Saturday, April 11, 2026

मेरी छोरी ! आऊ एउटा पुस्तक पढौँ

 (कविता)

मेरी छोरी ! आऊ एउटा पुस्तक पढौँ

— प्रा.डा. निर्मलमणि अधिकारी
 प्राध्यापक एवं विभागीय प्रमुख, भाषा तथा आमसञ्चार विभाग, काठमाडौँ विश्वविद्यालय 

 (१) छोरी !
 आऊ आज एउटा पुस्तक पढौँ —
 त्यही पुस्तक,
 जुन भुलेको थिएँ मैले
 उहिल्यै पढूँला भन्दाभन्दै —
 आऊ हामी आज पढौँ
 तिमी र म मिली —
 उही पुस्तक ।
 
 (२) सुप्रिया !
 म देख्न चाहन्छु
 तिम्रो आँखाको ज्योतिबाट,
 तिम्रो अन्तर्दृष्टिबाट
 म आफैंलाई चाहन्छु अनुभूत गर्न,
 अनि तिम्रै माध्यमबाट चाहन्छु  साकार पार्न
 अपूर्ण मेरो अतीतलाई ।
 
 (३) यशस्विनी !
 म जन्मँदा मसँगै जन्मेका थिए
 मेरा पिता–माताका सपना,
 मेरा बन्धुवान्धवका आग्रहको परिधि
 हरहमेशा मलाई घेरिरहेका हुन्थे,
 अवसाद !
 न मैले मेरो आफ्नो राजमार्ग
 निर्माण गर्न सकें,
 न मेरा पिता–माताको सपना
 पूर्ण–साकार पार्न सकें,
 न त बन्धुवान्धवका आग्रहको
 परिधिलाई नै दिन सकें सम्पूर्णता,
 यतै कतै अलिकतिमा अल्झँदैमा
 बितेछन् मेरा दिनहरु—
 म चाहन्नँ यो त्रिशंकुमा तिमी फस,
 तथापि
 यति पक्कै बुझ्नेछ्यौ—
 म तिमीमा आफ्नो जीवन सार्थक
 साकार देख्न चाहन्छु ।

 (४) सुयशा !
 थाहा छैन कति अधिकार छ,
 के थाहा यो कति नैतिक हुने हो—
 आफूचाहिं केही गर्न नसकेरपनि
 छोरीबाट आशा राख्ने ÷
 आफ्नो अधूरो लक्ष्य बेध गर्न  तिमीलाई आयुध बनाउने
 वा आफ्नो आस्था
 तिमीमाथि रोपण गर्ने ÷
 पुनः संरचना गर्ने जीवन–स्वप्नको—
 के अधिकार छ मसँग ?
 अन्यमनस्क भावसँगै
 भित्र एउटा हठ छ, छोरी !
 आऊ आज एउटा पुस्तक पढौँ —
 त्यही पुस्तक,
 जुन भुलेको थिएँ मैले
 उहिल्यै पढूँला भन्दाभन्दै—
 आऊ हामी आज पढौं
 तिमी र म मिली—
 उही पुस्तक ।

 (५) प्रियदर्शिनी !
 यी यो तूलिका हेर
 मैले चित्र कोर्न चाहेको
 खै यो रंगको पोखाइमात्र बनेछ,
 अब म चाहन्छु तिम्रो कलाकारिता
 पुनः रेखांकन गरोस् यो तूलिकालाई
 हाम्रो जीवन मुस्कुराओस्
 यो भित्ताभरि अटाई–नअटाई ।

 (६) सुपुत्री !
हाम्री नन्दिनी !! 
 मलाई अझै याद छ
 तिम्रो आगमनले हाम्रो जीवनमा
 नयाँ अध्याय आरम्भ गरेको थियो
 पूर्ण सुरुचिपूर्ण—
 तत्क्षण जीवनबाग पुष्पित–पल्लवित
 नयाँ परिभाषा जीवनको
 नयाँ आयाम जिउनुको
 सुन्दरताको स्वानुभूति
 सुखानन्दको पुगिसरी
 र अबको चाहना—
 सधैँका लागि मूर्तिकरण गरौँ आऊ
 हाम्रो जीवनलाई मानक बनाउन
 योगदान गर्नुछ तिमीले ।

 (७) यशस्विनी !
 सुप्रिया !!
 मेरी मैया !!!
 शायद थाकेको आकाश हूँ म
 लालिमा समेत हराइसकेको,
 तर दूर कतै उज्यालोको पूर्वाभाषले
 पुनर्जागरणको आशामा
 आफैलाई आश्वासन दिंदै गरेको  पुजारी त्यही उज्यालोको
 कि कतै तिमीले आह्वान गरेर
 वा समातेरैपनि जबर्जस्ती
 त्यसलाई हाजिर गराउँछ्यौ भन्ने
 सोचेर प्रतिक्षारत ।

 (८) प्रिय छोरी !
 मेरी तेजस्विनी !!
 निरन्तर यात्राको परिणति हो
 परमतत्वको प्राप्ति त—
 भगीरथ–प्रयत्नले युग युग
  बिताइसकेर मात्र गंगा अवतिर्ण  गराउन सकेझैं,
 के तिमी मेरालागि
 मेरा योगको सिद्धिकालागि
 भावी युगको प्रकाशपुञ्जकालागि
 भगीरथ बन्छ्यौ ?
 पढ्छ्यौ त्यही पुस्तक,
 जुन भुलेको थिएँ मैले
 उहिल्यै पढूँला भन्दाभन्दै ?

 (९) प्रियदर्शिनी !
सुयशा !
 जुन युगको उद्घोष मैले गरें
 त्यो थियो तिम्रैनिम्ति,
 तिम्रा संगीहरुकानिम्ति,
 तिमीभन्दा सुदूर भविष्यमा आउनेहरुकानिम्ति,
 सारा मानव समाजकानिम्ति—
 तर नभ्याइकनै त्यसको जग हाल्न
 हेर न मेरो त अन्त्य आइसकेछ,
 आरम्भमै सकिएछ मेरो इन्धन त,
 यात्राको समापनको बेला भइसकेछ,
 छोरी !
 के मेरो काम अपूरै रहला त ?
 के तिमी सम्हाल्छ्यौ उत्तरदायित्व ?

 (१०) मेरी उत्तरा !
 लालयिता !
मेरी दुहिता !!
 मेरी सर्वोच्च सम्पत्ति तिमीनै हौ—
 मेरो जीवनकी निरन्तरता,
 मेरो प्राणशक्तिकी मूर्तता,
 मेरो इच्छाशक्तिकी स्वरुप,
 जब तिमी छ्यौ त म छँदैछु ।

 (११) ए छोरी !!
 मलाई पूर्ण विश्वास छ
 तिमी पढ्नेछ्यौ मेरा पुस्तकहरु,
 तिमीलेनै लेख्नेछ्यौ मेरा लेखनीले,
 मेरा आवाज तिमीनै बोल्नेछ्यौ,
 म तिमीमै मूर्त हुनेछु—
 साकार ÷ सार्थक,
 मेरो युग–कल्पना तिमीबाटै
 हुनेछ पुष्पित–पल्लवित,
 उज्यालोलाई जसरीपनि ल्याइछाड्ने
 मेरी भगीरथ तिमीनै बन्नेछ्यौ,
 र त्यसको तयारीकालागि
 आऊ हामी दुबै मिलेर
 एउटा पुस्तक पढौँ ।

Email: nirmalam.adhikary@gmail.com