Thursday, June 25, 2009

आइज निँदरी आइज … … …

कविता
आइज निँदरी आइज ………
- आयोदधौम्य

सानैमा
झोलुङ्गामा हल्लाउँदै
सूरिलो राग मेरी आमा अलाप्नुहुन्थ्यो ः
“आइज निँदरी आइज … …”
र म हाऽऽई गर्थें
आँखा मिच्थें
र निँदरी आउँथी ।
सानैमा
बुई चढाएर पिठ्युँमा
मेरी आमा चलाउनुहुन्थ्यो ढिकी; िरंगाउनुहुन्थ्यो जाँतो
भर्थे संगीत ढिकीको ढक्ल्याक् ढक्ल्याक् आवाज; जाँतोको घ्वाईंघ्वाईं आवाज
र मेरी आमाको मृदु स्वर लहरिन्थ्यो ः
“आइज निँदरी आइज … …”
र म हाऽऽई गर्थें
आँखा मिच्थें
र निँदरी आउँथी ।
सानैमा
सुम्सुम्याउँदै मलाई
परीकथा हाल्नुहुन्थ्यो मेरी आमा
जहाँ-
परीहरु हुन्थे
परीकथामा दुःखीहरुपनि हुन्थे
खलचरित्रहरु पनि त हुन्थे परीकथामा
दुःखीहरु चिच्याउँथे; गर्थे अलाप-बिलाप
खलचरित्रहरु मौका-बेमौकामा गर्थे अट्टाहास
र परीहरु आइपुग्थे अचानक -
उनीहरु दुःखीका आँसु पुछिदिन्थे
उनीहरु बदमासहरुलाई दण्ड दिन्थे
उनीहरु खुशी बाँडेर खुशी हुन्थे
र उनीहरु आकाशतिर उड्थे
उनीहरु बस्थे आकाशतिरै; रम्थे आकाशसितै<
उनीहरु आकाशभित्रैबाट आएका थिए र त
स्वयम् आकाश थिए ः
करुणाका/मायाका/दयाका/दैवी-भावनाका
र कथा सुनिरहँदा
म हाऽऽई गर्थें
आँखा मिच्थें
र निँदरी आउँथी ।
मेरी आमा -
मलाई निँदरीको लोरी सुनाउँदै
नीँदपरीको पोल्टामा राख्दै
कल्पिनुहुन्थ्यो एउटा भोली ः
भालेको डाक सँगसँगै ब्युँझनेछ छोरो मेरो
र सखारै/ झिसमिसेमै शुरु गर्नेछ उडान ।

मेरी आमा -
मलाई बुई बोकी
ढिकीको उठानबैठानसँगै/ जाँतोको रिङ्गाइसँगै
सजाउनुहुन्थ्यो एउटा स्वप्न ः
उठ्नेछ छोरो मेरो
उज्यालोको गर्नेछ प्राप्ति ।
मेरी आमा -
परीकथा सुनाएर मलाई
ममा ुपरीु प्रतिस्थापित हुने स्वप्न सजाउँदै
भन्ने गर्नुहुन्थ्यो अक्सर ः
आकाशतिर उड्नेछ छोरो मेरो
आकाशतिर बस्नेछ छोरो मेरो
आकाशभित्रै रम्नेछ छोरो मेरो
आकाशभित्रै हुनेछ छोरो मेरो
र मेरो छोरो स्वयम् हुनेछ आकाश
अनि एउटा आकाश उमार्नेछ ।
मेरी आमाले कल्पेको कल्पना
मेरी आमाले सजेको सपना
मेरी आमाले रटेको रटना
अपशोच !
तर 'परी' बन्न सकिनँ म ।
हिजै पर्याप्त सुतिसकेको म
ब्यूँझनु पर्ने अघि नै
ब्यँूझाउनु पर्ने हो एउटा युगलाई
तर म आफैं
उभिएर चोकमा -
हाऽऽई गर्दैछु
आँखा मिच्दैछु
र निँदरी बोलाउँदैछु ः
आइज निँदरी आइज … … …
आइज निँदरी आइज … …

Monday, June 22, 2009

२०४७ सालमा लेखिएको कविता -------- "म मरिसक्या छैन"

म मरिसक्या छैन
छोएर हेर म मरिसकेको छैन
यी मेरा आँखाले
अझै हेर्दै छन्
नासिकाको घ्राणशक्ति
विलुप्त छैन
अनि मेरा अंगुलिहरु
अझै चलायमान् छन्
केही खोजिरहेछन्
मेरो मिथंगलमा रक्तसंचार
अझ बन्द भइसकेको छैन
म गम्दैछु
जीउनु कसरी पर्छ
त्यसैले म शव होइन
म अजर अमर र चिरन्तन छु
नित्य सनातन र पूर्ण छु
तसर्थ म मर्दिनँ
त्यसैले त म मरिसकेको छैन ।
२०४७।९।२१।७

Tuesday, June 2, 2009

आयोदधौम्यद्वारा रचित खण्डकाव्य "आकाश यसरी खुल्छ" को केही अंश

वीरता तेरो काँ गयो भन्दे कि कता पठाइस्
क्षत्रीको छोरो भएरपनि किन तँ डराइस्
छोरा ! तँ किन डराइस् ।
स्वर्गीय पति बिसे्रर बसें संजय भनेर
पतिलाई मैले जवाफ के दिउ स्वर्गमा गएर ।
कलंकी छोरो भएर आज धर्धरी रुवायो
नोकरलेपनि नमिठो वचन मैलाई सुनायो ।
वीर होला छोरो भनेर व्यर्थ आशा नै गरेंछु
तीन दिन भित्र सुन्लास् तैंले मपनि मरेंछु ।
अचम्म भयो राजाको छोरो भएछ चाकर
संजय तैंले िहंड्नुनै पर्ने मुख नै ढाकेर
तैंले मुख नै ढाकेर ।
घृणा तँलाई गर्दछु मैले नंपुसक ठानेर
मारेर फाल्दिउ जस्तो लाग्छ कलंक भनेर ।
धिक्कार धिक्कार लाखौं पटक कुपुत्र तँलाई
बाँचिस् किन मनलाई मेरो यसरी जलाई ।
देह तेरो छोइएपनि अगति परिन्छ
पापिष्टसँग बसेमा आफ्नो पापनै बढ्दछ ।
क्लीब भए सन्तोष गर्थें दोष दिई भाग्यलाई
लंगडो भए प्यार् गरी पाल्थें संजय तँलाई
छोरा ! पाल्दथें तँलाई ।
गर्दोहोस् किहं मित्रको घरमा तइँले चाकरी
सन्तोषै हुन्थ्यो सम्झेर मित्र नै त हो भनी ।
आज यहाँ सैन्धव तेरो मालिक बन्या'छ
यसो गर् भनी उसले तँलाई सधैंनै भन्या'छ ।
तैंले चािहं भृत्य बनी स्वीकृति दिएको
सक्दिनँ देख्न हे छोरा मैले वंश नै खिएको ।
धर्मयुद्ध उत्तम कुरो सम्झेर बसिदे
क्षत्रियहरु काँतर भा'को काँ देखिस् तइँले
कायर ! काँ देखिस् तइँले ।
मरिदे बरु लडाइँ गरी स्वर्ग नै पाउनेछस्
दबेर नबस् जितिस् भने राज्य नै पाउनेछस्
बाबै राज्य नै पाउनेछस् ।
मागेर अधिकार कहाँ पाउँछस् खोसेर लिइदे
संघर्षमा फूट् पर् योभने आफैंले सिइदे ।
एकता ठूलो बनाइराख्नू जनताहरुमा
फूट बरु पार्नू सैन्धवको सैनिकहरुमा ।
संघर्ष गर्नू संजय छिटो देशको खातिर
देशलाई छिटो लैजानु पर्छ विकासमा मास्तिर ।
जनता छोरा सम्झेर तैंले राज्यनै गरनू
संघर्ष गर्दा मर्न परे नडराई मरनू
साँच्चै नडराई मरनू ।
मर्छन् वीर समर गरी लत्रन्नन् कहिले
तँ मोरो मात्र मान्छस् डर किन हो अहिले ।

(आयोदधौम्यद्वारा वि.सं. २०५० मा रचित यो खण्डकाव्य तरङ्ग साहित्यिक अभियानद्वारा वि.सं. २०६५ मा प्रकाशित पुस्तक "आठ खण्डकाव्यहरु आयोदधौम्यका" मा पनि संकलित छ ।)