Wednesday, May 27, 2009

भोककै कारण छोरीहरुसहित आत्महत्या गर्न बाध्य आमाको देशमा

- निर्मलमणि अधिकारी
यो यही देश हो जहाँ भोककै कारण आठ महिना र सात वर्ष उमेरका दुई छोरीहरुसहित आत्महत्या गर्न बाध्य भइन् एक आमा । अखबारका पानामा संक्षिप्त समाचार छापिनुबाहेक उनीहरुको दुःखान्तले छोएन कसैलाई ।

सकेसम्म कोही चाहँदैन मर्न । मानिसलाई सबै भन्दा प्यारो लाग्ने नै आफ्नो जिन्दगी हो । त्यसमाथि प्रेम एवं करुणाकी प्रतिमूर्ति आमाले आफ्ना सन्तानलाई यति माया गर्छिन् कि त्यो अवर्णनीय छ । तर हाम्रै नेपालको सुदूरपश्चिममा एक आमाले आत्महत्या गरिन् आफ्ना दुई छोरीहरुसहित ।

अखबारले दिएको समाचार संक्षिप्त भए पनि कुरो बुझिन्छ । थुप्रै दिनदेखि ती तीनजनाको मुखमा अन्न परेको थिएन । केही नखाएपछि आमाको स्तनबाट दूध आओस् कसरी । रोइरहेका छोरीहरुलाई पानीसमेत पियाउन सकिनन् आमाले किनकि सुदूरपश्चिमको त्यो गाउँ हाम्रो देशका अनेकौँ यस्ता गाउँजस्तै थियो जहाँ पिउने पानी लिनसमेत निक्कै पर पुग्नु पर्ने हुन्छ ।

समाचार पढेर थाहा लाग्दैन तर अनुमान गर्न सकिन्छ कि आमाले केही माग्ने र छोरीहरुलाई बचाउने प्रयत्न पक्कै गरिन् । दरिद्रबस्तीमा सम्भवतः कसैसँग थिएन उनीहरुलाई दिनका लागि केही ।

अन्नपानी केही पनि नपाएपछि छोरीहरुको स्वरसमेत सुक्यो होला । पीडाले छटपटाइरहेका तर त्यसलाई समेत व्यक्त गर्न नसकिरहेका छोरीहरुको वेदनाको आघात कसरी सहन सक्थिन् आमाले । निरुपाय उनले छोरीहरुलाई पीडाबाट मुक्ति दिने एउटै मात्र उपाय देखिन् ।

हाम्रै देशमा भएको घटना हो यो । यो यस्तै अनेकौँ घटनाहरुको प्रतिनिधि मात्र हो ।
यो संसारमा यस्तो पनि देश छ र यो मेरै देश हो जहाँ भोकका कारण मानिस आत्महत्या गरिरहेका छन् जहाँ झाडापखाला लाग्दा सामान्य औषधी नपाएर कैयौँजना मरिरहेका छन् जहाँका मानिसहरु सामान्य गाँस बास कपासको आवश्यकता पूर्तिका लागि कुल्ली दर्बान भाडाका सैनिक घरेलु नोकर आदिका रुपमा बेचिनु परिरहेको छ जहाँ आफ्नै चेलीहरुलाई वेश्यावृत्तिका लागि बेचिन्छ जहाँ बोक्सीका नाममा आमा दिदी बहिनीहरुमाथि बर्बर िहंसा भइरहेको छ जहाँ हजारौँ मानिसको हत्या गर्ने िहंस्रकहरु राजनेता कहलाइन्छन् जहाँ राजनीति भनेकै जसरी पनि सत्ता शक्ति र सम्पत्ति हत्याउने साधन बनेको छ ।

यो यही देश हो जहाँ भोककै कारण आठ महिना र सात वर्ष उमेरका दुई छोरीहरुसहित आत्महत्या गर्न बाध्य भइन् एक आमा । के अधिकार छ त्यस्तो देशलाई एउटा स्वतन्त्र देश भएको भनेर गर्व गर्न के हक छ त्यस्तो देशको सरकारलाई जनतामाथि राज गर्न कुन स्वाभिमानले हो म बुझ्न सकिरहेको छैन कि आठ महिनाकी बच्चीलाई समेत अन्न पानी उपलब्ध गराउन नसक्ने मेरा देशका बहुसंख्यक मानिसहरु सधैँभरि राष्ट्रियताको नारा उरालिरहेका हुन्छन् ।

Saturday, May 9, 2009

आयोदधौम्यद्वारा रचित खण्डकाव्य "नियमित कथा यही संसारको" बाट लिइएको एक अंश

हिम्मत हार्नु ठीक होइन कायर पामर् बनी
आउँदैन भाग्य त्यसै दुःखी यो रै'छ भनी ।
छन त छन् ईश्वर प्रभु जगतका पिता
तर हेर्छन् यो मनुवामा कर्मयोग छ कति ।
स्वतन्त्र नै छाडिदिन्छन् कर्मफल भोग्न
कर्म गरे फल पाइन्छ कस्ले सक्ने रोक्न ।
गर्नु उद्योग पर्दछ सबले नहत्तारिइकन
त्यसै दूध दुहिन्छ कि दुिहंदैन भन ।
गर्नु पर्दछ एक् चित्त लगाई हामीले आफ्नो सबै कर्तव्य
त्यसै आउँदैन संपति न हुन्छ भवितव्यले ।
बाधा पन्छाई सब किसिमका नलत्रेर जीवनमा
राख्नु पर्दछ दृढता सधैं हामीले मनमा ।

(आयोदधौम्यद्वारा रचित यो खण्डकाव्य तरङ्ग साहित्यिक अभियानद्वारा वि.सं. २०६५ मा प्रकाशित पुस्तक "आठ खण्डकाव्यहरु आयोदधौम्यका" मा पनि संकलित छ ।)