Sunday, March 22, 2009

मेरो प्रेम तिमीसम्म तिम्रो मसम्म (मिित २०५४।८।२० मा रचित)

यो जुनि मात्र हैन अर्को जुनि-जुनि सम्म
मेरो प्रेम तिमीसम्म तिम्रो मसम्म

तिम्रो जीवन-कथा शुरु अनि अन्त्य पनी
जताततै मेरो नाम त्यस्तै तिम्रो पनी

मेरोपछि तिम्रो नाम तिम्रोपछि मेरो
दायाँ बायाँ मायाकोनै बनोस् चौघेरो

यो जुनि मात्र हैन अर्को जुनि-जुनि सम्म
मेरो प्रेम तिमीसम्म तिम्रो मसम्म ॥
(२०५४।८।२०)

Saturday, March 7, 2009

प्रेमको होली, म र प्रेयसी (२०५४।११।२८।५ मा रचित)

होलीको स्वागत गर्न मन लागेकाले यो पुरानो रचना पुन: पोस्ट गरेको हुँ ।
प्रेमको होली, म र प्रेयसी (कविता)

केहि मैले आफै राखें
केहि तिमी संग मागें
तिम्रो रंग मेरो रंग
मिसाई होली खेलें ॥

एक अक्षर मैले लेखें
एक अक्षर लेख्ने तिमी
रंगारंग फागुबिच
मैले माया लेखें ॥

रंग विरंग संग
झुम्दै झम्दै अंग अंग
इन्द्रधनुष बन्दै बन्दै
आहा प्रेम तरंग ॥

गोधूलीमा नयन दर्पण
साक्षी प्रीतं अर्पण
सराबोर यसरी भो
क्या स्व-समर्पण ॥

कालो कलुष पखालेंर
इन्द्र धनुष कोरें
चित्रपट मुटु बनाई
बहार अपार भरें ॥

निशाकर अम्बरमा
हैन हाम्रै- हाम्रै मनमा
निर्झरिणी निद्र्वन्द
छाल उछाल सब्मा ॥

बेष्टित -लता तुल्य
िकंवा लता-बेष्टित तुल्य
उफान आख्यान तुल्य
क्याबात् ती क्षण अमूल्य ॥

निलगिरी अन्नपूर्णा
इन्द्र धनुष सेतु
भङ्कार झङ्कार झङ्कार
झङ्कार कै हेतु ॥

सारेगम मेरो हुँदा
प ध नि को टुंगो तिमी
सूर मसँग हुँदा
लय लयित तिमी ॥

सप्तरङ्गी सप्तपदी
सप्तपदी जीवनधूरी
जीवनधूरी रंगारंग
इन्द्रधनुष इन्द्रधनुष ॥

पूर्णिमा पूर्ण चन्द्र हुँदा
चन्द्रिका बिना कहाँ
वैशिष्ट्य यो दिनको
होली पो भो यहाँ ॥

रगतको रातो तिम्रो
मेरो अम्बर नीलो
जीवन-वायु मेरो भए
जीवन-रस तिम्रो ॥

दूर्वाङ्कुरे हरियाली
तिमी मलाई देऊ
पहेंलपुर जमराको
ओस जोसमा लिऊ ॥

एक कर मेरो भर
एक हल्चल्
फागु होलीमात्रै हैन
प्रेम तल्तल् ॥

अरुणकी सरीता वा
सविता हौ अरुणकी
मदनकी मायावी वा
काया अकायाकी ॥

शून्यकी सार स्वरुप
चँदुवाकी झल्लरी
बाग-बाग भएँ अहे
बागकी पल्लवी ॥

पौडियौ रङ्ग-सागर
आफै ऊ धन्य भयो
पौडायौ मधु-सागर
आफै यो धन्य भयो ॥

यी रङ्ग शर भए
दिन-होली धनु
लक्ष्य फगत् तिमीबिना
हाय के पो अरु ॥

पुसे-माघे सूर्य तुल्य
अझ पुष्पसँग -सुवासको तुल्य
प्रेमले रंगिएको
होली धन्य धन्य ॥

(२०५४।११।२८।५ दिनको १:४५ बजे; स्थान - अर्चलबोट पोखरा-२)

Wednesday, March 4, 2009

प्रेम प्रसङ्ग हाम्रो दुनियाँलाई कहानी भो ( मिति २०५४।८।२० मा रचिएको)

प्रेम प्रसङ्ग हाम्रो दुनियाँलाई कहानी भो
एक् कान् दुई कान् गर्दागर्दै जगतैको जुवानी भो

न्याउलीको विरहमा मान्छे प्रीत सुन्न थाले
कोइलीले को हो भन्दा मान्छे माया गुन्न थाले
पिरतीको हाम्रो गाथा संसारले गाउन थाले
हाम्रो देखासिकी हेर सब्ले माया लाउन थाले

प्रेम प्रसङ्ग हाम्रो ..............

कुमुदिनी फूल्दाखेरी हाम्रो प्रीत मुस्काउँछ
लज्जावती सँगसँगै हाम्रो प्रीत लजाउँछ
पूर्णिमाको चन्द्रतुल्य जाज्वल्यमान् हाम्रो माया
अमर छ चाहे छाडी जानुपरोस् जर्जर् काया

प्रेम प्रसङ्ग हाम्रो ........

(२०५४।८।२०, शुक्रवार, दिउँसो २ः०० बजे, स्थान ः अर्चलबोट, पोखरा)