Sunday, January 4, 2009

कस्तो होला प्रेम-रोग भन्ने गर्थें पैले (मिति २०५४-८-७ मा रचिएको)

कस्तो होला प्रेम-रोग भन्ने गर्थें पैले
आफैलाई संझाउने कोही पाइनँ ऐले

कस्ता होलान् बेकारमा माया गर्छन् भन्थें
पर्खि बस्ने भइएछ आउँछिन् उनी कहिले

व्याख्या गर्न अघि अघि नसरेको कहाँ हो र
धत् कस्तो यत्ति मेसो पाएनछु मैले

कस्तो होला प्रेम-रोग भन्ने गर्थें पैले
भर्खरै पो थाहा लाग्यो प्रेम मागें मैले ॥
(२०५४-८-७, रातको पौने बाह्र बजे)

Saturday, January 3, 2009

मधुयाम जिन्दगीमा आजै आए जस्तो (मिित २०५४-८-१५ मा रचिएको)

मधुयाम जिन्दगीमा आजै आए जस्तो
कोइलीले तिम्रै हाम्रै गीत गाए जस्तो

बहारले हाम्रै निम्ति सजाएको जस्तो
लज्जावती हामीसँगै लजाएको जस्तो

नदीहरु हाम्रै सूरमा सुसाएको जस्तो
झरनाले हाम्रो प्रीत रुचाएको जस्तो

तिम्रो साथ हुँदा सब थोक पाए जस्तो
सपनीमा विपनीमा माया लाए जस्तो

धर्तीबाट धेरै पर स्वर्ग आए जस्तो
मधुयाम जिन्दगीमा आजै आए जस्तो ॥

(२०५४-८-१५, आइतवार, रातको दश बजे)

Thursday, January 1, 2009

फॆरि फर्की आएँ हजुर (२०५५ साल चैत १२ गते रचिएको)

हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर

हजुरभन्दा परपनि संसार होला भन्ठानेको
हृदयले नमाने'सि फेरि फर्की आएँ हजुर
हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर

कहाँ कहाँ पुगिएला भन्ने सोच व्यर्थ भयो
स्वप्नहरु उडी ग'सि फेरि फर्की आएँ हजुर
हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर

हजुरको स्नेहले मत्याएको रै'छ मलाई
यस्तो कुरा चाल पा'सि फेरि फर्की आएँ हजुर
हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर

संसाँझैमा फर्किनेलाई बाटो भुल्या भन्दैनन् रे
स्वीकार ल फर्की आ'सि फेरि फर्की आएँ हजुर
हजुरलाई छोडी जाँदा धेरै गोता पाएँ हजुर
अलिबेर हराए'नि फॆरि फर्की आएँ हजुर
(२०५५।१२।६)

Monday, December 29, 2008

मेरो काव्य सुन्दर बन्छ जब तिमी हुन्छ्यौ (२०५४ सालमा रचिएको गीतिभाव)

मेरो काव्य सुन्दर बन्छ जब तिमी हुन्छ्यौ
मेरोलागि त्यै स्वर्ग हो जहाँ तिमी हुन्छ्यौ

अधूरो हो त्यो सपना जहाँ तिमी हुन्नौ
अपूरो हो त्यो विपना जहाँ तिमी हुन्नौ

सुख तिम्रो मुस्कान हो मिठो तिम्रो अधर
जादू टुना अरु के छ बिना तिम्रो नजर

नशा जाबो केही हैन तिम्रो प्रेम सामु
मौरी तुल्य अस्थिर् मन्को तिमीनै हौ रानू

आगो छ्या के पोलोस् जस्तो तिम्रो बिछोड्
नून् चूक् घाउमा सह्य हुन्छ हुन्न तिम्रो बिछोड् ॥
(२०५४-८-८, रातको एघार बजे)

Wednesday, December 17, 2008

को होला र म जत्तिको सुखी यो संसारैमा (मिति २०५४।८।२३ मा रचित गीति-प्रणय-भाव)

को होला र म जत्तिको सुखी यो संसारैमा
तिमीलेनै बनाइदियौ आनन्दी यो संसारैमा

निवेदन प्रणयको तिम्रो मैले पाएँ
आज त झलमल्ल देख्छु यो संसारैमा

मनमनै रोजेपनि भन्न चािहं नसकेको
तिमीलेनै भनिदिँदा खुशी यो संसारैमा

आिलंगनमा तिमी हुँदा चुम्दै तिम्रो अधर्
जय होस् भन्छु म त मायाको यो संसारैमा ॥

(रचना मिति : २०५४।८।२३)

Wednesday, December 10, 2008

जीवन यो (आयोदधौम्यद्वारा विक्रम संवत २०४७ मा रचित कविता)

जीवन यो (कविता)

सम्झेजस्तो हुन्न जीवन
देखे जस्तो हुन्न जीवन
- एक गीतको टुक्रा

जीवन कस्तो छ
यसलाई भोगेर हेर
यसलाई जोखेर हेर
यो तिमीले हेरेजस्तो बोलेजस्तो पटक्कै छैन
जीवन सुस्वादु छैन
चाखेर हेर राखेर हेर
यो त काँचो केराजस्तो टर्रो छ
सुन्तलाजस्तै रसिलो र पोटिलो छैन पटक्कै
जीवन पहरा हो
यो सजिलै फोरिइन्न
नपत्याए कुहिनाले फोर औंलाले कोर
यो त हिराजस्तै कठोर छ
(रचना मिित : २०४७।९।२१)

Wednesday, November 26, 2008

बुझ र फर्क - वि.सं. २०४९ मा राष्ट्रिय वातावरण कविता प्रतियोगितामा प्रथम पुरस्कार पाउन सफल कविता

कविता
बुझ र फर्क
कवि - आयोदधौम्य (निर्मलमणि अधिकारी)

उजाड बनेको छ पृथ्वी
नीरस र फूङ्ग नेपाल -
कतै नदीमा बगरै-बगर टल्कने त होइन,
मानिसहरुको जीजीविषा धप्धप् बलेर
खरानी त हुन्न हाम्रो संसार !
ए मान्छे हो,
रोक आफैंलाई डढाउन खोज्ने हातहरु,
पछि फर्काऊ विष कुण्डतिर बढेका
तिम्रा ती खुट्टाहरु;
रुखसँग आत्मियता राखेर हेर,
यसका रत्याउने गीतका तालमा नाच त,
त्यसपछि तिम्रा हातहरु
ममतामयी नारीलेझैं
रुखलाई संरक्षण गर्न प्रयोग गर,
भविष्यमाथि बन्चरो नहान,
बुझ र फर्क -
हरित नेपालतर्फ ।
वि.सं. २०४९ मा राष्ट्रिय वातावरण कविता प्रतियोगितामा प्रथम पुरस्कार पाउन सफल यो कविता ऋचा, २०४९ कार्तिकमा प्रकाशित छ ।

Saturday, November 15, 2008

व्यथा (कविता)

कविता
व्यथा
बोलुँ -
बोलिपासो,
नबोलुँ -
नबोलिपासो;
जब म चूप हुन्छु
चिच्याउँछौं तिमीहरु
कि योसँग वाणी नै छैन
र जब म बोल्न थाल्छु
टाउको दुख्न थाल्छ तिमीहरुको
कि यो साह्रै बोल्यो
-यो हामी भन्दापनि बढि बोल्यो;
बोलुँ -
बोलिपासो
नबोलुँ -
नबोलिपासो ।
रचना मिति - २०५३।१२।७ बिहीबार, रातको ठीक पौनेबाह्र बजे ।
स्पीकर्स कर्नरमा प्रकाशित

Monday, November 10, 2008

छाङ्ग पिपलटार, मेरो पिपलटार

निबन्ध
छाङ्ग पिपलटार, मेरो पिपलटार
१६।१०।२०४८
छाङ्ग पिपलटार, मेरो पिपलटार, मेरो जन्मथलो, मेरो प्यारो गाउँ ।
कतिले नाम पनि नसुनेका होलान् र देख्ने चिन्ने जान्नेको संख्या झन् कति पो होला ! मान्छेहरुका दृष्टिमा यसको विशिष्टता केही नहुन पनि सक्छ; किनकि संसारका लाखौं गाउँहरुभन्दा पृथक् कुनै खासकुरा यहाँ उनीहरुले नदेखेका हुनसक्छन् । कुरा स्पष्टै छ - यहाँ भगवान् श्रीकृष्ण अवतरित हुनुभएन त्यसैले त यो व्रजभूमि भएन । यहाँ भगवान् श्रीराम अवतरित हुनुभएन त्यसैले यो साकेत मानिएन । अँ, यो पेरिस होइन जहाँ मोनालिसाको मृदु मुस्कानमा मदहोस भएकाहरुले इफेल टावरको गर्व बोकून् । न त यो सदा वसन्त-बहारमा झुम्ने क्वेटा नै हो । यो सँग मोहनजदडो र हरप्पाको जस्तो यश-आर्जन पनि मान्छेले नदेख्लान् । मिश्रको पिरामिडमा आफ्नो प्रतिकृति चियाउने रहर पनि मेरो पिपलटारले लिएन । पिपलटारले सिकन्दर जन्माएर विजयी हुनुको अनुभूतिमा रम्न पाएन । सुकरात अरस्तु प्लेटो नजन्मेको मेरो गाउँ; फ्रायड नित्से माक्स्र नहुर्केको मेरो गाउँ; तर नजिकै दमौलीमा जन्मेका वेदव्यासलाई हाम्रै छिमेकी त हुन् नि भनेर सन्तुष्ट छ यो । भानुभक्तले रामायणको अरण्यकाण्ड रच्दैगर्दा यही बाटो गुन्गुनाउँदै िहंडेको सम्झेर मख्ख छ । शिवभूमि हुन पाएकैमा सन्तुष्ट छ मेरो पिपलटार । मान्छेहरुले थाहा पाउन नचाहेर पो त नत्र पिपलटारको आफ्नै गौरवमय अतीत नभएको कहाँ हो र !
कुनैबेला कश्यप गोत्रीय मेघ ऋषिको नामबाट यो चिनिन्थ्यो जब यहाँ मेघह्रद मेघदह थियो । शायद गजेन्द्रमोक्ष यहीँ भएथ्यो । वासुकी अनन्त कुलीर कर्कट आदिइत्यादि नामका नागराजहरु यहाँ विहार गर्दाहुन् । छेउछाउतिर अनेक भँयर झाँक्रीका थान हुँदाहुन् । थुम्काथुम्कीमा देवी-देवता बास बस्दाहुन् । अनि मेघदहको नीलो गहिराइभित्र के देखेर हो कुन्नि डुल्दै त्यहाँ आइपुगेका कश्यप गोत्रीय ऋषिवर छागलले त्यस दहको पानीलाई पश्चिमतर्फ निकास दिएछन् इन्द्रसँग वज्र मागेर । जब दहको पानी पश्चिमतर्फबाट बग्दैगयो तब मलिलो जमीन भएको फाँट अर्थात् आजको ुम्याग्देफाँटु जन्म्यो । मेघनद आजको म्याग्देखोला ऋषिद्वय मेघ र छागलको गाथा गाउँदै दौडन थाल्यो र आजपनि हाम्रा पौरखी पुर्खाको कीर्ति सुनाउँदै बगिरहेकै छ म्याग्देखोलो - पिपलटारकै छेउबाट । सारा म्याग्देफाँटका प्राणीको जीवनाधारका रुपमा मेघनद हिजो पनि थियो र आजपनि छ । त्यसो त यदाकदा क्रोधित भएर गडगडाउन पनि यसले जानेको छ र त्यस्तोबेलामा धुरुक्क रुवाउँछ यसले । जे होस् म्याग्देले हामीलाई बताइरहेको छ पिपलटारको गौरवमय अतीत । यहाँ भगवान् शिव रम्नु भयो भैरव दगुरे नन्दी-भृंगीहरु खुशीले उफ्रे । सृष्टिकालमा शक्ति र शक्तिमान्को प्रणयलीला यहाँ चल्योहोला । यही म्याग्देका सुसेलीमा लयबद्ध भइरहेका होलान् कति कथा-कुथुंग्रीहरु ।
पिपलटार वास्तवमा समाधिस्थ ऋषिझैं छ स्थितप्रज्ञ । चंगेजको दिग्विजयमा यो निर्विकार रह्यो; तैमुरले भारत तहसनहस पार्दा मेसो पाएनछ; सिकन्दरको उदय र अवशानमा यसले केही प्रतिकि्रया जनाएन । झाँसीकी रानीको शौर्यलाई उतिबेला चिन्न नपाएको बलबाहु चीन जाँदा कोसेली पठाउने मेसो नपाएको चाणक्यको संगत गर्ने अवसर गुमेको - यी कुराहरुप्रति पछुतो छ वा छैन मेरो पिपलटारलाई शंकराचार्य र बुद्धलाई भने चिनेको छ अरे मेरो पिपलटारले । अल्लि पहिले पृथ्वीनारायणको महान् एकीकरण अभियानका बेलामा उनको साथ दिन चाहिँ जागेको थियो; तापनि अधिकांशतः मेरो पिपलटार मूक र ध्यानस्थ रह्यो पद्मासनमानै रमायो ।
अट्टिला जसले हरेक राज्य विजयसँगै एउटा बिहे गर् यो र त्यस्ता बिहेको संख्या चारसय पुगेको थियो उसकोलागि डेन्युबको किनारा जति महत्वपूर्ण थियो; त्योभन्दा महत्वपूर्ण लाग्छ म्याग्देखोलाको किनारा । यहाँ क्षेयास्र जन्मेन यहाँ हरक्युलिस जन्मेन यहाँ शेक्सपियर जन्मेन यहाँ हिटलर जन्मेन । यसको कुनै इतिहासको पानामा नाम नभेटिएला; कुनै धर्मग्रन्थमा यसको महात्म्य नपाइएला - तर दुःखमनाउ छैन । यसको पत्रे चट्टान मुन्तिर उधिन्ने होभने सृष्टिकै कथा छोपिएका हुन के बेर ! पिपलटारको थोरै तर साह्रै उब्जाउ जमीनकालागि कति भुरे-टाकुरे राजा-रजौटाको रगत बह्यो होला । यसको यथार्थ पुस्तकहरुमा खोज्ने होइन हाम्रै म्याग्देलाई सोध्नुपर्छ ।
कुनैबेला औल लाग्छ भनेर गोठमात्रै पनि राखिएछ पिपलटारमा । दिउँसै बाघका गर्जन र मृगशावकका उछलकूद ! देउताले गर्थे रे रखवाली । बाटेकुवामा बाघका डमरु र मृगशावक सँगसँगै पानी पिउँथे रे । कालक्रमसँगै पिपलटारको मोहनी बढ्यो । मान्छेहरुले गोठका ठाउँमा घर बनाए । पत्रे चट्टानलाई बमको विष्फोटले उडाएर मलिला गरामाथि समेत गिटी ओच्छ्याइयो । त्यतिखेर नयाँ जीवनप्रतिको आशाले सबै चोटलाई उफ् सम्म पनि नभनी सह्यो मेरो पिपलटारले । तर म्याग्देखोलाको दुःखमाथि दुःख थपियो । बमको पड्काइले तसर्िएर कहालियो ऊ । आफूमाथि पुल अनि ठाउँ-कुठाउँमा तटबन्धले उँध्मुन्टियो बाँधियो । तर वास्ता गर्ने ध्याउन्नामा थिएन पिपलटार । आधुनिक हुनुमा मजा आएको थियो यसलाई त । परिवर्तनलाई कौतुकतापूर्वक अवलोकन गर्नु र सकेजति अपनाउनु यसैमा रमायो पिपलटार ।
जब म जन्में मेरो प्रथम भेट पिपलटारको माटोसँग भयो । त्यसदिन यहाँको हावाले मेरा फोक्साहरु भरिए । म्याग्देखोलाको पानीले मलाई धोइएको थियो । यहीँको माटोमा उब्जेको अन्नबाट म पोषित भएँ । पिपलटारको काखमा म्याग्देखोलाको ुलोरीुसँगै मैले जीवनगीत गाएँ । मेघ र छागलजस्ता महान् पुर्खाको गाथा म्याग्देको सुसेलीमा सुनेको हुँ मैले । हिजो जब यो आफ्नो यौवनमा थियो त्यसबेला म यसमा पौडी खेल्थें तर आज जब म यौवनमा छु ऊ मसँग केही फर्मायस गरिरहेको छैन । जबकि अधिकार हो उसको ।
मेरो जन्मभूमि पिपलटार कुनैपनि महानगरीभन्दा कम छैन मेरालागि । मेरी आमा र मेरा पिताजीको वात्सल्यसँगै पिपलटार पनि कदापि नमेटिने गरी मसँगसँगै छ । मेरो हृदयको पिपलटार वर्णन गरुँ भनेपनि शब्द पुग्दैन । नाइलको लम्बाइ र अमेजनको चौडाइ अरुहरुकालागि धेरै होला मेरोलागि त म्याग्देखोलानै सबभन्दा लामो र चौडा छ । गंगा जत्तिकै पवित्र मान्छ मेरो हृदय यसलाई । मेरोलागि मेरो पिपलटार स्वर्गभन्दापनि ठूलो छ; पैगम्बरको जन्नत र येशूखि्रष्टको प्रमोदवनभन्दा मेरो पिपलटार नै ठूलो मान्छु म त । मलाई लाग्छकि सबैथोक हो मेरो मातृभूमि । मेरो पिपलटार मेरो मुटुको प्रत्येक धड्कनमा समाहित छ ।
घटना र विचार साप्ताहिकमा वि.स. २०५७ सालमा प्रकाशित

Saturday, November 8, 2008

निर्मलमणि अधिकारी आयोदधौम्यको छैटौँ खण्डकाव्य आकाश यसरी खुल्छ

आकाश यसरी खुल्छ
निर्मलमणि अधिकारी आयोदधौम्यको छैटौँ खण्डकाव्य
लेखन मिति ः वि.सं. २०५०।०२।१८ बिहान ८ः०० बजे सुरु भई मध्याह्न १२ः३० मा समाप्त ।
This short-epic has been published already in: Aath Khandakavyaharu Ayod Dhaumyaka (An Anthology of Eight very short epics by Ayod Dhaumya), published by: Taranga Sahityik Abhiyan. यो खण्डकाव्य पनि आठ खण्डकाव्यहरु आयोदधौम्यका (तरंग साहित्यिक अभियान, वि.सं. २०६५) मा संग्रहित छ ।

विषयसूची
१। विषय प्रवेश
२। विदुलाको छट्पटी
३। विदुला संजयलाई भन्छिन्
४। विदुलाको सन्देश ः संघर्ष
५। संजयको विवशता प्रदर्शन
६। संजय आक्रोशित हुन्छन्
७। विदुलाको कूटनीति सम्बन्धी अर्ती
८। उपसंहार

मंगलाचरण
वीणा पुस्तक धारिणी अभयदाता हे श्वेत वस्त्रावृता ।
तिम्रै पाई दया मानिसहरु हुन्छन् खुशी सर्वदा ॥
वाणी स्वरुपा हजुरको गर्छन् सबले तप ।
सकूँ लेख्न काव्य यो गर्दै हजुरको जप ॥
लामो सूँढ अनि हाम्रा कल्याणकर्ता प्रभो ।
करुणा हामीमाथि ठूलो छ तिम्रो विभो ॥
देऊ शक्ति शीघ्र लेखनको भक्त काव्यको हो भनी ।
तिम्रोझैं सुयश फक्रोस् अमर हुन सकूँ अनि ॥
यो देशको पहरा जहाँ
कस्तुरी मग्मगाइरहेछ
यो देशको छहरा जहाँ
श्रीखण्ड जग्मगाइरहेछ
अनि यो देशका फाँटहरु जहाँ
नदीहरु गड्गडाइरहेछन्
र मेरो हिमालपनि देओस्
सम्बल मनको ।
यी देशका कछाड र भोटो फाटेका
मेरा दीन जनता
आधी पेट खाएर
सारंगीझैँ ख्याप्ल्याक्क परेका
मेरा विवश जनता
यी सबको आत्मा साक्षी छ
यहाँ कलम गड्गडाउने छ
खलंगामाझैँ वीरताको
शंखघोष गर्दै जाओस्
मेरो कलमले ।

१। विषय प्रवेश
सूत्रधार १ ः
कथा आज भिनंदैछ यहाँ एक वीर् नारीको
कथासँगै गाइँदैछ प्रशस्ति यहाँ वीर् नारीको ।
माया प्रेम स्नेहकी खानी सधैं नारी
परेदेखि ज्वालामुखी चट्याङ् बन्छिन् नारी ।
एकादेशको कथा हो यो
कुनै देश थियो रे
त्यो देश देश थिएन वास्तवमा
राष्ट्र थिएन त्यो ।
प्रत्येक जनताको हात
बन्दी बनेका थिए
प्रत्येक राष्ट्रवादीको मुखमा
ताल्चा मारिएको थियो
उफ्
कति दुःखदायी हुन्छ पराधीनता
दूर्भाग्य यही थियो
नियति त्यो देशको ।
यन्त्रमानव बनेर
कसैको आदेशको प्रतिक्षामा
बस्थे कतै अक्षम्य गल्ती
हुने त होइन
थाहा छैन कुन बेला
कोमाथि प्रहार पर्छ
खै के थाहा कहिले
बन्दी हुन्छन् जनता
आखिर त्यो देश
पराधिन त जो थियो ।
बारीका डल्लाहरु चिच्याईचिच्याई
स्वतन्त्रताको वकालत गर्थे
नदीका सुस्केराहरु
पीडाको गाना सुनाउँथे
प्रत्येक मनहरु चाहन्थे
ज्वालामुखी बनिदिन र
भत्काइदिन
पराधिनताको दूर्ग ।
िपंजडाको सुगा झैं भएर
विरहिणी झैं रोएर
काल बितेको थियो
पराइको गाँसमा बासमा आशमा
मुटुको प्रत्येक ढुकढुकी बन्धकी भइसकेपिछ
मस्तिष्कका प्रत्येक नशा
व्याज तिर्दैमा गइसकेपिछ
परिणाम के हुन्छ र
यहाँ त्योभन्दा अर्को ।
राजा त्यो देशको राजालाई
के राजा भन्ने
अर्काको तलब खाएर
अर्काको पराधिनता स्वीकारेर
अर्काको कदममा निहुरेर
अनि अर्काको आदेश तामेल गर्दै
बाँच्ने पनि
राजा भनिएला र
त्यसैले त राजा
राजा थिएन
दास थियो ऊ सैन्धवको
देशको प्रत्येक जनता र
प्रत्येक माटोको कण सहित ।

२। विदुलाको छट्पटी
यस खण्डकाव्यको पूर्णपाठ पछि राखिनेछ ।