थितप्रज्ञ । चंगेजको दिग्विजयमा यो निर्विकार रह्यो; तैमुरले भारत तहसनहस पार्दा मेसो पाएनछ; सिकन्दरको उदय र अवशानमा यसले केही प्रतिकि्रया जनाएन । झाँसीकी रानीको शौर्यलाई उतिबेला चिन्न नपाएको बलबाहु चीन जाँदा कोसेली पठाउने मेसो नपाएको चाणक्यको संगत गर्ने अवसर गुमेको - यी कुराहरुप्रति पछुतो छ वा छैन मेरो पिपलटारलाई शंकराचार्य र बुद्धलाई भने चिनेको छ अरे मेरो पिपलटारले । अल्लि पहिले पृथ्वीनारायणको महान् एकीकरण अभियानका बेलामा उनको साथ दिन चाहिँ जागेको थियो; तापनि अधिकांशतः मेरो पिपलटार मूक र ध्यानस्थ रह्यो पद्मासनमानै रमायो ।
अट्टिला जसले हरेक राज्य विजयसँगै एउटा बिहे गर् यो र त्यस्ता बिहेको संख्या चारसय पुगेको थियो उसकोलागि डेन्युबको किनारा जति महत्वपूर्ण थियो; त्योभन्दा महत्वपूर्ण लाग्छ म्याग्देखोलाको किनारा । यहाँ क्षेयास्र जन्मेन यहाँ हरक्युलिस जन्मेन यहाँ शेक्सपियर जन्मेन यहाँ हिटलर जन्मेन । यसको कुनै इतिहासको पानामा नाम नभेटिएला; कुनै धर्मग्रन्थमा यसको महात्म्य नपाइएला - तर दुःखमनाउ छैन । यसको पत्रे चट्टान मुन्तिर उधिन्ने होभने सृष्टिकै कथा छोपिएका हुन के बेर ! पिपलटारको थोरै तर साह्रै उब्जाउ जमीनकालागि कति भुरे-टाकुरे राजा-रजौटाको रगत बह्यो होला । यसको यथार्थ पुस्तकहरुमा खोज्ने होइन हाम्रै म्याग्देलाई सोध्नुपर्छ ।
कुनैबेला औल लाग्छ भनेर गोठमात्रै पनि राखिएछ पिपलटारमा । दिउँसै बाघका गर्जन र मृगशावकका उछलकूद ! देउताले गर्थे रे रखवाली । बाटेकुवामा बाघका डमरु र मृगशावक सँगसँगै पानी पिउँथे रे । कालक्रमसँगै पिपलटारको मोहनी बढ्यो । मान्छेहरुले गोठका ठाउँमा घर बनाए । पत्रे चट्टानलाई बमको विष्फोटले उडाएर मलिला गरामाथि समेत गिटी ओच्छ्याइयो । त्यतिखेर नयाँ जीवनप्रतिको आशाले सबै चोटलाई उफ् सम्म पनि नभनी सह्यो मेरो पिपलटारले । तर म्याग्देखोलाको दुःखमाथि दुःख थपियो । बमको पड्काइले तसर्िएर कहालियो ऊ । आफूमाथि पुल अनि ठाउँ-कुठाउँमा तटबन्धले उँध्मुन्टियो बाँधियो । तर वास्ता गर्ने ध्याउन्नामा थिएन पिपलटार । आधुनिक हुनुमा मजा आएको थियो यसलाई त । परिवर्तनलाई कौतुकतापूर्वक अवलोकन गर्नु र सकेजति अपनाउनु यसैमा रमायो पिपलटार ।
जब म जन्में मेरो प्रथम भेट पिपलटारको माटोसँग भयो । त्यसदिन यहाँको हावाले मेरा फोक्साहरु भरिए । म्याग्देखोलाको पानीले मलाई धोइएको थियो । यहीँको माटोमा उब्जेको अन्नबाट म पोषित भएँ । पिपलटारको काखमा म्याग्देखोलाको ुलोरीुसँगै मैले जीवनगीत गाएँ । मेघ र छागलजस्ता महान् पुर्खाको गाथा म्याग्देको सुसेलीमा सुनेको हुँ मैले । हिजो जब यो आफ्नो यौवनमा थियो त्यसबेला म यसमा पौडी खेल्थें तर आज जब म यौवनमा छु ऊ मसँग केही फर्मायस गरिरहेको छैन । जबकि अधिकार हो उसको ।
मेरो जन्मभूमि पिपलटार कुनैपनि महानगरीभन्दा कम छैन मेरालागि । मेरी आमा र मेरा पिताजीको वात्सल्यसँगै पिपलटार पनि कदापि नमेटिने गरी मसँगसँगै छ । मेरो हृदयको पिपलटार वर्णन गरुँ भनेपनि शब्द पुग्दैन । नाइलको लम्बाइ र अमेजनको चौडाइ अरुहरुकालागि धेरै होला मेरोलागि त म्याग्देखोलानै सबभन्दा लामो र चौडा छ । गंगा जत्तिकै पवित्र मान्छ मेरो हृदय यसलाई । मेरोलागि मेरो पिपलटार स्वर्गभन्दापनि ठूलो छ; पैगम्बरको जन्नत र येशूखि्रष्टको प्रमोदवनभन्दा मेरो पिपलटार नै ठूलो मान्छु म त । मलाई लाग्छकि सबैथोक हो मेरो मातृभूमि । मेरो पिपलटार मेरो मुटुको प्रत्येक धड्कनमा समाहित छ ।
घटना र विचार साप्ताहिकमा वि.स. २०५७ सालमा प्रकाशित

Saturday, November 8, 2008

निर्मलमणि अधिकारी आयोदधौम्यको छैटौँ खण्डकाव्य आकाश यसरी खुल्छ

आकाश यसरी खुल्छ
निर्मलमणि अधिकारी आयोदधौम्यको छैटौँ खण्डकाव्य
लेखन मिति ः वि.सं. २०५०।०२।१८ बिहान ८ः०० बजे सुरु भई मध्याह्न १२ः३० मा समाप्त ।
This short-epic has been published already in: Aath Khandakavyaharu Ayod Dhaumyaka (An Anthology of Eight very short epics by Ayod Dhaumya), published by: Taranga Sahityik Abhiyan. यो खण्डकाव्य पनि आठ खण्डकाव्यहरु आयोदधौम्यका (तरंग साहित्यिक अभियान, वि.सं. २०६५) मा संग्रहित छ ।

विषयसूची
१। विषय प्रवेश
२। विदुलाको छट्पटी
३। विदुला संजयलाई भन्छिन्
४। विदुलाको सन्देश ः संघर्ष
५। संजयको विवशता प्रदर्शन
६। संजय आक्रोशित हुन्छन्
७। विदुलाको कूटनीति सम्बन्धी अर्ती
८। उपसंहार

मंगलाचरण
वीणा पुस्तक धारिणी अभयदाता हे श्वेत वस्त्रावृता ।
तिम्रै पाई दया मानिसहरु हुन्छन् खुशी सर्वदा ॥
वाणी स्वरुपा हजुरको गर्छन् सबले तप ।
सकूँ लेख्न काव्य यो गर्दै हजुरको जप ॥
लामो सूँढ अनि हाम्रा कल्याणकर्ता प्रभो ।
करुणा हामीमाथि ठूलो छ तिम्रो विभो ॥
देऊ शक्ति शीघ्र लेखनको भक्त काव्यको हो भनी ।
तिम्रोझैं सुयश फक्रोस् अमर हुन सकूँ अनि ॥
यो देशको पहरा जहाँ
कस्तुरी मग्मगाइरहेछ
यो देशको छहरा जहाँ
श्रीखण्ड जग्मगाइरहेछ
अनि यो देशका फाँटहरु जहाँ
नदीहरु गड्गडाइरहेछन्
र मेरो हिमालपनि देओस्
सम्बल मनको ।
यी देशका कछाड र भोटो फाटेका
मेरा दीन जनता
आधी पेट खाएर
सारंगीझैँ ख्याप्ल्याक्क परेका
मेरा विवश जनता
यी सबको आत्मा साक्षी छ
यहाँ कलम गड्गडाउने छ
खलंगामाझैँ वीरताको
शंखघोष गर्दै जाओस्
मेरो कलमले ।

१। विषय प्रवेश
सूत्रधार १ ः
कथा आज भिनंदैछ यहाँ एक वीर् नारीको
कथासँगै गाइँदैछ प्रशस्ति यहाँ वीर् नारीको ।
माया प्रेम स्नेहकी खानी सधैं नारी
परेदेखि ज्वालामुखी चट्याङ् बन्छिन् नारी ।
एकादेशको कथा हो यो
कुनै देश थियो रे
त्यो देश देश थिएन वास्तवमा
राष्ट्र थिएन त्यो ।
प्रत्येक जनताको हात
बन्दी बनेका थिए
प्रत्येक राष्ट्रवादीको मुखमा
ताल्चा मारिएको थियो
उफ्
कति दुःखदायी हुन्छ पराधीनता
दूर्भाग्य यही थियो
नियति त्यो देशको ।
यन्त्रमानव बनेर
कसैको आदेशको प्रतिक्षामा
बस्थे कतै अक्षम्य गल्ती
हुने त होइन
थाहा छैन कुन बेला
कोमाथि प्रहार पर्छ
खै के थाहा कहिले
बन्दी हुन्छन् जनता
आखिर त्यो देश
पराधिन त जो थियो ।
बारीका डल्लाहरु चिच्याईचिच्याई
स्वतन्त्रताको वकालत गर्थे
नदीका सुस्केराहरु
पीडाको गाना सुनाउँथे
प्रत्येक मनहरु चाहन्थे
ज्वालामुखी बनिदिन र
भत्काइदिन
पराधिनताको दूर्ग ।
िपंजडाको सुगा झैं भएर
विरहिणी झैं रोएर
काल बितेको थियो
पराइको गाँसमा बासमा आशमा
मुटुको प्रत्येक ढुकढुकी बन्धकी भइसकेपिछ
मस्तिष्कका प्रत्येक नशा
व्याज तिर्दैमा गइसकेपिछ
परिणाम के हुन्छ र
यहाँ त्योभन्दा अर्को ।
राजा त्यो देशको राजालाई
के राजा भन्ने
अर्काको तलब खाएर
अर्काको पराधिनता स्वीकारेर
अर्काको कदममा निहुरेर
अनि अर्काको आदेश तामेल गर्दै
बाँच्ने पनि
राजा भनिएला र
त्यसैले त राजा
राजा थिएन
दास थियो ऊ सैन्धवको
देशको प्रत्येक जनता र
प्रत्येक माटोको कण सहित ।

२। विदुलाको छट्पटी
यस खण्डकाव्यको पूर्णपाठ पछि राखिनेछ ।