Saturday, December 26, 2009

मधुयाम जिन्दगीमा आजै आए जस्तो

मधुयाम जिन्दगीमा आजै आए जस्तो
कोइलीले तिम्रै हाम्रै गीत गाए जस्तो

बहारले हाम्रै निम्ति सजाएको जस्तो
लज्जावती हामीसँगै लजाएको जस्तो

नदीहरु हाम्रै सूरमा सुसाएको जस्तो
झरनाले हाम्रो प्रीत रुचाएको जस्तो

तिम्रो साथ हुँदा सब थोक पाए जस्तो
सपनीमा विपनीमा माया लाए जस्तो

धर्तीबाट धेरै पर स्वर्ग आए जस्तो
मधुयाम जिन्दगीमा आजै आए जस्तो ॥

Sunday, November 22, 2009

आयोदधौम्य निर्मलमणि अधिकारीको उपन्यास "अन्तिम बादशाह" तेस्रो किस्ता

अन्तिम बादशाह
(उपन्यास)



"किन गर्ने नि क्रान्ति ! क्या हरामहरु छन् भने ! खुरुखुरु हलो जोते भइहाल्यो नि । बेकारमा त्यो राजनीतिको लण्ठामा लागेर !"
जब जब संसारमा क्रान्ति हुन्छ त्यस बेला मुख्यतः तीन भागमा मान्छे विभक्त हुन्छ । एउटा वर्ग क्रान्तिको दुस्मन हुन्छ । दोस्रो वर्ग पहिलो वर्गको सफाया गर्न इन्क्लाबको नारा बोकेर हिँड्छ । तेस्रो वर्ग निकै विपन्न वर्ग हो । ऊ शोषित छ र अज्ञानी छ । उसलाई क्रान्तिको महत्व थाहा हुँदैन र बिनबिच्चमा क्रान्तिको औचित्यमाथि प्रश्न उठाइदिन्छ ।

------------------ ---------

हुसुआन तुङ्ग आज पाँचौँ वर्ष पुगेका छन् । महाचीनका राजा हुसुआन तुङ्गको पाँचौँ जन्म दिवश मनाउनमा कुनै कसर बाँकी राखेका छैनन् आयोजकहरुले ।

---------------- -------------


इन्क्लाब - जिन्दाबाद
इन्क्लाब - जिन्दाबाद
हाम्रो माग - पूरा होस्
जनतन्त्रको बहाली - हुनै पर्छ
… … … …
यस्ता नाराहरुले आकाश गुाजायमान भयो । अभाव र शोषणमा पि_िल्सरहेका जनता ज्यानको पर्वाह नगरी सडकमा उत्रे । साँच्चै नै जनता ज्वालामुखी हो जो अधिकांश समय सुष्ाप्त रहन्छ तर उसको विष्फोटलॆ ठूलो कम्पन आउँछ । उसमा अन्तर्निहित म्याग्माले संसारको प्रत्येक महाशक्तिलाई पुरिदिन्छ । जनता भूकम्प हो । यसको हल्लाइमा तानाशाहहरु साधारण घर ढलेझैँ बङलङ्ग ढल्छन् । जनता त्यो समुद्री छाल हो त्यो समुद्री तूफान हो जसले एकै छिनमा कैयौँ कुराहरु स्वाहा पार्न सक्छ । उनीहरुको मन जल्दा संसारका बडे बडे सम्राटहरु खग्रास हुन्छन् ।
चिनियाहरुको यो क्रान्ति ती पाँच वर्षीय सम्राट हुसुआन तुङ्गविरुद्ध थिएन । उनीहरु परिस्थितिवश बाध्य भएका थिए । उनीहरु चाहन्थे चिनी सम्राट वीर होऊन् र फेरि संसारभर आफ्नो वर्चस्व कायम गरुन् । तर यसो हुन सकिरहेको थिएन । सय वर्षदेखि यता कुनै पनि चिनिया सम्राट त्यति बलिया र आँटिला निस्केका थिएनन् । तसर्थ चिनी जनताको विशाल छाती सङ्कुचित हुन पुग्दा क्षोभ थियो त्यो ।

चीनको कृषिप्रणाली पुरानो थियो । जनसङ्ख्याको चापमा उब्जिएको सीमित अन्न ज्यादै अपुग हुन्थ्यो । राजा साना थिए । सामन्तहरुको कमी थिएन । उनीहरु हली र साधारण किसानलाई शोषण गर्नसम्म गर्थे । त्यसैको प्रतिफल थियो त्यो क्रान्ति ।
वास्तवमा जनताद्वारा गरिएको यस्तो क्रान्तिमा दमन गरिनु हुँदैन । बरु जनताको भावनालाई बुझेर उनीहरुका प्रतिनिधिसँग कुरा गरी उनीहरुको इच्छालाई पूर्ति गर्ने कोसिस गर्नु पर्छ । तर उनीहरुका इच्छालाई दमित राख्ने कामचाहिँ पटक्क गर्नु हुँदैन ।

----------------- ---------

"हुन्छ; किन हुँदैन ? ठोक् गोली । यी साला भतुवाहरु मंचुवंशविरुद्ध बगावत गर्ने यी हलीहरु हाम्रा नोकरहरु बागी बनेर निस्कने जाओ ठोक गोली ।"
एक ठूलो सुरक्षाअधिकारी जो ती जनताको क्रान्तिबाट निकै रिसाइरहेको थियो बोल्यो । ऊ बीच बीचमा मंचुवंशप्रति भक्ति जनाउन टुटाउँदैनथ्यो ।

---------------------- ---------


"डा। सेन ! अझ तपाईँको क्रान्तिप्रतिको मोह भङ्ग भएको छैन हेर्नोस् यत्रा जनता मरिसके । अझ कति मर्ने हुन् ! तपाईँमाथि पनि पुरस्कार छ । कोही द्रोही निस्क्यो भने ?"
"साथी ली ! तपाईँ किन आत्तिनु हुन्छ ! म त्यस्तोविधि कायर छैन । म डाक्टर हूँ राजनीतिशास्त्र पढेको छैनँ त के भो म राजनीति गर्न सक्दिनँ र जनताको निम्ति लड्न पाउन्नँ र मेरो सङ्कल्प कहिल्यै टुट्दैन । यत्रा जनता हाम्रो आह्वानमा मरिसकेपछि हाम्रो क्रान्ति फिर्ता लिई तिनको अपमान गर्ने तिनीहरुको रगत बगेको अर्थै के भयो र तिनको आत्मालाई शान्ति दिलाउनु हाम्रो कर्तव्य होइन र हामीले कसैको एक बुँद रगत पनि सित्तैमा खर्चिनु हुन्न । साथी ! जनताको निम्ति मर्न पाउँदा म अति प्रसन्न हुनेछु ।"
"त्यो त हो । तर साथी सेन …"
"हेर्नुस् मित्र त्यो तर र सरपट्टि हामी लाग्नु हुँदैन । यसरी आफ्नै जनतामाथि गोली बसा्रएर यिनीहरु सैतानियततर्फ उन्मुख हुँदैछन् । सैतान बनेपछि त्यहाँमाथि यिनीहरुको गन्तव्य छैन र त्यहीँ यिनीहरु धराशायी हुनेछन् । यसलाई खुसीको कुरा मान्नुहोस् कि उनीहरु आफ्नो चिहानतर्फ आफै जाँदैछन् घिसारेर लानु परिरहेको छैन ।"
"अब पनि जनता क्रान्तिमा होमिएलान् र साथी ? सायद उनीहरु आफन्तको मृत्युपछि डरले चिसिएका पनि त हुन सक्छन् नि !"
हाँस्दै डा. सन यात् सेनले भने "असंभव, मित्र असंभव । थाहा पाउनु भएको छ बाघ रगतको स्वाद पाएपछि कस्तो हुन्छ त्यस्तै जनता पनि आफन्तका रगत देखेर उतसर्िइसकेका छन् र त्यही उतसा्रइमा अर्को अठोट थपिएकाले उनीहरु बन्दुक अगाडि उभिइनै रहने छन् । त्यो हो - बदला ।
फेरि जनता अब धेरै बुज्रुक भइसकेका छन् । यो क्रान्तिले तिनैको हित गर्छ भन्ने उनीहरुले बुझिसकेका छन् ।"

Friday, October 30, 2009

निर्मलमणि अधिकारी आयोदधौम्यकृत उपन्यास अन्तिम बादशाहको दोस्रो किस्ता

अन्तिम बादशाह
चीनका मंचुवंशीय अन्तिम सम्राटसम्बन्धी लघु-उपन्यास
लेखन मिति ः २०४८ असार २१ गते शुक्रवार - भदौ ३१ गते सोमवार

पहिलो किस्ता पढ्न यहाँ जानुहोस् : http://maharshidhaumya.blogspot.com/2008/10/blog-post_25.html

अन्तिम बादशाह


"पिरिनु पर्दैन । भइसकेको कुरा पिरिएर वा रोई-कराई गरेर फिर्ता हुन्छ र ? अब चुपो लागिबक्स्योस् र राजपाठ सम्हालिबक्स्योस् ।"
हुसुआनले यी कुरा के बुझ्यो होला र । नबुझेर पनि बुझ्नै पर्ने बाध्यतालाई उसले आत्मसात् गरिसकेको छ । जे होस् आफन्त भनाउँदाहरुको खलबलमा उसले यत्ति बुझ्यो कि उसका बाबु र आमा दरबारमा छैनन् । हुसु ति स्याङ्गको प्यारो हुसु एक्लै छोडिएको छ यस विशाल संसारमा ।
उसलाई रिस उठ्छ अब आमाले दूध चुसाउने छैनन् । उसलाई प्यारो गरेर बोलाउने कोही रहेको छैन । उसलाई थाहा छैन उसका पिताश्री गह्रुङ्गो श्रीपेच आफ्नो छोरालाई दिएर कहाँ बसिरहेछन् । ऊ कथित आफन्तका मुखबाट बाबु-आमा नजिकै रहेको सुन्न चाहन्छ । ऊ आफूले चाहेजस्तो नहुँदा खिन्न हुन्छ । सबै बाबु-आमा नभएको कुरा गर्छन् यहीँ छ कोही भन्दैनन् । आखिर किन होला त अबोध हुसुआन आफैमा जेलिन्छ ।
उसलाई त्यो झ्याङ्लो पोसाक कत्ति मन पर्दैन । त्यही पोसाक राजकीय रे नलगाई हुँदैन रे । त्यो गद्दी जहाँ आमा-बा बस्थे ऊ त्यहीँ बस्नु पर्छ । किन होला उसले गह्रौँ झल्लरे श्रीपेच लगाउनु पर्ने ! ऊभित्र मनोद्वेगका छालहरु उर्लिरहेका छन् ।

अँ हँ उसलाई यी सब प्रश्नका जवाफ दिने फुस्रदमा कोही छैनन् । ऊ महाराज रे । उसले भावनामा बहकिनु हुन्न रे । राज खान्दानको व्यक्ति भावशून्य हुनु पर्ने कस्तो विडम्बना !
हुसुआनलाई दैव भन्ने कुरा अचम्म लाग्यो । परिस्थितिले ऊ दैवलाई चिन्न सक्ने भएको छ । नत्र त उमेरै के छ र बरा ! बोलेको पनि राम्ररी बुझिँदैन । उसलाई पक्कै अभागी मान्नु पर्छ । चार वर्ष नपुग्दै आफ्नी आमा-बाबुविहीन भएर रहनु पर् यो ।

<> <> <>
त्यही देशमा, कुनै एक गाउँमा : माओत्से तुङ्ग - यही त राखियो छ त्यस बालकको नाम । तर वास्तवमा ऊ जन्मनु र नजन्मनुमा उसको बाबु झियाङ्ग र आमा तेई खुशी छैनन् । उनीहरु सोच्छन् कि यो बालक व्यर्थै जन्मियो । आखिर यसले गर्ला के नै र ! हलो त जोत्ला । हलो जोत्न त अरु पनि त छन् । यो व्यर्थको सकस हो । बरु नजन्मेकै भए ! हाम्रा साना राजाको नाम पनि तुङ्ग नै हो । एउटा तुङ्ग राजा अरे अर्को तुङ्ग हलो जोत्ने ! दुवैले हलो जोत्ने भए वा दुवै शासक हुन पाए !
आज झियाङ्गको मनमा किन यस्ता तरङ्ग खेल्छन् हँ उसले यसभन्दाअघि यस्तो कहिल्यै सोचेन । तर आज अचानक त्सेको जन्ममा ऊ सब कुरा किन सम्झन्छ ! कि साँच्चै यो बालक … … । यस्तो भए त मजा हुँदो हो ।
एक किसानको हलीको छोरोले देश चलाएमा पक्कै पनि भावना बुझेर काम गर्छ । उसलाई हलीको दुःख थाहा हुन्छ र मजदुरको हातका फोरा उसले चुमेको हुन्छ । अनि यस धर्तीको आह्वान उसले आत्मसात् गरेको हुन्छ । तर एउटा परम्परागत राजा ऊ त कहिल्यै पनि हलीको दुःखसँग परिचित हुन्न । ऊ त जन्मैदेखिको शोषक र शासक हुन्छ । उसको कर्तव्य यति हो कि ऊ जनतालाई दबाएर राज गरोस् । खै यिनीहरुले राज्य विस्तार गर्न सकेका खै हाम्रो झण्डा फरफराएका यस संसारमा खै हाम्रो आत्मसम्मान


<> <> <>
"डा। सेन ! के क्रान्ति गर्नु अहिले उचित छ र ?"
सन यात् सेन गम्भीर भए । उनलाई आफ्ना साथीहरुप्रति दया लाग्यो । अझ पनि यी क्रान्ति गर्ने समय नआएको बताउँछन् । के यिनीहरु कायर छन् कि यिनीहरुले राम्रोसँग कुरै बुझेका छैनन् !
सन यात् सेन गम्भीर रुपले मग्न हुँदै गए । उनलाई जताततै कोलाहल भएझैँ लाग्यो । उनको देश महाचीन रुँदै कराउँदै छटपटाएको देखे । महाचीन हात दिएर सन यात् सेनलाई हेर्दै रोइरहेछ । जनता नचिनिएका परजीवीको टोकाइबाट त्रस्त छन् । उनीहरु कराइरहेछन् । तर पनि परजीवीहरु रगत चुसिरहेकै छन् । उनीहरु चाहेर पनि भाग्न सक्दैनन् । आखिर किन डा। सेनको आँखाबाट आँसु आयो । उनको आँसुमा मातृभूमिप्रतिको भक्ति प्रष्टिइरहेको थियो । उनी चाँडैभन्दा चाँडै महाचीनलाई दाम्लाबाट निकाल्न चाहन्थे ।
उनको मनले भन्यो "क्रान्ति गर्नै पर्छ ।"

Tuesday, October 13, 2009

आयोदधौम्यकृत उपन्यास "शहरमा ...." को तेस्रो किस्ता

समय बित्दै जाँदा पुनः क्याम्पस जान थालेको थिएँ म । आफैलाई धोका दिए तापनि आफ्नो परिवारलाई धोका दिने साहस ममा थिएन । बा-आमा र दाईले लिनुभएको मप्रतिको आशा चूर चूर बनाउने हिम्मत मसँग थिएन । म पढेर वजनदार लब्धाङ्कपत्र उहाँहरुलाई दिन चाहन्थें । तिमी पनि माइतमै बसेर क्याम्पस धाउन थालेकी थियौ । सिन्दूर-पोते नलाएकी तिमीलाई देख्नेहरुले हिजो र आजकी जुनिमा फरक अरुले नदेख्नु स्वाभाविकै थियो होला तर मेरो नजरमा आकाश-पातालको अन्तर परिसकेको थियो । म तर्कन्थें तिमीसँग सकेसम्म टाढा तिम्रो अधर र तिम्रो नजर भन्दा पर ।
मलाई थाहा थियो केही भन्न चाहन्थ्यौ । तर म भने बोलेको सुन्नु पर्ला भनेर बोल्याबोल्यै गर्न थालें । अर्काको कुरा नसुन्नु छ भने आफै बोलिरहनु नै सम्भवतः प्रभावकारी उपाय थियो । पीडा लुकाउनु थियो त्यसैले त सधैं भन्दा बढी हाँस्नु थियो । साँच्चै बदनाम हुन पुगें म बढी हल्ला गर्ने भनेर । सरले मलाई हप्काउँदा टाउको तिम्रो निहुरन्थ्यो । कोही मसँग झगडा गर्न त_िम्सँदा तिम्रो आँखामा आँसु हुन्थ्यो । तर म म त आफैसँग दिक्क थिएँ ।
भर्खरै आइपुगेको थिएँ क्याम्पसबाट । ढोका ढक्ढक् गरेको आवाजले ध्यान भंग भयो ।
"खुलै छ" मैले भनें । तर ढक्ढकाइ रोकिएन ।
"खुलै छ भन्या" केही चर्को भएको थियो मेरो स्वर ।
अब भने अति भयो । फेरि पनि ढोका ढक्ढक्याइ रहे पछि म राँक्किए "खुलै छ भनेपछि पनि कस्तो मूर्ख रहेछ ।"
ढोकामा तिमी थियौ । ट्वाँ परेर हेरेको हेर् यै भएँछु म त ।
"बस्न पनि भन्दैनौ मलाई ?"
"अरे तिमी आऊ न ।" कििाचत् हड्बडाएको स्वर मेरो ।
"क्याम्पस देखि पछ्याएर आएकी तिमीसँग झगडा गरुँ भनेर ।" तिमीले बस्दै भनेकी थियौ ।
म चूप थिएँ ।
"किन साइलेन्ट् नि फेरि !"
म केही बोलिनँ ।
"के मसँग रिसाएको ?"
अझै बक् फूटेन मेरो ।
"साँच्चै रिसाएको भन्या ?"
"के अझैपनि रिसाउने कुनै अधिकार छ र ?" व्यंग्यात्मक लवजले भनें मैले ।
"खुब ग्रेट् सोच्छौ हैन आफूलाई ! भन के गल्ती छ मेरो ?"
"पराइ मान्छेहरुसँग … "
मैले बडो मुस्किलसँग भन्न नपाउँदै तिम्रो रुन्चे स्वर थियो- "वाऽऽ वाऽऽ ... कति इजिली बोल्छौ तिमी । पराइ भनेर घोच्नु भन्दा पहिले सोच त कहिल्यै आफन्त बनाउन खोज्यौ कहिल्यै केही भनेर मैले एसेप्ट् नगरेको थाहा छ तिमीलाई तिमी यति निष्ठूरी थियौ कि भावनालाई कहिल्यै साकार हुन दिएनौ । प्रुेण्डसीप भन्दा बढी प्रपोज् गर् यौ ? कसरी थाहा पाऊँ म तिम्रो मनको कुरा ?"
................. (क्रमश:)

Friday, September 4, 2009

आयोदधौम्य निर्मलमणि अधिकारीकृत उपन्यास "शहरमा …" को दोस्रो किस्ता

(आयोदधौम्य निर्मलमणि अधिकारीकृत उपन्यास "शहरमा …" को दोस्रो किस्ता । यस उपन्यसको पहिलो किस्ता यसै ब्लगमा Thursday, August 20, 2009 मा पोस्ट गरिएको थियो : http://maharshidhaumya.blogspot.com/2009/08/blog-post_20.html )
नहुँदा-नहुँदै र नगर्दा-नगर्दै पनि पक्कै भएको र पक्कै गरेको भनिनेखालका घटनाहरुका बारेमा तिमीले पनि सुन्यौ कि सुनिनौ कुन्नि तर कहिल्यै मप्रतिको भावना तिम्रो आँखामा परिवर्तन भएको चािहं मैले पाइनँ । कुनै दिन तिमीले मप्रति गुनासो गरेकी थिइनौ । बरु म क्याम्पस नपुगेको बेला मेरो खोजमा आएकी तिमीलाई स्वागत गर्ने मौका मेरो कोठाले पाएको थियो । कोठाको लथालिङ्ग वातावरणलाई चट्ट मिलाएर मतिर हेरेर हाँस्दा म अर्कै लोकको यात्री भइरहेको हुन्थें ।
म आफैं छक्क थिएँ कुनै लिखत थिएन- न तिम्रोतर्फबाट न त मेरोबाट नै- जसमा कि हाम्रो भावनालाई मूर्तता दिइएको होस् । तैपनि प्रत्येक दिनका चिठीहरुले फाइल नै भरिएको बयान सुन्न पाउँदा मनमनै हाँस्थें म मान्छेहरु झुटा कुराहरु सिर्जना गर्न कति आतुर छन् त । मिथ्या कुराहरु लिएर कानेखुसी गर्दै रहेको थाहा भएपछि कता-कता मनमा सूर् याइँ नभरिएको त कहाँ हो र । खै के भनूँ म असफलै रहें मनका कुरालाई वाणीमा व्यक्त्याउन । यत्तिकैमा हाम्रो परीक्षा हाम्रै सामुन्ने ङिच्च दाँत ङिच्याउँदै आयो ।
पहिलो वर्षको परीक्षा सकिएकै दिनमा म घर जान भनेर बस चढेको थिएँ । तिमीले शुभयात्राको कामना र छिट्टै फर्कने आशा सहित बिदा गरेकी थियौ । बसले हुइँकिदै दुई-चारओटा मोडहरु काटिसके पनि झ्यालबाट मुन्टो छिराएर म पछाडि फर्किरहेकै थिएँ कतै अझै तिम्रा हातहरु मेरो बिदाइका लागि हल्लिइरहेकै छन् कि भनेर ।
घरमा प्रत्येक दिन र प्रत्येक रात म कल्पनामा डुबिरहेकै हुन्थें । एक दिन निरजले पक्डिइहाल्यो । दश वर्ष सँगै पढेको साथीको मनभित्र नियाल्दै उसले सोध्यो मलाई । निरजलाई सबै कुरा खुलस्त भनिदिएँ मैले । उसले त्यही गर् यो जो कि साथीहरुले गर्ने गर्छन् । जुनिसँग मेरो घनिष्टता जतिसुकै निकट भएतापनि मुखै फोरेर ुआई लभ् यूु नभनेसम्म र उनले पनि स्पष्टतः स्वीकार नगरेसम्म माया-पिरती पक्का नहुने हुनाले तत्काल जुनिलाई भेट्न सल्लाह दियो उसले । निरजको सल्लाह मानेर दरिलो पाइला टेक्दै फेरि शहरतिर फर्कें म ।
एक महिना बिताएर फर्कदा शहरमा परिवर्तन भइसकेछ । म बस्ने टोलमा नयाँ चारओटा पसलहरु खुलेछन् तीनओटा घरका जगहरु बसालिएछन् र घरै अगाडिको फोहोर फाल्ने भाँडो भरिएर मानिसहरुले फोहोर बाहिरै फाल्न शुरु गरिसकेछन् । नगरपालिकाले कााजीहाउसमा थुनेका गाईवस्तु फेरि सडकमा िहंड्न थालेको पनि देखें मैले । अझ धेरै कुरा पो थिए कि म हतारिएको थिएँ । शहरमा अरु थोक मात्र कहाँ हो र तिम्रो घर पनि रङ्ग-रोगन फेर्दै रहेछ । सबै कुरा सामान्य सोच्दै म सरासर तिम्रो सामुन्ने उभिएँ ।
ूम आज तिमीलाई एउटा महत्वपूर्ण कुरा भन्न चाहन्छु जुनि ।ू केही क्षणको भलाकुसारी पछि मैले भावुक हुँदै भनेको थिएँ ।
ूपर्ख पर्ख । तिम्रो भन्दा इम्पोर्टेन्ट् कुरा म भन्दैछु ।ू तिमीले भनेकी थियौ ।
मेरो छाती ढक्क भयो । मन कौतूहलताले भरियो । कतै तिमी पनि …। । म रोमािाचत भएँ । अनि पहिले आफैले मुख फोर्ने निधोका साथ बोलें- ूपहिले मेरो पालोू ।
कम थिइनौ तिमी पनि । हामी दुवै बालसुलभ जिद्दी पो गर्दै थियौं । अन्तिममा सहमति भयो चिट्ठा थुत्ने । चिट्ठा थुत्दा पहिलो पालो तिम्रो परेको थियो । एकै छिन अघि सम्म चहकिएकी तिमी अचानक गम्भीर देखिएकी थियौ ।
मैले प्रष्टै देखें तिम्रो हात सिरानी मुनि गयो र निस्कँदा एउटा गुलाफी खाम थियो । म कसरी बयान गरुँ त्यो क्षण कि कति खुशी थिएँ । आफूले खुलस्त भन्न नसकेपछि यो बाटो अपनाएकी थियौ तिमीले । तिम्रो गम्भीर र लजाएको नजरमा हेर्दा आफ्नै प्रतिछाया देख्दा आनन्दित भएर स्वीकार गर्न पुगें तिम्रो उपहार ।
उफ् पीडादायक भए ती क्षणहरु । मेरो हृदयको रमझम सब गायब भएर गयो । मुटुमाथि रेतिले रेटिरहेको अनुभव गरें । मेरा हातहरु त्यसको भार थाम्न असमर्थ र फ्यात्त भूइँमा खस्यो- तिम्रो बिहेको कार्ड ।
कता रिङ्गटा लागेको अनुभव गरेको थिएँ मैले । आँखा अगाडि तोरी-फूल देखें र पछि सम्हालिए पछि पो थाहा भयो- ओठ आँसूले भिजेर जिब्रोले नुनिलो अनुभव गरेको रहेछ । सपनामा पनि नचिताएको कुरा यो जुनिमा तिमी अर्कैकी जुनि बन्दै रहिछ्यौ । हृदयको पर्खाल भत्काएर कुनै बबण्डरले झैं मेरो तासको महल भताभूंग पारेकी थियौ तिमीले । जति विह्वल म थिएँ अझ बढी छक्क तिमी थियौ । िकंकर्तव्यविमूढ भएर तिमी ट्वाल्ट्वाल्ती हेर्दै थियौ र सजल आँखाहरु सोध्दै थिए ूकिन के भयो ू
मसँग कुनै शब्दहरु थिएनन् । हठात् उठेर आँसू पुछेर निस्कें । सधै झैं तिम्री आमालाई पनि भेटिनँ मैले । तिम्रो बोलाइले रोकिएनन् पाइलाहरु । रोकिइन तिमीले अनुनय गर्दा पनि र कोठातर्फ हान्निएँ । निरस

जर्जर र बेस्वाद भए सारा कुराहरु । मरुस्थलको बीचमा काकाकुल झैं तड्पन लाग्यो हृदय । क्याम्पस त के कोठा बाहिरै निस्कन सकिनँ म । स्वाभाविक थियो दुब्लाउन थालें र ज्वरो आएर र टाउको चड्केर हैरान पार्न लाग्यो । रातहरु छर्लङ्ग बित्न थाले ओल्टो-कोल्टो फेर्दा-फेर्दै । शहरमा एक्लो यात्री थिएँ म जसको कुनै साध्य थिएन र साधन पनि ।
आखिर त्यो दिन आएरै छाड्यो । परमेश्वरसँग कति प्रार्थना गरें मैले तर उनले समयलाई रोक्नै मानेनन् । आफ्नो खुशीको हत्या भएको त्यस समारोहलाई झल्झल्ती सम्झेर तिम्रो बिहेको निम्तो कार्डले थिचिएर अद्र्धमुच्र्छित भएर लडिरहें म । कसैले वास्ता गरेन मलाई । कोइलीले समेत सोधेन मलाई "को हौ" भनेर ।

Thursday, August 20, 2009

आयोदधौम्यद्वारा लिखित एक उपन्यास (हालसम्म अप्रकाशित) बाट उद्धृत

(यो उपन्यासको पाण्डुलिपिमा "शहरमा …" शीर्षक राखिएको छ । तर प्रकाशित हुँदा यसको शीर्षक परिवर्तन गर्ने मेरो सोच छ ।)

जुनि !
धेरै समयको अन्तरालपछि तिम्रो निम्ति केही लेखूँ भनेर लागिपरेको छु । मलाई थाहा छैन मेरा भावनाहरु तिमीसम्म पुग्ने पनि हुन् कि हैनन् । यथार्थमा भन्ने हो भने तिमी कहाँ छौ केही जान्दिनँ म । तर कुन भावनाले हो कुन्नि म तिमीलाई केही लेख्दैछु । आफैलाई थाहा छैन अझै तिमीप्रति कति माया छ मनमा र कति गुनासाहरु ।
मलाई अझै याद छ धेरै वर्ष अगाडि तिम्रो र मेरो देखादेख भएको थियो । क्याम्पस पढाइको पहिलो दिन । त्यतिखेर सम्पूर्ण वातावरण मेरो लागि नौलो थियो र तिमीलाई पनि तुलनात्मक रुपले कमै भएतापनि नौलै लागेको थियो होला । त्यहाँ तिम्रा संगिनीहरु थिएनन् न त मेरा परिचितहरु नै थिए । तर पनि केही क्षणको बसाइमा एउटा समूहमा सामेल भएको थिएँ म । तिमी र सरुमा पनि भर्खर परिचयको क्रम चल्दो थियो क्यार अगाडि चालु रहेको पढाइ भन्दा पनि कानेखुसी र गुनगुनमा दुवैजना व्यस्त थियौ । शायद म अलि बढी नै उमंग र उत्साहयुक्त थिएँ कि सिकाइको बीचमा गुनगुनाइलाई पचाउन नसकेर पछाडि फर्की बोलेको थिएँ - "अब गफ सकिएन र ?"
अपरिचितले अप्रत्याशित तवरले रोकावट हालेपछि स्वाभाविकतया तिमी चूप भएकी थियौ र चूप लागेकी थिई सरु पनि ।
नजाने कुन भावनाले पढाइपछि म बोल्न चाहन्थें तिमीसँग । तिम्रै अनुहार हेरुँ-हेरुँ लागेकोमा आफैं चकित थिएँ म । शायद तिमीलाई मेरो कि्रयाकलापको अनुभव नभएको हुनुपर्छ किनकि तिमी व्यस्त थियौ सरुसँगको सोधपूछमा । कक्षाका जम्मा दुईजना केटीहरु वार्तालाप गर्दै थिए त के आश्चर्य । तिमीहरुकै कुराकानी सुनेर थाहा पाएँ कि म जस्तो आगन्तुक नभएर स्थानिय रहिछ्यौ तिमी ।
त्यो पहिलो दिन क्याम्पसको त्यसै बित्यो । क्याम्पस देखि कोठासम्मको बीस मिनेट िहंडाइमा सोचाइ फगत् तिमी थियौ । तर सत्ते नामै थाहा थिएन मलाई । सोच्न लागेको थिएँ तिम्रो लागि कुन नाम उपयुक्त होला भनेर । मेरो भावना कसैको बारेमा छताछुल्ल भएर बग्दै थियो ।
भोलीपल्ट पनि क्याम्पस चाँडै नै जाने पुनरावृत्ति भयो । शुरुवातको उमङ्गले हो वा केले हो तिमी लगायत अन्य पनि धेरै अगाडि आएको अझै बिसे्रकी छैनौ वा बिसर्ियौ केही थाहा छैन मलाई । जे होस् दोस्रो दिनमा औपचारिक परिचय गरेका थियौं हामीले । जस्तोकि मेरो आकांक्षा थियो सरहरु अनुपस्थित भएर पढाइ सुचारु रुपले चलिरहेको थिएन । मैले प्रशस्त समय पाइरहेको थिएँ तिमी र सरुसँग विविध सवाल-जवाफ गर्न । प्रष्टै याद गर्न सक्छु म आफ्नो प्राप्ताङ्क तिमी र सरुले झैं मैले पनि ढाँटेको थिएँ । पछि सत्यता थाहा भएपछि खुब हाँसेका थियौं हामी दुई । हैन त ?
तिमी मेरो कमजोरी पो बनिदियौ । आँखाको परेला अगाडि त बास बस्यौ नै सपनीमा समेत दुःख दिन्छ्यौ भन्ने पटक्कै सोचेको थिइनँ । म वरिपरिको वातावरण सुनसान हुन्थ्यो तर मेरो मनमा तर्क-वितर्कले रोटेपिङ खेलिरहेका हुन्थे । भोलीपल्टै चाहतहरु छरपस्ट्याउने अठोटका साथ क्याम्पसतिर हान्निएको हुन्थें म तर तिम्रो सामुन्ने केही पनि खुलासा गर्न सक्दिनथें सिवाय अर्थहीन कुराहरु । हो केही दिन पछि नै एक आपसमा घनिष्ठता नटुसाएको भने हैन ।
हाम्रो घनिष्टतालाई उर्जा प्रदान गरेको थियो सरुको पलायनले । घरमा आमा बिरामी पर्नाले भर्खरै शुरु भएको पढाइ चटक्क छाडेर उनी अल्पिएपछि तिम्रो उठबस थोरै भएपनि पूर्व-परिचितको नाताले मसँग नै हुनु स्वाभाविकै थियो । म पनि चाहन्थें कि अधिक् क्षण तिमीसँग बिताऊँ । प्रष्ट रुपले आफ्ना भावना व्यक्त्याउन नसकेपछि कुण्ठित हुँदै तिम्रो आँखामा नियालिरहन्थें म । धेरै भावहरु हुँदा-हुँदै पनि भावहीन लाग्थे मलाई तिम्रा आँखाहरु । रोमािाचत हुँदै स्वर्गिय अनुभूति गर्थें म ।
यस्तै हो हाम्रो चलन युवक र युवतीको घनिष्टताको अर्को व्याख्या हामीले जानेका छैनौं जस्तो छ । त्यसैले त उनीहरु हाम्रो छलफल-गफगाफलाई सहजै नपचाएर शङ्काले पल्याकपुलुक गर्थे । गल्ती मेरो पक्कै छ प्रारम्भमा कििाचत् प्रतिवाद गरे पनि शायद मनमा आनन्द लाग्ने भएर हो कि तिनीहरुका एकान्तका परिभाषाहरु सुनेर चूपै रहने आदत परेको थियो मलाई । कालान्तरमा दुई-चारओटा मन्दिरमा हामी सँगै गएको देख्नेहरुलाई चित्त बुझ्दो जवाफ दिन नसक्दा र गोडा चार पाँचेक् सिनेमाहरु सँगै हेरेको उनीहरुले थाहा पाए पछि त … । भो छाड्द्यौ यति तल पुगेर अड्कल काट्थे ती बदमासहरुले कि म अझैपनि लाजले पानी पानी हुन्छु ।
.............................. (यो उपन्यासका बाँकी विवरण पछि दिइनेछ ।)

Thursday, August 6, 2009

उर्वशी के राम्री होलिन्

उर्वशी के राम्री होलिन् तिम्रो सामु बस्दा
चन्द्रिकालाई डाढो लाग्छ तिम्रो सामु बस्दा

फूलहरु खिल्खिलाऊन् तिम्रै हाँसो राम्रो
ताजमहल फिक्का हुन्छ तिमी त्यहाँ पस्दा

कहानीका पात्रहरु कल्पनामा तैरिरहून्
लैला हीर रोमियो लज्जित् तिम्ले कम्मर कस्दा

बिच्छी के डस्लान् बरा तिमीलाई देखिरहून्
ठहरै नै पार्ने तिम्रो मुस्कानले डस्दा ।

(२०५४-८-१५, रातको पौने एघार बजे)

Thursday, June 25, 2009

आइज निँदरी आइज … … …

कविता
आइज निँदरी आइज ………
- आयोदधौम्य

सानैमा
झोलुङ्गामा हल्लाउँदै
सूरिलो राग मेरी आमा अलाप्नुहुन्थ्यो ः
“आइज निँदरी आइज … …”
र म हाऽऽई गर्थें
आँखा मिच्थें
र निँदरी आउँथी ।
सानैमा
बुई चढाएर पिठ्युँमा
मेरी आमा चलाउनुहुन्थ्यो ढिकी; िरंगाउनुहुन्थ्यो जाँतो
भर्थे संगीत ढिकीको ढक्ल्याक् ढक्ल्याक् आवाज; जाँतोको घ्वाईंघ्वाईं आवाज
र मेरी आमाको मृदु स्वर लहरिन्थ्यो ः
“आइज निँदरी आइज … …”
र म हाऽऽई गर्थें
आँखा मिच्थें
र निँदरी आउँथी ।
सानैमा
सुम्सुम्याउँदै मलाई
परीकथा हाल्नुहुन्थ्यो मेरी आमा
जहाँ-
परीहरु हुन्थे
परीकथामा दुःखीहरुपनि हुन्थे
खलचरित्रहरु पनि त हुन्थे परीकथामा
दुःखीहरु चिच्याउँथे; गर्थे अलाप-बिलाप
खलचरित्रहरु मौका-बेमौकामा गर्थे अट्टाहास
र परीहरु आइपुग्थे अचानक -
उनीहरु दुःखीका आँसु पुछिदिन्थे
उनीहरु बदमासहरुलाई दण्ड दिन्थे
उनीहरु खुशी बाँडेर खुशी हुन्थे
र उनीहरु आकाशतिर उड्थे
उनीहरु बस्थे आकाशतिरै; रम्थे आकाशसितै<
उनीहरु आकाशभित्रैबाट आएका थिए र त
स्वयम् आकाश थिए ः
करुणाका/मायाका/दयाका/दैवी-भावनाका
र कथा सुनिरहँदा
म हाऽऽई गर्थें
आँखा मिच्थें
र निँदरी आउँथी ।
मेरी आमा -
मलाई निँदरीको लोरी सुनाउँदै
नीँदपरीको पोल्टामा राख्दै
कल्पिनुहुन्थ्यो एउटा भोली ः
भालेको डाक सँगसँगै ब्युँझनेछ छोरो मेरो
र सखारै/ झिसमिसेमै शुरु गर्नेछ उडान ।

मेरी आमा -
मलाई बुई बोकी
ढिकीको उठानबैठानसँगै/ जाँतोको रिङ्गाइसँगै
सजाउनुहुन्थ्यो एउटा स्वप्न ः
उठ्नेछ छोरो मेरो
उज्यालोको गर्नेछ प्राप्ति ।
मेरी आमा -
परीकथा सुनाएर मलाई
ममा ुपरीु प्रतिस्थापित हुने स्वप्न सजाउँदै
भन्ने गर्नुहुन्थ्यो अक्सर ः
आकाशतिर उड्नेछ छोरो मेरो
आकाशतिर बस्नेछ छोरो मेरो
आकाशभित्रै रम्नेछ छोरो मेरो
आकाशभित्रै हुनेछ छोरो मेरो
र मेरो छोरो स्वयम् हुनेछ आकाश
अनि एउटा आकाश उमार्नेछ ।
मेरी आमाले कल्पेको कल्पना
मेरी आमाले सजेको सपना
मेरी आमाले रटेको रटना
अपशोच !
तर 'परी' बन्न सकिनँ म ।
हिजै पर्याप्त सुतिसकेको म
ब्यूँझनु पर्ने अघि नै
ब्यँूझाउनु पर्ने हो एउटा युगलाई
तर म आफैं
उभिएर चोकमा -
हाऽऽई गर्दैछु
आँखा मिच्दैछु
र निँदरी बोलाउँदैछु ः
आइज निँदरी आइज … … …
आइज निँदरी आइज … …

Monday, June 22, 2009

२०४७ सालमा लेखिएको कविता -------- "म मरिसक्या छैन"

म मरिसक्या छैन
छोएर हेर म मरिसकेको छैन
यी मेरा आँखाले
अझै हेर्दै छन्
नासिकाको घ्राणशक्ति
विलुप्त छैन
अनि मेरा अंगुलिहरु
अझै चलायमान् छन्
केही खोजिरहेछन्
मेरो मिथंगलमा रक्तसंचार
अझ बन्द भइसकेको छैन
म गम्दैछु
जीउनु कसरी पर्छ
त्यसैले म शव होइन
म अजर अमर र चिरन्तन छु
नित्य सनातन र पूर्ण छु
तसर्थ म मर्दिनँ
त्यसैले त म मरिसकेको छैन ।
२०४७।९।२१।७

Tuesday, June 2, 2009

आयोदधौम्यद्वारा रचित खण्डकाव्य "आकाश यसरी खुल्छ" को केही अंश

वीरता तेरो काँ गयो भन्दे कि कता पठाइस्
क्षत्रीको छोरो भएरपनि किन तँ डराइस्
छोरा ! तँ किन डराइस् ।
स्वर्गीय पति बिसे्रर बसें संजय भनेर
पतिलाई मैले जवाफ के दिउ स्वर्गमा गएर ।
कलंकी छोरो भएर आज धर्धरी रुवायो
नोकरलेपनि नमिठो वचन मैलाई सुनायो ।
वीर होला छोरो भनेर व्यर्थ आशा नै गरेंछु
तीन दिन भित्र सुन्लास् तैंले मपनि मरेंछु ।
अचम्म भयो राजाको छोरो भएछ चाकर
संजय तैंले िहंड्नुनै पर्ने मुख नै ढाकेर
तैंले मुख नै ढाकेर ।
घृणा तँलाई गर्दछु मैले नंपुसक ठानेर
मारेर फाल्दिउ जस्तो लाग्छ कलंक भनेर ।
धिक्कार धिक्कार लाखौं पटक कुपुत्र तँलाई
बाँचिस् किन मनलाई मेरो यसरी जलाई ।
देह तेरो छोइएपनि अगति परिन्छ
पापिष्टसँग बसेमा आफ्नो पापनै बढ्दछ ।
क्लीब भए सन्तोष गर्थें दोष दिई भाग्यलाई
लंगडो भए प्यार् गरी पाल्थें संजय तँलाई
छोरा ! पाल्दथें तँलाई ।
गर्दोहोस् किहं मित्रको घरमा तइँले चाकरी
सन्तोषै हुन्थ्यो सम्झेर मित्र नै त हो भनी ।
आज यहाँ सैन्धव तेरो मालिक बन्या'छ
यसो गर् भनी उसले तँलाई सधैंनै भन्या'छ ।
तैंले चािहं भृत्य बनी स्वीकृति दिएको
सक्दिनँ देख्न हे छोरा मैले वंश नै खिएको ।
धर्मयुद्ध उत्तम कुरो सम्झेर बसिदे
क्षत्रियहरु काँतर भा'को काँ देखिस् तइँले
कायर ! काँ देखिस् तइँले ।
मरिदे बरु लडाइँ गरी स्वर्ग नै पाउनेछस्
दबेर नबस् जितिस् भने राज्य नै पाउनेछस्
बाबै राज्य नै पाउनेछस् ।
मागेर अधिकार कहाँ पाउँछस् खोसेर लिइदे
संघर्षमा फूट् पर् योभने आफैंले सिइदे ।
एकता ठूलो बनाइराख्नू जनताहरुमा
फूट बरु पार्नू सैन्धवको सैनिकहरुमा ।
संघर्ष गर्नू संजय छिटो देशको खातिर
देशलाई छिटो लैजानु पर्छ विकासमा मास्तिर ।
जनता छोरा सम्झेर तैंले राज्यनै गरनू
संघर्ष गर्दा मर्न परे नडराई मरनू
साँच्चै नडराई मरनू ।
मर्छन् वीर समर गरी लत्रन्नन् कहिले
तँ मोरो मात्र मान्छस् डर किन हो अहिले ।

(आयोदधौम्यद्वारा वि.सं. २०५० मा रचित यो खण्डकाव्य तरङ्ग साहित्यिक अभियानद्वारा वि.सं. २०६५ मा प्रकाशित पुस्तक "आठ खण्डकाव्यहरु आयोदधौम्यका" मा पनि संकलित छ ।)

Wednesday, May 27, 2009

भोककै कारण छोरीहरुसहित आत्महत्या गर्न बाध्य आमाको देशमा

- निर्मलमणि अधिकारी
यो यही देश हो जहाँ भोककै कारण आठ महिना र सात वर्ष उमेरका दुई छोरीहरुसहित आत्महत्या गर्न बाध्य भइन् एक आमा । अखबारका पानामा संक्षिप्त समाचार छापिनुबाहेक उनीहरुको दुःखान्तले छोएन कसैलाई ।

सकेसम्म कोही चाहँदैन मर्न । मानिसलाई सबै भन्दा प्यारो लाग्ने नै आफ्नो जिन्दगी हो । त्यसमाथि प्रेम एवं करुणाकी प्रतिमूर्ति आमाले आफ्ना सन्तानलाई यति माया गर्छिन् कि त्यो अवर्णनीय छ । तर हाम्रै नेपालको सुदूरपश्चिममा एक आमाले आत्महत्या गरिन् आफ्ना दुई छोरीहरुसहित ।

अखबारले दिएको समाचार संक्षिप्त भए पनि कुरो बुझिन्छ । थुप्रै दिनदेखि ती तीनजनाको मुखमा अन्न परेको थिएन । केही नखाएपछि आमाको स्तनबाट दूध आओस् कसरी । रोइरहेका छोरीहरुलाई पानीसमेत पियाउन सकिनन् आमाले किनकि सुदूरपश्चिमको त्यो गाउँ हाम्रो देशका अनेकौँ यस्ता गाउँजस्तै थियो जहाँ पिउने पानी लिनसमेत निक्कै पर पुग्नु पर्ने हुन्छ ।

समाचार पढेर थाहा लाग्दैन तर अनुमान गर्न सकिन्छ कि आमाले केही माग्ने र छोरीहरुलाई बचाउने प्रयत्न पक्कै गरिन् । दरिद्रबस्तीमा सम्भवतः कसैसँग थिएन उनीहरुलाई दिनका लागि केही ।

अन्नपानी केही पनि नपाएपछि छोरीहरुको स्वरसमेत सुक्यो होला । पीडाले छटपटाइरहेका तर त्यसलाई समेत व्यक्त गर्न नसकिरहेका छोरीहरुको वेदनाको आघात कसरी सहन सक्थिन् आमाले । निरुपाय उनले छोरीहरुलाई पीडाबाट मुक्ति दिने एउटै मात्र उपाय देखिन् ।

हाम्रै देशमा भएको घटना हो यो । यो यस्तै अनेकौँ घटनाहरुको प्रतिनिधि मात्र हो ।
यो संसारमा यस्तो पनि देश छ र यो मेरै देश हो जहाँ भोकका कारण मानिस आत्महत्या गरिरहेका छन् जहाँ झाडापखाला लाग्दा सामान्य औषधी नपाएर कैयौँजना मरिरहेका छन् जहाँका मानिसहरु सामान्य गाँस बास कपासको आवश्यकता पूर्तिका लागि कुल्ली दर्बान भाडाका सैनिक घरेलु नोकर आदिका रुपमा बेचिनु परिरहेको छ जहाँ आफ्नै चेलीहरुलाई वेश्यावृत्तिका लागि बेचिन्छ जहाँ बोक्सीका नाममा आमा दिदी बहिनीहरुमाथि बर्बर िहंसा भइरहेको छ जहाँ हजारौँ मानिसको हत्या गर्ने िहंस्रकहरु राजनेता कहलाइन्छन् जहाँ राजनीति भनेकै जसरी पनि सत्ता शक्ति र सम्पत्ति हत्याउने साधन बनेको छ ।

यो यही देश हो जहाँ भोककै कारण आठ महिना र सात वर्ष उमेरका दुई छोरीहरुसहित आत्महत्या गर्न बाध्य भइन् एक आमा । के अधिकार छ त्यस्तो देशलाई एउटा स्वतन्त्र देश भएको भनेर गर्व गर्न के हक छ त्यस्तो देशको सरकारलाई जनतामाथि राज गर्न कुन स्वाभिमानले हो म बुझ्न सकिरहेको छैन कि आठ महिनाकी बच्चीलाई समेत अन्न पानी उपलब्ध गराउन नसक्ने मेरा देशका बहुसंख्यक मानिसहरु सधैँभरि राष्ट्रियताको नारा उरालिरहेका हुन्छन् ।

Saturday, May 9, 2009

आयोदधौम्यद्वारा रचित खण्डकाव्य "नियमित कथा यही संसारको" बाट लिइएको एक अंश

हिम्मत हार्नु ठीक होइन कायर पामर् बनी
आउँदैन भाग्य त्यसै दुःखी यो रै'छ भनी ।
छन त छन् ईश्वर प्रभु जगतका पिता
तर हेर्छन् यो मनुवामा कर्मयोग छ कति ।
स्वतन्त्र नै छाडिदिन्छन् कर्मफल भोग्न
कर्म गरे फल पाइन्छ कस्ले सक्ने रोक्न ।
गर्नु उद्योग पर्दछ सबले नहत्तारिइकन
त्यसै दूध दुहिन्छ कि दुिहंदैन भन ।
गर्नु पर्दछ एक् चित्त लगाई हामीले आफ्नो सबै कर्तव्य
त्यसै आउँदैन संपति न हुन्छ भवितव्यले ।
बाधा पन्छाई सब किसिमका नलत्रेर जीवनमा
राख्नु पर्दछ दृढता सधैं हामीले मनमा ।

(आयोदधौम्यद्वारा रचित यो खण्डकाव्य तरङ्ग साहित्यिक अभियानद्वारा वि.सं. २०६५ मा प्रकाशित पुस्तक "आठ खण्डकाव्यहरु आयोदधौम्यका" मा पनि संकलित छ ।)

Saturday, April 18, 2009

मेरो भाव लुकेपनि तिम्रो मनले बुझोस् (२०५४-८-१५)

मेरो भाषा अर्कै होला तिम्रो भाषा अर्कै
मैले भन्दा अर्कै होला तिम्ले भन्दा अर्कै
जे भनेुनि कुरो एउटै शैलीमात्र अर्कै
नाट्यकला एउटै एउटै शायद पात्र अर्कै
मेरो भाव लुकेपनि तिम्रो मनले बुझोस्
मेरो पि्रय प्रेमरागमा तिम्रो मन रुझोस् ॥
(२०५४-८-१५)

Wednesday, April 1, 2009

पश्चाताप त तिमीले पो गर्नुपर्ने जस्तो लाग्छ

मलाई त यस्तो लाग्छ तिमीलाई कस्तो लाग्छ
पश्चाताप त तिमीले पो गर्नुपर्ने जस्तो लाग्छ

कहानीको आरम्भ र अन्त्य दुबै तिमी थियौ
अनायाशै साथ दिई उसरीनै टाढा भयौ
यसमा त कसूर मेरो केही छैन जस्तो लाग्छ
पश्चाताप त तिमीले पो गर्नुपर्ने जस्तो लाग्छ

आउनु जानु तिम्रो मर्जी मैले के पो गरें
थाहा छैन के कारणले क्रोध्मा तिम्रो परें
रिसाएर टाढिनु झन् व्यर्थै जस्तो लाग्छ
पश्चाताप त तिमीले पो गर्नुपर्ने जस्तो लाग्छ

मलाई त यस्तो लाग्छ तिमीलाई कस्तो लाग्छ
पश्चाताप त तिमीले पो गर्नुपर्ने जस्तो लाग्छ

Sunday, March 22, 2009

मेरो प्रेम तिमीसम्म तिम्रो मसम्म (मिित २०५४।८।२० मा रचित)

यो जुनि मात्र हैन अर्को जुनि-जुनि सम्म
मेरो प्रेम तिमीसम्म तिम्रो मसम्म

तिम्रो जीवन-कथा शुरु अनि अन्त्य पनी
जताततै मेरो नाम त्यस्तै तिम्रो पनी

मेरोपछि तिम्रो नाम तिम्रोपछि मेरो
दायाँ बायाँ मायाकोनै बनोस् चौघेरो

यो जुनि मात्र हैन अर्को जुनि-जुनि सम्म
मेरो प्रेम तिमीसम्म तिम्रो मसम्म ॥
(२०५४।८।२०)

Saturday, March 7, 2009

प्रेमको होली, म र प्रेयसी (२०५४।११।२८।५ मा रचित)

होलीको स्वागत गर्न मन लागेकाले यो पुरानो रचना पुन: पोस्ट गरेको हुँ ।
प्रेमको होली, म र प्रेयसी (कविता)

केहि मैले आफै राखें
केहि तिमी संग मागें
तिम्रो रंग मेरो रंग
मिसाई होली खेलें ॥

एक अक्षर मैले लेखें
एक अक्षर लेख्ने तिमी
रंगारंग फागुबिच
मैले माया लेखें ॥

रंग विरंग संग
झुम्दै झम्दै अंग अंग
इन्द्रधनुष बन्दै बन्दै
आहा प्रेम तरंग ॥

गोधूलीमा नयन दर्पण
साक्षी प्रीतं अर्पण
सराबोर यसरी भो
क्या स्व-समर्पण ॥

कालो कलुष पखालेंर
इन्द्र धनुष कोरें
चित्रपट मुटु बनाई
बहार अपार भरें ॥

निशाकर अम्बरमा
हैन हाम्रै- हाम्रै मनमा
निर्झरिणी निद्र्वन्द
छाल उछाल सब्मा ॥

बेष्टित -लता तुल्य
िकंवा लता-बेष्टित तुल्य
उफान आख्यान तुल्य
क्याबात् ती क्षण अमूल्य ॥

निलगिरी अन्नपूर्णा
इन्द्र धनुष सेतु
भङ्कार झङ्कार झङ्कार
झङ्कार कै हेतु ॥

सारेगम मेरो हुँदा
प ध नि को टुंगो तिमी
सूर मसँग हुँदा
लय लयित तिमी ॥

सप्तरङ्गी सप्तपदी
सप्तपदी जीवनधूरी
जीवनधूरी रंगारंग
इन्द्रधनुष इन्द्रधनुष ॥

पूर्णिमा पूर्ण चन्द्र हुँदा
चन्द्रिका बिना कहाँ
वैशिष्ट्य यो दिनको
होली पो भो यहाँ ॥

रगतको रातो तिम्रो
मेरो अम्बर नीलो
जीवन-वायु मेरो भए
जीवन-रस तिम्रो ॥

दूर्वाङ्कुरे हरियाली
तिमी मलाई देऊ
पहेंलपुर जमराको
ओस जोसमा लिऊ ॥

एक कर मेरो भर
एक हल्चल्
फागु होलीमात्रै हैन
प्रेम तल्तल् ॥

अरुणकी सरीता वा
सविता हौ अरुणकी
मदनकी मायावी वा
काया अकायाकी ॥

शून्यकी सार स्वरुप
चँदुवाकी झल्लरी
बाग-बाग भएँ अहे
बागकी पल्लवी ॥

पौडियौ रङ्ग-सागर
आफै ऊ धन्य भयो
पौडायौ मधु-सागर
आफै यो धन्य भयो ॥

यी रङ्ग शर भए
दिन-होली धनु
लक्ष्य फगत् तिमीबिना
हाय के पो अरु ॥

पुसे-माघे सूर्य तुल्य
अझ पुष्पसँग -सुवासको तुल्य
प्रेमले रंगिएको
होली धन्य धन्य ॥

(२०५४।११।२८।५ दिनको १:४५ बजे; स्थान - अर्चलबोट पोखरा-२)

Wednesday, March 4, 2009

प्रेम प्रसङ्ग हाम्रो दुनियाँलाई कहानी भो ( मिति २०५४।८।२० मा रचिएको)

प्रेम प्रसङ्ग हाम्रो दुनियाँलाई कहानी भो
एक् कान् दुई कान् गर्दागर्दै जगतैको जुवानी भो

न्याउलीको विरहमा मान्छे प्रीत सुन्न थाले
कोइलीले को हो भन्दा मान्छे माया गुन्न थाले
पिरतीको हाम्रो गाथा संसारले गाउन थाले
हाम्रो देखासिकी हेर सब्ले माया लाउन थाले

प्रेम प्रसङ्ग हाम्रो ..............

कुमुदिनी फूल्दाखेरी हाम्रो प्रीत मुस्काउँछ
लज्जावती सँगसँगै हाम्रो प्रीत लजाउँछ
पूर्णिमाको चन्द्रतुल्य जाज्वल्यमान् हाम्रो माया
अमर छ चाहे छाडी जानुपरोस् जर्जर् काया

प्रेम प्रसङ्ग हाम्रो ........

(२०५४।८।२०, शुक्रवार, दिउँसो २ः०० बजे, स्थान ः अर्चलबोट, पोखरा)

Wednesday, February 4, 2009

दिलको बात आज चािहं खसोखास भन्छु (मिति २०५४।८।१८ मा रचिएको)

यसो भन्छु उसो भन्छु जसो तसो भन्छु
दिलको बात आज चािहं खसोखास भन्छु

दायाँ हेर्छु बायाँ हेर्छु आँखा जुधाउँछु
मृदु मुस्कान शुरुवात कुरो फुकाउँछु

आरंभमा वर्णन् के को अधर वा नजर्
घुमाउँछु मायालुलाई आजै प्रेम-नगर्

सोच्दासोच्दै गम्दागम्दै धेरै दिन भयो
यति दिन हुँदापनि धोको मन्मै रह्यो

सामुन्नेमा नपर्दामा यसो उसो भन्छु
सामुन्नेमा पर्दामा बक् फुट्दैन कछु

आकाश र पातालको डिङ् हाँके पनी
सकिएन प्रष्ट भन्न माया गर्छु भनी ॥
(२०५४।८।१८, बुधवार)

Monday, January 19, 2009

प्यारा निर्मल भनिकन (२०५४-८-१६ मा रचित गीतिभाव)

कैले हाँस्छ्यौ कुरा सुनी मख्ख परी नाच्छ्यौ
कतिदिन यसै गरी माइती देशमा बाँच्छ्यौ

प्यारा निर्मल भनिकन च्वाक्क म्वाइँ खान्छ्यौ
भोलि फेरि भेटौं भनी बिदा भई जान्छ्यौ

कैले जिद्दी गछ्र्यौ घरि कुरो ट्याक्कै मान्छ्यौ
फूल टिपी मुस्कुराउँदै मेरातर्फ हान्छ्यौ

कैले फतर् फतर् बोल्छ्यौ घरि कुरा साँच्छ्यौ
बिना मेसै भावुक घरि खितखित हाँस्छ्यौ

घरि ठुस्स परी बस्छ्र्यौ अनि गीत गाउँछ्यौ
शान्ति मेरो हृदयमा प्रेमलता लाउँछ्यौ

जति तिमी माया गछ्र्यौ उति माया पाउँछ्यौ
प्रेम रोप्न यो खेतमा रोपाइँ गर्न साउँछ्यौ ॥
(२०५४-८-१६, सोमबार)

Wednesday, January 14, 2009

माया गाँस्न आइसकी एउटी मनकी गोरी (२०५४।८।२३ रचिएको गीतिभाव)

न्याउली चरी किन रुन्छेस् नरो कठैबरी
प्रेममय भयो संसार बुझ्दिनस् हँ चरी
अझैसम्म विरहनै सम्झिबस्छे मोरी
माया गाँस्न आइसकी एउटी मनकी गोरी ।

गीत गाउन किन बिसर्िस् कोइली रनबन
यस्तो सुखद् बेला बीच नखुम्च्यान मन
काफल पाक्यो चरी अब काफल पाक्यो भन
हाम्रो मन एउटै भयो दुइटा फगत् तन ।

जुरेली त गुँड भित्र एक्लै किन बस्छेस्
बाहिर वहार नडुलेर किन गुँड पस्छेस्
अरिङ्गाल्नी किन खिल अरुलाई धस्छेस्
इष्र्या गर्दै हाम्रो प्रीत कति दिन बस्छेस् ।

मैना चरी िपंजडामा रुङ्छेस् किन आज
लज्जावती सधैंभन्दा बढि मान्छेस् लाज
शिकार गर्न छाडिदे न निठुरी ए बाज
बरु माया बसा्रइदे नाच् न मिलाई साज ।

पुछिदेऊ साथी संगी नजरका आँसू जित
मलाई माया गर्छिन् उनी होऊ खुशी अित
संसारमा बनोस् सबको माया गर्ने मित
माया प्रेम गर्दै बितोस् जीवन नहोस् खति ॥

(२०५४।८।२३ सोमवार रातको १०ः३० बजे)

Saturday, January 10, 2009

सधैंभरी तिमी मेरै (मिित २०५४-८-१३ मा रचिएको)

हिजोपनि आजपनि भोली-पर्सीपनि
सधैंभरी तिमी मेरै; ऐले, पछिपनि

रातीपनि साँझपनि बिहानीमापनि
दिउँसो पनि जतिखेर जहाँ भएपनि

जन्मेकी हौ मेरैलागि मेरैलागि बाँच
तिम्रो साटो रुन्छु म नै सधैं तिमी हाँस

हृदयमा मेरानिम्ति प्रेममाला गाँस
खुशीसाथ गीत गाउँछु तिमीचािहं नाच ॥

(२०५४-८-१३, रातको बाह्र बजेर केही मिनेट जाँदा)

Sunday, January 4, 2009

कस्तो होला प्रेम-रोग भन्ने गर्थें पैले (मिति २०५४-८-७ मा रचिएको)

कस्तो होला प्रेम-रोग भन्ने गर्थें पैले
आफैलाई संझाउने कोही पाइनँ ऐले

कस्ता होलान् बेकारमा माया गर्छन् भन्थें
पर्खि बस्ने भइएछ आउँछिन् उनी कहिले

व्याख्या गर्न अघि अघि नसरेको कहाँ हो र
धत् कस्तो यत्ति मेसो पाएनछु मैले

कस्तो होला प्रेम-रोग भन्ने गर्थें पैले
भर्खरै पो थाहा लाग्यो प्रेम मागें मैले ॥
(२०५४-८-७, रातको पौने बाह्र बजे)

Saturday, January 3, 2009

मधुयाम जिन्दगीमा आजै आए जस्तो (मिित २०५४-८-१५ मा रचिएको)

मधुयाम जिन्दगीमा आजै आए जस्तो
कोइलीले तिम्रै हाम्रै गीत गाए जस्तो

बहारले हाम्रै निम्ति सजाएको जस्तो
लज्जावती हामीसँगै लजाएको जस्तो

नदीहरु हाम्रै सूरमा सुसाएको जस्तो
झरनाले हाम्रो प्रीत रुचाएको जस्तो

तिम्रो साथ हुँदा सब थोक पाए जस्तो
सपनीमा विपनीमा माया लाए जस्तो

धर्तीबाट धेरै पर स्वर्ग आए जस्तो
मधुयाम जिन्दगीमा आजै आए जस्तो ॥

(२०५४-८-१५, आइतवार, रातको दश बजे)

Thursday, January 1, 2009

फॆरि फर्की आएँ हजुर (२०५५ साल चैत १२ गते रचिएको)

हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर

हजुरभन्दा परपनि संसार होला भन्ठानेको
हृदयले नमाने'सि फेरि फर्की आएँ हजुर
हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर

कहाँ कहाँ पुगिएला भन्ने सोच व्यर्थ भयो
स्वप्नहरु उडी ग'सि फेरि फर्की आएँ हजुर
हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर

हजुरको स्नेहले मत्याएको रै'छ मलाई
यस्तो कुरा चाल पा'सि फेरि फर्की आएँ हजुर
हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर

संसाँझैमा फर्किनेलाई बाटो भुल्या भन्दैनन् रे
स्वीकार ल फर्की आ'सि फेरि फर्की आएँ हजुर
हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर
(२०५५।१२।६)