Thursday, January 1, 2009

फॆरि फर्की आएँ हजुर (२०५५ साल चैत १२ गते रचिएको)

हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर

हजुरभन्दा परपनि संसार होला भन्ठानेको
हृदयले नमाने'सि फेरि फर्की आएँ हजुर
हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर

कहाँ कहाँ पुगिएला भन्ने सोच व्यर्थ भयो
स्वप्नहरु उडी ग'सि फेरि फर्की आएँ हजुर
हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर

हजुरको स्नेहले मत्याएको रै'छ मलाई
यस्तो कुरा चाल पा'सि फेरि फर्की आएँ हजुर
हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर

संसाँझैमा फर्किनेलाई बाटो भुल्या भन्दैनन् रे
स्वीकार ल फर्की आ'सि फेरि फर्की आएँ हजुर
हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर
(२०५५।१२।६)

Monday, December 29, 2008

मेरो काव्य सुन्दर बन्छ जब तिमी हुन्छ्यौ (२०५४ सालमा रचिएको गीतिभाव)

मेरो काव्य सुन्दर बन्छ जब तिमी हुन्छ्यौ
मेरोलागि त्यै स्वर्ग हो जहाँ तिमी हुन्छ्यौ

अधूरो हो त्यो सपना जहाँ तिमी हुन्नौ
अपूरो हो त्यो विपना जहाँ तिमी हुन्नौ

सुख तिम्रो मुस्कान हो मिठो तिम्रो अधर
जादू टुना अरु के छ बिना तिम्रो नजर

नशा जाबो केही हैन तिम्रो प्रेम सामु
मौरी तुल्य अस्थिर् मन्को तिमीनै हौ रानू

आगो छ्या के पोलोस् जस्तो तिम्रो बिछोड्
नून् चूक् घाउमा सह्य हुन्छ हुन्न तिम्रो बिछोड् ॥
(२०५४-८-८, रातको एघार बजे)

Wednesday, December 17, 2008

को होला र म जत्तिको सुखी यो संसारैमा (मिति २०५४।८।२३ मा रचित गीति-प्रणय-भाव)

को होला र म जत्तिको सुखी यो संसारैमा
तिमीलेनै बनाइदियौ आनन्दी यो संसारैमा

निवेदन प्रणयको तिम्रो मैले पाएँ
आज त झलमल्ल देख्छु यो संसारैमा

मनमनै रोजेपनि भन्न चािहं नसकेको
तिमीलेनै भनिदिँदा खुशी यो संसारैमा

आिलंगनमा तिमी हुँदा चुम्दै तिम्रो अधर्
जय होस् भन्छु म त मायाको यो संसारैमा ॥

(रचना मिति : २०५४।८।२३)

Wednesday, December 10, 2008

जीवन यो (आयोदधौम्यद्वारा विक्रम संवत २०४७ मा रचित कविता)

जीवन यो (कविता)

सम्झेजस्तो हुन्न जीवन
देखे जस्तो हुन्न जीवन
- एक गीतको टुक्रा

जीवन कस्तो छ
यसलाई भोगेर हेर
यसलाई जोखेर हेर
यो तिमीले हेरेजस्तो बोलेजस्तो पटक्कै छैन
जीवन सुस्वादु छैन
चाखेर हेर राखेर हेर
यो त काँचो केराजस्तो टर्रो छ
सुन्तलाजस्तै रसिलो र पोटिलो छैन पटक्कै
जीवन पहरा हो
यो सजिलै फोरिइन्न
नपत्याए कुहिनाले फोर औंलाले कोर
यो त हिराजस्तै कठोर छ
(रचना मिित : २०४७।९।२१)

Wednesday, November 26, 2008

बुझ र फर्क - वि.सं. २०४९ मा राष्ट्रिय वातावरण कविता प्रतियोगितामा प्रथम पुरस्कार पाउन सफल कविता

कविता
बुझ र फर्क
कवि - आयोदधौम्य (निर्मलमणि अधिकारी)

उजाड बनेको छ पृथ्वी
नीरस र फूङ्ग नेपाल -
कतै नदीमा बगरै-बगर टल्कने त होइन,
मानिसहरुको जीजीविषा धप्धप् बलेर
खरानी त हुन्न हाम्रो संसार !
ए मान्छे हो,
रोक आफैंलाई डढाउन खोज्ने हातहरु,
पछि फर्काऊ विष कुण्डतिर बढेका
तिम्रा ती खुट्टाहरु;
रुखसँग आत्मियता राखेर हेर,
यसका रत्याउने गीतका तालमा नाच त,
त्यसपछि तिम्रा हातहरु
ममतामयी नारीलेझैं
रुखलाई संरक्षण गर्न प्रयोग गर,
भविष्यमाथि बन्चरो नहान,
बुझ र फर्क -
हरित नेपालतर्फ ।
वि.सं. २०४९ मा राष्ट्रिय वातावरण कविता प्रतियोगितामा प्रथम पुरस्कार पाउन सफल यो कविता ऋचा, २०४९ कार्तिकमा प्रकाशित छ ।

Saturday, November 15, 2008

व्यथा (कविता)

कविता
व्यथा
बोलुँ -
बोलिपासो,
नबोलुँ -
नबोलिपासो;
जब म चूप हुन्छु
चिच्याउँछौं तिमीहरु
कि योसँग वाणी नै छैन
र जब म बोल्न थाल्छु
टाउको दुख्न थाल्छ तिमीहरुको
कि यो साह्रै बोल्यो
-यो हामी भन्दापनि बढि बोल्यो;
बोलुँ -
बोलिपासो
नबोलुँ -
नबोलिपासो ।
रचना मिति - २०५३।१२।७ बिहीबार, रातको ठीक पौनेबाह्र बजे ।
स्पीकर्स कर्नरमा प्रकाशित

Monday, November 10, 2008

छाङ्ग पिपलटार, मेरो पिपलटार

निबन्ध
छाङ्ग पिपलटार, मेरो पिपलटार
१६।१०।२०४८
छाङ्ग पिपलटार, मेरो पिपलटार, मेरो जन्मथलो, मेरो प्यारो गाउँ ।
कतिले नाम पनि नसुनेका होलान् र देख्ने चिन्ने जान्नेको संख्या झन् कति पो होला ! मान्छेहरुका दृष्टिमा यसको विशिष्टता केही नहुन पनि सक्छ; किनकि संसारका लाखौं गाउँहरुभन्दा पृथक् कुनै खासकुरा यहाँ उनीहरुले नदेखेका हुनसक्छन् । कुरा स्पष्टै छ - यहाँ भगवान् श्रीकृष्ण अवतरित हुनुभएन त्यसैले त यो व्रजभूमि भएन । यहाँ भगवान् श्रीराम अवतरित हुनुभएन त्यसैले यो साकेत मानिएन । अँ, यो पेरिस होइन जहाँ मोनालिसाको मृदु मुस्कानमा मदहोस भएकाहरुले इफेल टावरको गर्व बोकून् । न त यो सदा वसन्त-बहारमा झुम्ने क्वेटा नै हो । यो सँग मोहनजदडो र हरप्पाको जस्तो यश-आर्जन पनि मान्छेले नदेख्लान् । मिश्रको पिरामिडमा आफ्नो प्रतिकृति चियाउने रहर पनि मेरो पिपलटारले लिएन । पिपलटारले सिकन्दर जन्माएर विजयी हुनुको अनुभूतिमा रम्न पाएन । सुकरात अरस्तु प्लेटो नजन्मेको मेरो गाउँ; फ्रायड नित्से माक्स्र नहुर्केको मेरो गाउँ; तर नजिकै दमौलीमा जन्मेका वेदव्यासलाई हाम्रै छिमेकी त हुन् नि भनेर सन्तुष्ट छ यो । भानुभक्तले रामायणको अरण्यकाण्ड रच्दैगर्दा यही बाटो गुन्गुनाउँदै िहंडेको सम्झेर मख्ख छ । शिवभूमि हुन पाएकैमा सन्तुष्ट छ मेरो पिपलटार । मान्छेहरुले थाहा पाउन नचाहेर पो त नत्र पिपलटारको आफ्नै गौरवमय अतीत नभएको कहाँ हो र !
कुनैबेला कश्यप गोत्रीय मेघ ऋषिको नामबाट यो चिनिन्थ्यो जब यहाँ मेघह्रद मेघदह थियो । शायद गजेन्द्रमोक्ष यहीँ भएथ्यो । वासुकी अनन्त कुलीर कर्कट आदिइत्यादि नामका नागराजहरु यहाँ विहार गर्दाहुन् । छेउछाउतिर अनेक भँयर झाँक्रीका थान हुँदाहुन् । थुम्काथुम्कीमा देवी-देवता बास बस्दाहुन् । अनि मेघदहको नीलो गहिराइभित्र के देखेर हो कुन्नि डुल्दै त्यहाँ आइपुगेका कश्यप गोत्रीय ऋषिवर छागलले त्यस दहको पानीलाई पश्चिमतर्फ निकास दिएछन् इन्द्रसँग वज्र मागेर । जब दहको पानी पश्चिमतर्फबाट बग्दैगयो तब मलिलो जमीन भएको फाँट अर्थात् आजको ुम्याग्देफाँटु जन्म्यो । मेघनद आजको म्याग्देखोला ऋषिद्वय मेघ र छागलको गाथा गाउँदै दौडन थाल्यो र आजपनि हाम्रा पौरखी पुर्खाको कीर्ति सुनाउँदै बगिरहेकै छ म्याग्देखोलो - पिपलटारकै छेउबाट । सारा म्याग्देफाँटका प्राणीको जीवनाधारका रुपमा मेघनद हिजो पनि थियो र आजपनि छ । त्यसो त यदाकदा क्रोधित भएर गडगडाउन पनि यसले जानेको छ र त्यस्तोबेलामा धुरुक्क रुवाउँछ यसले । जे होस् म्याग्देले हामीलाई बताइरहेको छ पिपलटारको गौरवमय अतीत । यहाँ भगवान् शिव रम्नु भयो भैरव दगुरे नन्दी-भृंगीहरु खुशीले उफ्रे । सृष्टिकालमा शक्ति र शक्तिमान्को प्रणयलीला यहाँ चल्योहोला । यही म्याग्देका सुसेलीमा लयबद्ध भइरहेका होलान् कति कथा-कुथुंग्रीहरु ।
पिपलटार वास्तवमा समाधिस्थ ऋषिझैं छ स्थितप्रज्ञ । चंगेजको दिग्विजयमा यो निर्विकार रह्यो; तैमुरले भारत तहसनहस पार्दा मेसो पाएनछ; सिकन्दरको उदय र अवशानमा यसले केही प्रतिकि्रया जनाएन । झाँसीकी रानीको शौर्यलाई उतिबेला चिन्न नपाएको बलबाहु चीन जाँदा कोसेली पठाउने मेसो नपाएको चाणक्यको संगत गर्ने अवसर गुमेको - यी कुराहरुप्रति पछुतो छ वा छैन मेरो पिपलटारलाई शंकराचार्य र बुद्धलाई भने चिनेको छ अरे मेरो पिपलटारले । अल्लि पहिले पृथ्वीनारायणको महान् एकीकरण अभियानका बेलामा उनको साथ दिन चाहिँ जागेको थियो; तापनि अधिकांशतः मेरो पिपलटार मूक र ध्यानस्थ रह्यो पद्मासनमानै रमायो ।
अट्टिला जसले हरेक राज्य विजयसँगै एउटा बिहे गर् यो र त्यस्ता बिहेको संख्या चारसय पुगेको थियो उसकोलागि डेन्युबको किनारा जति महत्वपूर्ण थियो; त्योभन्दा महत्वपूर्ण लाग्छ म्याग्देखोलाको किनारा । यहाँ क्षेयास्र जन्मेन यहाँ हरक्युलिस जन्मेन यहाँ शेक्सपियर जन्मेन यहाँ हिटलर जन्मेन । यसको कुनै इतिहासको पानामा नाम नभेटिएला; कुनै धर्मग्रन्थमा यसको महात्म्य नपाइएला - तर दुःखमनाउ छैन । यसको पत्रे चट्टान मुन्तिर उधिन्ने होभने सृष्टिकै कथा छोपिएका हुन के बेर ! पिपलटारको थोरै तर साह्रै उब्जाउ जमीनकालागि कति भुरे-टाकुरे राजा-रजौटाको रगत बह्यो होला । यसको यथार्थ पुस्तकहरुमा खोज्ने होइन हाम्रै म्याग्देलाई सोध्नुपर्छ ।
कुनैबेला औल लाग्छ भनेर गोठमात्रै पनि राखिएछ पिपलटारमा । दिउँसै बाघका गर्जन र मृगशावकका उछलकूद ! देउताले गर्थे रे रखवाली । बाटेकुवामा बाघका डमरु र मृगशावक सँगसँगै पानी पिउँथे रे । कालक्रमसँगै पिपलटारको मोहनी बढ्यो । मान्छेहरुले गोठका ठाउँमा घर बनाए । पत्रे चट्टानलाई बमको विष्फोटले उडाएर मलिला गरामाथि समेत गिटी ओच्छ्याइयो । त्यतिखेर नयाँ जीवनप्रतिको आशाले सबै चोटलाई उफ् सम्म पनि नभनी सह्यो मेरो पिपलटारले । तर म्याग्देखोलाको दुःखमाथि दुःख थपियो । बमको पड्काइले तसर्िएर कहालियो ऊ । आफूमाथि पुल अनि ठाउँ-कुठाउँमा तटबन्धले उँध्मुन्टियो बाँधियो । तर वास्ता गर्ने ध्याउन्नामा थिएन पिपलटार । आधुनिक हुनुमा मजा आएको थियो यसलाई त । परिवर्तनलाई कौतुकतापूर्वक अवलोकन गर्नु र सकेजति अपनाउनु यसैमा रमायो पिपलटार ।
जब म जन्में मेरो प्रथम भेट पिपलटारको माटोसँग भयो । त्यसदिन यहाँको हावाले मेरा फोक्साहरु भरिए । म्याग्देखोलाको पानीले मलाई धोइएको थियो । यहीँको माटोमा उब्जेको अन्नबाट म पोषित भएँ । पिपलटारको काखमा म्याग्देखोलाको ुलोरीुसँगै मैले जीवनगीत गाएँ । मेघ र छागलजस्ता महान् पुर्खाको गाथा म्याग्देको सुसेलीमा सुनेको हुँ मैले । हिजो जब यो आफ्नो यौवनमा थियो त्यसबेला म यसमा पौडी खेल्थें तर आज जब म यौवनमा छु ऊ मसँग केही फर्मायस गरिरहेको छैन । जबकि अधिकार हो उसको ।
मेरो जन्मभूमि पिपलटार कुनैपनि महानगरीभन्दा कम छैन मेरालागि । मेरी आमा र मेरा पिताजीको वात्सल्यसँगै पिपलटार पनि कदापि नमेटिने गरी मसँगसँगै छ । मेरो हृदयको पिपलटार वर्णन गरुँ भनेपनि शब्द पुग्दैन । नाइलको लम्बाइ र अमेजनको चौडाइ अरुहरुकालागि धेरै होला मेरोलागि त म्याग्देखोलानै सबभन्दा लामो र चौडा छ । गंगा जत्तिकै पवित्र मान्छ मेरो हृदय यसलाई । मेरोलागि मेरो पिपलटार स्वर्गभन्दापनि ठूलो छ; पैगम्बरको जन्नत र येशूखि्रष्टको प्रमोदवनभन्दा मेरो पिपलटार नै ठूलो मान्छु म त । मलाई लाग्छकि सबैथोक हो मेरो मातृभूमि । मेरो पिपलटार मेरो मुटुको प्रत्येक धड्कनमा समाहित छ ।
घटना र विचार साप्ताहिकमा वि.स. २०५७ सालमा प्रकाशित

Saturday, November 8, 2008

निर्मलमणि अधिकारी आयोदधौम्यको छैटौँ खण्डकाव्य आकाश यसरी खुल्छ

आकाश यसरी खुल्छ
निर्मलमणि अधिकारी आयोदधौम्यको छैटौँ खण्डकाव्य
लेखन मिति ः वि.सं. २०५०।०२।१८ बिहान ८ः०० बजे सुरु भई मध्याह्न १२ः३० मा समाप्त ।
This short-epic has been published already in: Aath Khandakavyaharu Ayod Dhaumyaka (An Anthology of Eight very short epics by Ayod Dhaumya), published by: Taranga Sahityik Abhiyan. यो खण्डकाव्य पनि आठ खण्डकाव्यहरु आयोदधौम्यका (तरंग साहित्यिक अभियान, वि.सं. २०६५) मा संग्रहित छ ।

विषयसूची
१। विषय प्रवेश
२। विदुलाको छट्पटी
३। विदुला संजयलाई भन्छिन्
४। विदुलाको सन्देश ः संघर्ष
५। संजयको विवशता प्रदर्शन
६। संजय आक्रोशित हुन्छन्
७। विदुलाको कूटनीति सम्बन्धी अर्ती
८। उपसंहार

मंगलाचरण
वीणा पुस्तक धारिणी अभयदाता हे श्वेत वस्त्रावृता ।
तिम्रै पाई दया मानिसहरु हुन्छन् खुशी सर्वदा ॥
वाणी स्वरुपा हजुरको गर्छन् सबले तप ।
सकूँ लेख्न काव्य यो गर्दै हजुरको जप ॥
लामो सूँढ अनि हाम्रा कल्याणकर्ता प्रभो ।
करुणा हामीमाथि ठूलो छ तिम्रो विभो ॥
देऊ शक्ति शीघ्र लेखनको भक्त काव्यको हो भनी ।
तिम्रोझैं सुयश फक्रोस् अमर हुन सकूँ अनि ॥
यो देशको पहरा जहाँ
कस्तुरी मग्मगाइरहेछ
यो देशको छहरा जहाँ
श्रीखण्ड जग्मगाइरहेछ
अनि यो देशका फाँटहरु जहाँ
नदीहरु गड्गडाइरहेछन्
र मेरो हिमालपनि देओस्
सम्बल मनको ।
यी देशका कछाड र भोटो फाटेका
मेरा दीन जनता
आधी पेट खाएर
सारंगीझैँ ख्याप्ल्याक्क परेका
मेरा विवश जनता
यी सबको आत्मा साक्षी छ
यहाँ कलम गड्गडाउने छ
खलंगामाझैँ वीरताको
शंखघोष गर्दै जाओस्
मेरो कलमले ।

१। विषय प्रवेश
सूत्रधार १ ः
कथा आज भिनंदैछ यहाँ एक वीर् नारीको
कथासँगै गाइँदैछ प्रशस्ति यहाँ वीर् नारीको ।
माया प्रेम स्नेहकी खानी सधैं नारी
परेदेखि ज्वालामुखी चट्याङ् बन्छिन् नारी ।
एकादेशको कथा हो यो
कुनै देश थियो रे
त्यो देश देश थिएन वास्तवमा
राष्ट्र थिएन त्यो ।
प्रत्येक जनताको हात
बन्दी बनेका थिए
प्रत्येक राष्ट्रवादीको मुखमा
ताल्चा मारिएको थियो
उफ्
कति दुःखदायी हुन्छ पराधीनता
दूर्भाग्य यही थियो
नियति त्यो देशको ।
यन्त्रमानव बनेर
कसैको आदेशको प्रतिक्षामा
बस्थे कतै अक्षम्य गल्ती
हुने त होइन
थाहा छैन कुन बेला
कोमाथि प्रहार पर्छ
खै के थाहा कहिले
बन्दी हुन्छन् जनता
आखिर त्यो देश
पराधिन त जो थियो ।
बारीका डल्लाहरु चिच्याईचिच्याई
स्वतन्त्रताको वकालत गर्थे
नदीका सुस्केराहरु
पीडाको गाना सुनाउँथे
प्रत्येक मनहरु चाहन्थे
ज्वालामुखी बनिदिन र
भत्काइदिन
पराधिनताको दूर्ग ।
िपंजडाको सुगा झैं भएर
विरहिणी झैं रोएर
काल बितेको थियो
पराइको गाँसमा बासमा आशमा
मुटुको प्रत्येक ढुकढुकी बन्धकी भइसकेपिछ
मस्तिष्कका प्रत्येक नशा
व्याज तिर्दैमा गइसकेपिछ
परिणाम के हुन्छ र
यहाँ त्योभन्दा अर्को ।
राजा त्यो देशको राजालाई
के राजा भन्ने
अर्काको तलब खाएर
अर्काको पराधिनता स्वीकारेर
अर्काको कदममा निहुरेर
अनि अर्काको आदेश तामेल गर्दै
बाँच्ने पनि
राजा भनिएला र
त्यसैले त राजा
राजा थिएन
दास थियो ऊ सैन्धवको
देशको प्रत्येक जनता र
प्रत्येक माटोको कण सहित ।

२। विदुलाको छट्पटी
यस खण्डकाव्यको पूर्णपाठ पछि राखिनेछ ।

Saturday, October 25, 2008

निर्मलमणि अधिकारी आयोदधौम्यद्वारा लिखित उपन्यास अन्तिम बादशाहको केही अंश

अन्तिम बादशाह
चीनका मंचुवंशीय अन्तिम सम्राटसम्बन्धी लघु-उपन्यास
लेखन मिति ः २०४८ असार २१ गते शुक्रवार - भदौ ३१ गते सोमवार



आमा !
हुसुआन तुङ्ग माचुवंशीय राजकुमार आफ्नी आमालाई बोलाइरहेछन् । विचरा उमेर नै के छ र ! भर्खर तोते बोली फुटेको छ । आमा काखमा लिन्छिन् र पुचकार्छिन् । यही मातृ ममत्व कति शक्तिशाली छ भने तुङ्ग मग्न हुँदै निदाउँछन् । महारानी ति स्याङ्ग छोरालाई झोलुङ्गोमा राख्छिन् । निदाएको तुङ्गको अनुहारमा हेर्छिन् उनको मातृत्व भावविभोर हुन्छ । उनी च्वाक्क म्वाइँ खान्छिन् तुङ्गको निधारमा ।
ूए फेङ् ! हुसुलाई हल्लाइदे त । भर्खर निदाएको छ निद्रा बिग्रेला नि फेरि । ल ल आइज ।ू
महारानी ति स्याङ्गले नोकर्नी फेङ्लाई अह्राइन् । उनी त्यहाँबाट महराज भएतर्फ गइन् । महाराजले अघि नै हो नि त बोलाएका । तर उनी आफ्नो प्यारो पुत्रकहाँ बस्दैमा ठिक्क भयो ।
ूमहारानी ! तिमी मेरो आज्ञा पनि अटेर गर्न लाग्यौ होइन हैन च्याङचिङकहाँ जानु पर् यो कि कसो ू
महारानीलाई छासे महाराजले । उनलाई नमिठो लाग्यो । महाराज त यस्तै छन् जहिले पनि बेखुशी भएपछि च्याङचिङकै जिकीर गर्दछन् । ूहुन पनि कति हिसी परेकी छ मोरी ! हुने भए तेजाब छरेर विकृत पारिदिन हुन्थ्यो !ू हीनताबोध भयो महारानीलाई । करैले भनिन् उनले ूक्षमा महाराज !
ति स्याङ्गलाई महाराजको व्यक्तित्व खल्लो लाग्छ । यही महाचीनमा कैयौँ शासकले शासन गरे । यहीँका बादशाहले आफ्नो ध्वजा संसारभर फिँजाए । तर यी महाराज ! खै के महाराज ! खालि महलमा बसेर ति स्याङ्ग र च्याङचिङबीच प्रतिस्पर्धा गराउँदै जुँगामा ताउ लगाउँछन् । लड्न केही जान्या होइन । माचुवंशको त्यो पताका कति ठुन्किइसक्यो । यस्तै हो भने माचुवंशै खतम हुन के बेर !
ूयी महाराज कति कायर हुन् त ! आफ्नो गुमेको माचुरिया फिर्ता लिनु त कता कता अब अन्य भूभाग पनि स्वतन्त्र हुन थाले । छ्या !ू ति स्याङ्गलाई नजानिँदो क्षोभ लाग्यो ।
<>
ूहँ ! के भनिस् रे फेङ् ू महारानी ति स्याङ्ग झसङ्ग भइन् । यो कुरा संभव होला र हिजो दुवै कति रमाइलो रमाइलो कुरापछि छुट्टिएका बिहानै मृत्यु हुन सक्छ र साँच्चै होला र ूठट्टा त गरिनस् ू हकारिन् ति स्याङ्गले । नोकर्नी फेङ् नङले भूइँ कोतार्न थाली । उसका आँखाबाट बररर आँसु खसिरहेको थियो । उसलाई पनि निकै चोट पर् यो । आफ्ना लिली पारेका गोडामा शरीरको भार थाम्दै फेङ्ले भनी ूउता सवारी होस् रे ।
ति स्याङ्गलाई बल्ल यकीन भयो । हिजो कति हँसमुख थिए भने महाराज ! सधैँ रिसाइरहने उनको अनुहार कति उज्ज्वल थियो भने हिजो ! ूहे काल कति निष्ठुरी छस् । भन्दे मलाई त्यति सानो हुसुआन तुङ्गको अभिभावकत्व किन छिनिस् तैँले
ति स्याङ्ग उठ्न सकिनन् । उनलाई अँध्यारो लाग्न थाल्यो संसार । आखिर जे जस्तो भए पनि महाराज एउटा आधार त थिए । तर आज महाराज नभएपछि उनीमाथि जे जस्तो आपत्ति पनि त पर्न सक्थ्यो । हुसुआन त्यो गद्दीमा बस्न पाउने हो कि होइन ! तर उनलाई बूढा मन्त्री हो साङ्गको पूर्ण विश्वास थियो । उसले नूनको ढिको बिस्रने छैन र वफादार अवश्य रहनेछ ।
<>

ूमाचुवंशीय महाराजको आत्माले शान्ति पाओसू
महारानी ति स्याङ्ग प्रसन्न भइन् । जनता महाराजका शोकमा विह्वल छन् । उनीहरुको मनमा पनि माचुवंशप्रति अटाइ नअटाइ श्रद्धा रहेछ । तर … … तर किन यति थोरै छ यिनीहरुको सङ्ख्या ! आफ्ना महाराजको मृत्युमा दुःख प्रकट गर्ने यत्ति न यिनीहरु पनि करकापले पो आएका हुन् कि ।
ति स्याङ्गको मुटु ढुकढुकाउन लाग्यो । ूकतै जनता हामीसँग रुष्ट त छैनन् । बिचरो नाबालक हुसुआनमाथि विपत आइलाग्ने त होइन कतै अरुलाई जितेर हामी यहाँ प्रतिस्थापित भएझैँ अरु कोही पो निस्केछ कि ! हे ईश्वर मेरो हुसुलाई केही नहोस् । सानो उमेर भएपछि पिरलो यही छ त नि । यदि ऊ ठूलो हुँदो हो त म पिरिनु नै किन पथ्र्यो र .
प्रकाशोन्मूख

Sunday, October 19, 2008

निर्मलमणि अधिकारी आयोदधौम्यद्वारा रचित तेस्रो खण्डकाव्य क्षात्रमूर्ति जना


निर्मलमणि अधिकारी आयोदधौम्यद्वारा रचित तेस्रो खण्डकाव्य
क्षात्रमूर्ति जना
पौराणिक पृष्ठभूमिमा लिखित खण्डकाव्य
लेखन मिति ः २०४६।०६।२०
पुनर्लेखन मिति ः २०४७।०६।१७

This Kshatra-Moorti Jana is third short-epic written by Nirmala Mani Adhikary (Ayod Dhaumya). It was written in B.S. 2046/06/20 and revised in B.S. 2047/06/17.
This short-epic has been already published in: Aath Khandakavyaharu Ayod Dhaumyaka (An Anthology of Eight very short epics by Ayod Dhaumya), published by: Taranga Sahityik Abhiyan.

१। देश वर्णन
२। युद्धको घोषणा
३। जना-जङ्ग संवाद
४। युद्ध-दुर्ग
५। युद्ध
६। परमपद

सरस्वती प्रार्थना
आऊ माता शारदे तिमी यो पुत्र छेउमहाँ
त्यागेर शरणागत जान्छ्यौ तिमी कहाँ ॥१॥
आमा सरस्वती तिमीलाई प्रणाम मेरो छ है
जाग जाग तिम्रो पुत्रले लेख्न सुरु गर् यो है ॥२॥
लेख्छु तिम्रै भक्तिभावले म यहाँ खण्डकाव्यै पनि
हे शरणागत वत्सला नमस्कार तिमीलाई गरी ॥३॥

१। देश वर्णन
थियो अति सुरम्य देश त्यो प्रकृतिको वर्दान
प्रकृति देखाउने त्यहाँ कौशल आफ्नो महान ॥१॥
च्याँ च्याँ चुँ चुँ गरिकन पक्षी क्रीडा गर्दथे
साँढे ती अति बलवान् आपसमा भिड्दथे ॥२॥
को हो को हो भनिकन कोइली नाची खेली बस्दथ्यो
यस्तो थियो परिवेश त्यहाँ सुख स्वयम् हाँस्दथ्यो ॥३॥
सुन्दरता न्यौछावर जताततै गर्दथ्यो त्यहाँ विधाता
यस्ता नगरीविषे राज गर्थे यशस्वी राजा मान्धाता ॥४॥
नगरी त्यो थियो जगमा अति विशिष्ट कक्षको
सम्झ सम्झ वीरहरु नै त्यसको रक्षक पो ॥५॥
ठूला ठूला अट्टालिकाहरु त्यहाँ बनेका थिए
क्याबात् ती जनले त्यहाँ कमाल नै गर्दिए ॥६॥
बुर्लुक् बुर्लुक् मनोहर मृग नै उपि्रुदिन्छन्
सम्झ हे सौन्दर्य यस्तो मानौँ जादू नै हुन् ॥७॥
पहिले अति विकट त्यस्तो पहाडविषे नै
सहर यति ठूलो लौ हेर आज बन्यो है ॥८॥
हरियाली छ जताततै अनि सुन्दरताको खानी छ
सबै रैति पनि सुखी त्यहाँ कसको के हानी छ ॥९॥
बस्छन् सबजना मिलीजुली एक पूरै भएर
मिल्छन् मिल्छन् आपसमा सहनशील भएर ॥१०॥
हूँ हामी प्रजा यो हाम्रो देश
गर्नु हुँदैन कलह आपसमा विशेष ।
रक्षा गरौँ नत्र बिग्रेला स्वदेश
मिलेर नै बचाऔँ यो देश ॥११॥
भन्ने विचार लिएका
स्वदेशका लागि भनेर खिएका ।
थिए अत्यन्त दुर्धर्ष वीर सिपालु
युद्धका लागि अति नै पिपासु ॥१२॥
रण गर्न सधैँ जमजमाउने
रणैसँग ती रमाउने ।
थिए विचित्र मान्धाताका रैती
न्यायमा थिएन मावली र माइती ॥१३॥
प्रकृतिको वरदान सुरम्य ठाउँ
यसको जोडा जगमा कहाँ पाऊँ ।
सबै जन सधैँ स्वच्छ रहनाले
रोग भाग्यो तिनलाई देखनाले ॥१४॥
सधैँ विजेता विजेता सधैँ नै
कल्पन्थे जितूँ हामीले सधैँ नै ।
राजतन्त्र भक्ति रहेछ साह्रो
विरत गराउनु असाध्य गाह्रो ॥१५॥
धर्म यही हो पालक राजाको
नभन्नु कबै आफ्नो र अर्को ।
बज्रतुल्य थियो मान्धाताको काया
अहो प्रजामा बराबरी माया ॥१६॥
छिमेकी राजा डाहले मर्दथे
शत्रुहरु चाहिँ आँखा तर्दथे ॥१७॥
जनता थिए निष्फिक्री सुखी
रहेन कोही देशभर दुःखी ॥१८॥

२। युद्धको घोषणा
मान्धाताको राज देखी सिक्नु पर्ने थियो
सुखी लोक पार्ने क्यारी बुझ्नु पर्ने थियो ॥१९॥
तर शत्रु पल्टिएछन् आहि्रस गर्दा गर्दै
मान्धातालाई सिध्याउने मतो हेर्दाहेर्दै ॥२०॥
मिलेछन् हरुवा शत्रुहरु जति
सेना असङ्ख्य कति हुन् कति ॥२१॥
लडाइँ गर्ने मन बनाएछन्
सबै मिली मान्धातालाई खबर पठाएछन् ॥२१॥
कि गर युद्ध अब हामीसँग
गुलामी नत्र कहाँ रसरङ्ग ॥२२॥
राजा मान्धाता अचम्मित भए
सल्लाह गर्नलाई सभा नै बोलाए ॥२३॥
लौ है रिपूले हाँक आज दिए
दाँजेर हेर्दा सेना बढी देखिए ॥२४॥
युद्ध गरने कि अहिले नगरम्
सम्झेर बसम् समय बलवान् ॥२५॥
अरुको गुलामी स्वीकारी बसौँ वा
आजाद रहन पटुकी कसौँ हँ ॥२६॥
कसो गर्ने आज यही सोध्न भनेर
बोलाइरहेछु रिपूमर्दन गनेर ॥२७॥
मन्त्री मान्धाताका थिए उज्ज्वल
वीरताले साँच्चै भएका प्रज्ज्वल ॥२८॥
तरबार तिनले लिन्थे साथैमा
ढोग्थे भक्तिले राखी माथैमा ॥२९॥
हे सभासद् जन उठे ती उज्ज्वल
के भन्न लागे सबै सुन्न तत्पर ॥३०॥
हामी हौँ क्षत्रीय लत्रनु पाप हो
जब गर्छौँ युद्ध अगाडि टिक्ला को ॥३१॥
युद्धम् युद्धम् उठे वीरहरु
युद्ध नै सदर जान्दैनौँ अरु ॥३२॥
अकेला हामी भएुनि हौँ बरु
युद्धै गरेर जित्नेछौँ हजुर ॥३३॥
विजयको पताका फहराइकन
आऊँला फर्केर मान्धाताजन ॥३४॥
उठे अनि त जङ्गध्वज त्यहाँ
रिपूमर्दन हुन्छु अब समरमहाँ ॥३५॥
तोपची पनि मै हुन्छु हेर
उडाउँछु शत्रु नगरी देर ॥३६॥
गोली नै गोलीले भूमिलाई छोपौँला
देशकै निम्ति मरौँला मारौँला ॥३७॥
सामान्यजन झैँ शूर वीर हुँदैन
सुन सुन भाइ हो कालले छुँदैन ॥३८॥
तसर्थ हामीले डराउनु ठीक छैन
डराई भाग्नु वीर कर्म हैन ॥३९॥
युद्धको पीडा मान्धाता बुझ्छन्
त्यसैले उपाय केही छ कि गुन्छन् ॥४०॥
आफ्ना सूतसरिका प्रजालाई
भन्छन् ती महाराज आई ।
शिव हरे शिव सैन्य पराइका
अति नै छन् ती बलिया ॥४१॥
रैछन् संख्यामा अगणित ती
ठम्याउन पनि मुस्किल अति ।
हामी छौँ थोरै हे वीर
हुनु पर्ला असाध्य धीर ॥४२॥
हामी छौँ जम्मा आठओटै हजार
उनीहरुलाई हेर्दा बजारै बजार ॥४३॥
बलियाहरुसँग जोरी खोजेर
ठीक छैन कि काललाई रोजेर ॥४४॥
जङ्ग -
हुँदैन बस्नु हामी कातर बनेर
गिराउँला रिपूहरु एक एक गनेर ॥४५॥
थोरै हुँदैमा हार हाम्रो हुँदैन
हजुरको प्रताप इन्द्रले आँक्दैन ॥४६॥
अर्जुन एक्लै कौरब हराए
गाईहरु विराटका झट्टै फर्काए ॥४७॥
पछि हटेर अब हुँदै हुँदैन
लखेट्नै पर्छ छाड्न मिल्दैन ॥४८॥
ती आए हामी मिल्न तयार छौँ
हाम्ले भनेकै हौँ वसुधैव कुटुम्बकम् ॥४९॥
सर्वे भवन्तु सुखिनः हामी भन्दै थियौँ
आज आइकन हामीले यो धोका पायौँ ॥५०॥
जाऊँ अब युद्ध गरौँ गर्नै पर्छ युद्ध
आज यस्तो बेलामा बन्ने हैन बुद्ध ॥५१॥
बुद्धले दिएको त फगत् व्यक्ति धर्म
मिल्दैन त्यो जब आउँछ राजधर्म ॥५२॥
समर भूमिमा सकल शत्रुलाई
तोपले मारुँला ती षठहरुलाई ॥५३॥
आगोको लप्का बनी जानु पर्छ
यो मौकालाई कहाँ फाल्नु हुन्छ ॥५४॥
खेर यो मौका यदि गयो भने
गुलाम् भयो देश् यति कुरा जाने ॥५५॥
नबुझी शान्तिको कुरा नभनौँ
तयारी नगरी बेला खेर नफालौँ ॥५६॥
युद्धको विचार अहिले नत्यागौँ
बित्थामा पिर्ने षठलाई नछाडौँ ॥५७॥
विचार आफ्ना सभासद् राख्दैथे
राजा मान्धाता सोचिरहेथे ॥५८॥
तातो रगत यो सभासद्हरुको
सम्झेका छन् के सोच जनहरुको ॥५९॥
लड्ने त लड्छौँ जित्छौँ वा मर्छौँ
पीडा खप्न नारी शिशुलाई छाड्छौँ ॥६०॥
युद्धले दिने पीडाको त्यो भारी
वास्तै नगर्न सक्छु म कसरी ॥६१॥
सक्दिनँ भनी यत्तिकै छोडौँ कि
लडेर सधैँ स्वाधीनै रहूँ कि ॥६२॥
आठै हजारलाई आगोमा होमौँ त
कसो गरेमा राष्ट्रहित हुनेछ ॥६३॥
घाँटी हेरिकन निल्नु पर्ने हाड
कुइनाले कसरी फोरौँला पहाड ॥६४॥
छिमेकी सबै कसरी मिलेका
हामीलाई मास्न मिले झैँ गरेका ॥६५॥
शत्रुले साह्रै हेपेको देखियो
उज्ज्वलको छाती चरक्क फाटियो ॥६६॥
युद्धै ठीक छ उनी भन्न थाले
हो युद्ध ठीक हो सम्मति सभाले ॥६७॥
युद्धै गर्ने पत्र शत्रुलाई पठाई
कुरा गर्न लागे तयारीलाई ॥६८॥
लेऊ नाम सबै प्रभुजी रामको
अब बाँडफाँड हुनेछ कामको ॥६९॥

३। जना-जङ्ग संवाद
जङ्गध्वजकी पत्नी जना नाम गरेकी
वीर अति नै साक्षात् क्षत्राणी ॥७०॥
जना क्षत्राणी आइन् खुशी भएर
क्षात्रधर्म निर्वाह बेला यो बुझेर ॥७१॥
हर हर महादेव ध्वनि सुनियो
शङ्खघोष पनि चारैतिर गुिाजयो ॥७२॥

जना -
हे मेरा पि्रय हे मेरा नाथ समरमा लड्नु होस्
समरविषे हे मेरा पति सदैव डट्नु होस् ॥७३॥
म पनि जान्छु समरमा हजुर्का साथमा
फर्की आऊँला टेकिकन शत्रुका माथमा ॥७४॥
देशलाई पर्दा नर र नारी अगाडि बढ्ने हो
साथै साथमा दुवैजना जिन्दगी जिउने हो ॥७५॥

जङ्ग -
हे मेरी पि्रया हे मेरी प्राण खुशी म अति छु
स्वधर्म खातिर मरेर पनि खुशी नै रहन्छु ॥७६॥
क्षात्रमूर्ति जना तिमी क्षत्राणी तारा हौ
वीरत्वले गर्दा तिमी धपक्क बल्दछ्यौ ॥७७॥
चन्द्रमा नाथे तिम्रो अघि मलीन देखिन्छ
आकाशको तारा पनि लाजले छेकिन्छ ॥७८॥
तिमीलाई देखी शचीपति पनि इखिन्छ
पाएर तिमी यो मन मेरो अति नै सुखी छ ॥७९॥
हे प्यारी जना समरमा काल् बनी नाचौँला
एक् मुठी प्राण रहेसम्म मजाले हाँसौँला ॥८०॥
म जान्छु जना समरमा घरमै बसनू
घरमै रही तिमीले जना सबै थोक मिलाउनू ॥८१॥
हे क्षात्रमूर्ति हे मेरी प्राण छोरालाई बढाऊ
यो मेरो रत्न नरध्वजलाई वीर है बनाऊ ॥८२॥

जना -
क्षत्राणी हूँ म तयार हुन्छु सधैँ लड्नलाई
कायर बन्नु ठीक छैन नछाड्नोस् मलाई ॥८३॥
आमा बाबु छोरा मिली लडाइँ गरेर
पताका फहराऊँला समर जितेर ॥८४॥
हुन्न है प्यारा मलाई यहाँ अकेली छोडन
निठुरी नहोऊ हे मेरा सुहाग यता त हेर न ॥८५॥
देशको निम्ति गइरहेछौ कसरी छोडूँ म
नरले मात्र गरेर हुन्न कसरी बुझाऊँ म ॥८६॥
मरेदेखि सबैजना मरेर जाने हो
नमरेदेखि शत्रु मारी फर्केर आउने हो ॥८७॥
म पनि आफ्नो अस्तित्व लागि मार्नेछु मर्नेछु
ती दुष्ट वैरी जनलाई सत्यानाश पार्नेछु ॥८८॥
नछाडी लानुस् बिन्ती हजुर जीवनसाथीको
किन छोड्ने पि्रयतम न पङ्गु न त छु भारी पो ॥८९॥

जङ्ग -
हे मेरी जीवन प्राणपि्रया त्यसो नभन
मेरो कुरा सुन त सुन एकै छिन् सुन न ॥९०॥
सुकोमल स्वाभाविक छौ नारी नै भएर
विकराल हुन्छ युद्ध के गछ्र्यौ गएर ॥९१॥

जना -
म नारी रणमा हुन्छु चामुण्डा
नसम्झनू सुकोमल मात्र यो छ ।
मेरो पीर लिई बस्नु महाभूल हो
नलिई पीर बस्ने चाहिँ मान्छे ठूलो हो ॥९२॥
रणमा गई हे मेरा पति कमाल गरुँला
बित्थैमा जोरी खोज्ने तिन्लाई छपक्कै मारुँला ॥९३॥
देशको लागि बलिदान हुनु असाध्य राम्रो हो
अर्काको दास बाँच्नु परे जीवन् के कामको ॥९४॥

जङ्ग -
खुशी छु खुशी धेरै खुशी कुरा त्यो सुनेर
ठीकै पो हो कि जस्तै लाग्छ मनमा गुनेर ॥९५॥
हिँड त हिँड क्याम्पमा जाऊँ लडाइँ है गर्नलाई
निश्चिन्त हुन्छु म पनि त देखेर पि्रयालाई ॥९६॥
युद्धै हो परित्राण सकल जगत्को ।
युद्धै हो कल्पतरु अन्यायीविरुद्धको ॥९७॥
खोइ पुत्र नर कहाँ छ छिटो बोलाऊ
अब देरी नगरिकन यात्रा जगाऊँ ॥९८॥
मिल्यो मतो सबैजना युद्धक्षेत्र गए
त्यहाँ निर्मित दुर्गमा खुश मनले पसे ॥९९॥
उज्ज्वल मन्त्री खुशी धेरै भए
क्षात्र जनालाई धन्यवाद दिए ॥१००॥
आए क्षत्राणी धेर जनालाई देखेर
सकिन्न महिमा उनको लेखेर ॥१०१॥

४। युद्ध-दुर्ग
त्यो दुर्ग थियो विकट ठाउँमा ढुङ्गा र मुढाको
मानौँ थियो अनुभवी लात र मुक्काको ॥१०२॥
ढोकैमा राखिएको तोप थियो है
तोप लिई जाग्रत् भई जङ्ग बस्थे नै ॥१०३॥
अग्लो न अग्लो पहाड्को थाप्लो चढ्नलाई गाह्रो छ
लौ है हेर रिपूले तिन्लाई जित्न गाह्रो छ ॥१०४॥
उज्ज्वल थिए दुर्गका नेता भएका
देखिन्थे तिनी तलतिर आँखा लाएका ॥१०५॥
कति बेला शत्रु आउला सचेत ती थिए
गोलीगट्ठा तयार पार्ने आदेश तिन्ले दिए ॥१०६॥
मन्त्री हूँ म भन्ने अभिमान् तिनमा थिएन
सुनमा सुगन्ध प्रभुले डर तिनलाई दिएन ॥१०७॥
निशाना अचूक अर्जुनको जस्तो
रणमा देखिन्थे पट्ठो काल जस्तो ॥१०८॥
वरीपरी ढुङ्गाखानी शत्रुलाई बसा्रउन
नजिकै थिए मुढा तिनलाई तसा्रउन ॥१०९॥
दुर्ग बनाऊ काम तामेल् हुँदै जाँदो थियो
तलै बस्ने रिपूको त सातो जाँदै थियो ॥११०॥
त्यो शिखर उत्तुङ्ग कस्तो हो कस्तो
हेर्दाखेरिमा टोपी खसिहाल्ला जस्तो ॥१११॥
खोपेर चढे त्यहाँ मान्धाताका जन
शत्रु त पक्कै नसक्लान् नि चढ्न ॥११२॥
गाई गोरु जान पनि अति कठिन
चिल नै पनि भन्छ मैले सकिनँ ॥११३॥
माथिबाट ढुङ्गा र तोप बसा्रउन मिल्ने
तलका गोली त डाँडैले निल्ने ॥११४॥
मानौँ त्यो दुर्ग विश्वकर्मा आई
बनाएर फर्के छन् कि हँ भाइ ॥११५॥

५। युद्ध
मान्धाता जय जय सेनानी कराउँथे
शङ्खघोष सुनेर िसंहराज डराउँथे ॥११६॥
सम्पूर्ण सेनानी लडौँला रहेका
युद्धको मातले मत्त भएका ॥११७॥
घोषणा बिना नै रिपू त्यहाँ आयो
दुर्गमा ताकेर गोली उस्ले दाग्यो ॥११८॥
उज्ज्वलले तत्काल दुर्गलाई बनाए
सेना छन् कति भनेर गनाए ॥११९॥
बेला सम्झेर सकल रिपू बढे
शत्रु कमाण्डर वीर जीत गर्जे ॥१२०॥
नाम नन्दन रिसाहा थिए
जित्ने हो भनी समर मन दिए ॥१२१॥
जङ्गले नरलाई नजिक बोलाए
ढुङ्गा छाडेर पितानेर आए ॥१२२॥
यहाँ छ भनी नर भनिदिन्थे
जङ्ग अड्कल्ले शत्रु मारिदिन्थे ॥१२३॥
भकाभक मरे रिपू सैन्यतिर
नन्दनचाहिँ मान्न लागे पीर ॥१२४॥
उनले नरलाई देखेर हेर
रिपूपट्टि हाहाकार पर्न लाग्यो धेर ॥१२५॥
चलाक थियो ऊ नरलाई मार् यो
नरलाई मारेर पाइला अघि सार् यो ॥१२६॥
जित्छु भनेर साहस लिएको
उज्ज्वल चपाऊँ लालसा भएको ॥१२७॥
पुत्रै मर्दा पनि पीर कत्ति नमानी
शत्रुलाई मार्ने ती वीर अभिमानी ॥१२८॥
क्षात्रमूर्ति जनालाई उनले बोलाए
छोराको काम उनलाई थमाए ॥१२९॥
जना आएर काम सम्हालिन्
युद्धको कर्तव्य शोक बिसर्िइन् ॥१३०॥
जङ्गचाहिँ फटाफट् शत्रु मार्न थाले
उनले दाग्दा नन्दन ढलिहाले ॥१३१॥
शत्रुमा त्रासको लहर् चलिहाल्यो
तर एउटा गोलीले जङ्गलाई लाग्यो ॥१३२॥
जना आफै गएर तोप चलाई
रिपू चपाइन् साक्षात् काली भई ॥१३३॥
देशमा शत्रु देख्दा रिसले बलेकी
गोलीका पीडा पनि सहेर बसेकी ॥१३४॥
रणचण्डी लाग्थिन् ती देशलाई बचाउने
काली हुन् कि कसो हो सबैलाई हराउने ॥१३५॥
रक्तले गर्दा सूर्यझैँ तेजस्विनी भएकी
रिसले कालीसमान् हुर्हुरी बलेकी ॥१३६॥
क्षात्रमूर्ति तिनी थिइन् दुर्गासरी साह्रै कडा
सुदर्शन चक्र लिई मानौँ विष्णु छन् कि खडा ॥१३७॥
दाह्रा किटी किटी रिपू खग्रास नै पारने
राष्ट्रमुक्ति हुन्छ भनी सहसा युद्ध रोजने ॥१३८॥
अद्भूत प्राणी तिनी थिइन् साक्षात् क्षत्राणीसूता
तोप निरन्तर चलाउने गर्ने हैन यताउता ॥१३९॥
चामुण्डा तिनी चण्ड मुण्ड पनि मारने
देवी जगज्जननी मानौँ संसार नै धरने ॥१४०॥
रिसले गर्दा कत्ति संयमित नभएकी
तोपप्रहार बाहेक ध्यान अरु नदिएकी ॥१४१॥
एक्ली आइमाई तोप ती चलाउँछिन्
आवाजैले दागेर यमपुरी पुर् याउँछिन् ॥१४२॥
उनकै पक्षको एक वीर सैनिकले देख्यो
पालो दिनलाई भनी त्यो वीर अघि सर् यो ॥१४३॥
दिदी दिनुस् भनीकन तोप थामी लियो
तपाईँ देखाउनुस् म मारुँला भनी भन्यो ॥१४४॥
जना शत्रु कता छ उसलाई बताउँथिन्
रिपूको पतन हुँदा उनी धेर रमाउँथिन् ॥१४५॥
यस्तै रितले युद्ध चलिरहेको थियो
एक दिन आई गोली उनलाईुनि लागिदियो ॥१४६॥
ती वीर जना भूइँमा घुप्लुक्क लडेकी थिइन्
हर हर महादेव महाघोष गरेकी थिइन् ॥१४७॥
स्वामी र पुत्रका शव नजिकै रहेका थिए
परिवारै बलिदानी इतिहास रचेका थिए ॥१४८॥

६। परमपद
जनाको देहावसान पहिले त अपि्रय भयो
मित्र अनि शत्रुतिर सबको मन नै रोयो ॥१४९॥
सूर्य बादल रोए त्यस्तै चन्द्र पनि रुन लागे
थाहा पाउने सब जनका आँखाबाट आँसू झरे ॥१५०॥
आकाश पीडाले होला साह्रै कालो भइगयो
खोला पनि उत्तिखेरै नरमाइलो रोइरह्यो ॥१५१॥
फेरि विचार सबको मनमा यस्तो आयो
जनाको त जीवन यो अति सार्थक पो भयो ॥१५२॥
उनको वीरताप्रति नतमस्तक सब भए
गुिाजयो जगतभरि जनाको नै जय जय ॥१५३॥
क्षात्रमूर्ति जना
खण्डकाव्य समाप्त


NB:
(1)

Nirmal's second short-epic
Veerangana Shooraprabha has been already posted in this site.
See below: August 25, 2008.


(2)
Nirmal's first short-epic Tokaha has been already posted in this site.
See below: May 6, 2008.