Thursday, June 25, 2009

आइज निँदरी आइज … … …

कविता
आइज निँदरी आइज ………
- आयोदधौम्य

सानैमा
झोलुङ्गामा हल्लाउँदै
सूरिलो राग मेरी आमा अलाप्नुहुन्थ्यो ः
“आइज निँदरी आइज … …”
र म हाऽऽई गर्थें
आँखा मिच्थें
र निँदरी आउँथी ।
सानैमा
बुई चढाएर पिठ्युँमा
मेरी आमा चलाउनुहुन्थ्यो ढिकी; िरंगाउनुहुन्थ्यो जाँतो
भर्थे संगीत ढिकीको ढक्ल्याक् ढक्ल्याक् आवाज; जाँतोको घ्वाईंघ्वाईं आवाज
र मेरी आमाको मृदु स्वर लहरिन्थ्यो ः
“आइज निँदरी आइज … …”
र म हाऽऽई गर्थें
आँखा मिच्थें
र निँदरी आउँथी ।
सानैमा
सुम्सुम्याउँदै मलाई
परीकथा हाल्नुहुन्थ्यो मेरी आमा
जहाँ-
परीहरु हुन्थे
परीकथामा दुःखीहरुपनि हुन्थे
खलचरित्रहरु पनि त हुन्थे परीकथामा
दुःखीहरु चिच्याउँथे; गर्थे अलाप-बिलाप
खलचरित्रहरु मौका-बेमौकामा गर्थे अट्टाहास
र परीहरु आइपुग्थे अचानक -
उनीहरु दुःखीका आँसु पुछिदिन्थे
उनीहरु बदमासहरुलाई दण्ड दिन्थे
उनीहरु खुशी बाँडेर खुशी हुन्थे
र उनीहरु आकाशतिर उड्थे
उनीहरु बस्थे आकाशतिरै; रम्थे आकाशसितै<
उनीहरु आकाशभित्रैबाट आएका थिए र त
स्वयम् आकाश थिए ः
करुणाका/मायाका/दयाका/दैवी-भावनाका
र कथा सुनिरहँदा
म हाऽऽई गर्थें
आँखा मिच्थें
र निँदरी आउँथी ।
मेरी आमा -
मलाई निँदरीको लोरी सुनाउँदै
नीँदपरीको पोल्टामा राख्दै
कल्पिनुहुन्थ्यो एउटा भोली ः
भालेको डाक सँगसँगै ब्युँझनेछ छोरो मेरो
र सखारै/ झिसमिसेमै शुरु गर्नेछ उडान ।

मेरी आमा -
मलाई बुई बोकी
ढिकीको उठानबैठानसँगै/ जाँतोको रिङ्गाइसँगै
सजाउनुहुन्थ्यो एउटा स्वप्न ः
उठ्नेछ छोरो मेरो
उज्यालोको गर्नेछ प्राप्ति ।
मेरी आमा -
परीकथा सुनाएर मलाई
ममा ुपरीु प्रतिस्थापित हुने स्वप्न सजाउँदै
भन्ने गर्नुहुन्थ्यो अक्सर ः
आकाशतिर उड्नेछ छोरो मेरो
आकाशतिर बस्नेछ छोरो मेरो
आकाशभित्रै रम्नेछ छोरो मेरो
आकाशभित्रै हुनेछ छोरो मेरो
र मेरो छोरो स्वयम् हुनेछ आकाश
अनि एउटा आकाश उमार्नेछ ।
मेरी आमाले कल्पेको कल्पना
मेरी आमाले सजेको सपना
मेरी आमाले रटेको रटना
अपशोच !
तर 'परी' बन्न सकिनँ म ।
हिजै पर्याप्त सुतिसकेको म
ब्यूँझनु पर्ने अघि नै
ब्यँूझाउनु पर्ने हो एउटा युगलाई
तर म आफैं
उभिएर चोकमा -
हाऽऽई गर्दैछु
आँखा मिच्दैछु
र निँदरी बोलाउँदैछु ः
आइज निँदरी आइज … … …
आइज निँदरी आइज … …

Monday, June 22, 2009

२०४७ सालमा लेखिएको कविता -------- "म मरिसक्या छैन"

म मरिसक्या छैन
छोएर हेर म मरिसकेको छैन
यी मेरा आँखाले
अझै हेर्दै छन्
नासिकाको घ्राणशक्ति
विलुप्त छैन
अनि मेरा अंगुलिहरु
अझै चलायमान् छन्
केही खोजिरहेछन्
मेरो मिथंगलमा रक्तसंचार
अझ बन्द भइसकेको छैन
म गम्दैछु
जीउनु कसरी पर्छ
त्यसैले म शव होइन
म अजर अमर र चिरन्तन छु
नित्य सनातन र पूर्ण छु
तसर्थ म मर्दिनँ
त्यसैले त म मरिसकेको छैन ।
२०४७।९।२१।७

Tuesday, June 2, 2009

आयोदधौम्यद्वारा रचित खण्डकाव्य "आकाश यसरी खुल्छ" को केही अंश

वीरता तेरो काँ गयो भन्दे कि कता पठाइस्
क्षत्रीको छोरो भएरपनि किन तँ डराइस्
छोरा ! तँ किन डराइस् ।
स्वर्गीय पति बिसे्रर बसें संजय भनेर
पतिलाई मैले जवाफ के दिउ स्वर्गमा गएर ।
कलंकी छोरो भएर आज धर्धरी रुवायो
नोकरलेपनि नमिठो वचन मैलाई सुनायो ।
वीर होला छोरो भनेर व्यर्थ आशा नै गरेंछु
तीन दिन भित्र सुन्लास् तैंले मपनि मरेंछु ।
अचम्म भयो राजाको छोरो भएछ चाकर
संजय तैंले िहंड्नुनै पर्ने मुख नै ढाकेर
तैंले मुख नै ढाकेर ।
घृणा तँलाई गर्दछु मैले नंपुसक ठानेर
मारेर फाल्दिउ जस्तो लाग्छ कलंक भनेर ।
धिक्कार धिक्कार लाखौं पटक कुपुत्र तँलाई
बाँचिस् किन मनलाई मेरो यसरी जलाई ।
देह तेरो छोइएपनि अगति परिन्छ
पापिष्टसँग बसेमा आफ्नो पापनै बढ्दछ ।
क्लीब भए सन्तोष गर्थें दोष दिई भाग्यलाई
लंगडो भए प्यार् गरी पाल्थें संजय तँलाई
छोरा ! पाल्दथें तँलाई ।
गर्दोहोस् किहं मित्रको घरमा तइँले चाकरी
सन्तोषै हुन्थ्यो सम्झेर मित्र नै त हो भनी ।
आज यहाँ सैन्धव तेरो मालिक बन्या'छ
यसो गर् भनी उसले तँलाई सधैंनै भन्या'छ ।
तैंले चािहं भृत्य बनी स्वीकृति दिएको
सक्दिनँ देख्न हे छोरा मैले वंश नै खिएको ।
धर्मयुद्ध उत्तम कुरो सम्झेर बसिदे
क्षत्रियहरु काँतर भा'को काँ देखिस् तइँले
कायर ! काँ देखिस् तइँले ।
मरिदे बरु लडाइँ गरी स्वर्ग नै पाउनेछस्
दबेर नबस् जितिस् भने राज्य नै पाउनेछस्
बाबै राज्य नै पाउनेछस् ।
मागेर अधिकार कहाँ पाउँछस् खोसेर लिइदे
संघर्षमा फूट् पर् योभने आफैंले सिइदे ।
एकता ठूलो बनाइराख्नू जनताहरुमा
फूट बरु पार्नू सैन्धवको सैनिकहरुमा ।
संघर्ष गर्नू संजय छिटो देशको खातिर
देशलाई छिटो लैजानु पर्छ विकासमा मास्तिर ।
जनता छोरा सम्झेर तैंले राज्यनै गरनू
संघर्ष गर्दा मर्न परे नडराई मरनू
साँच्चै नडराई मरनू ।
मर्छन् वीर समर गरी लत्रन्नन् कहिले
तँ मोरो मात्र मान्छस् डर किन हो अहिले ।

(आयोदधौम्यद्वारा वि.सं. २०५० मा रचित यो खण्डकाव्य तरङ्ग साहित्यिक अभियानद्वारा वि.सं. २०६५ मा प्रकाशित पुस्तक "आठ खण्डकाव्यहरु आयोदधौम्यका" मा पनि संकलित छ ।)

Wednesday, May 27, 2009

भोककै कारण छोरीहरुसहित आत्महत्या गर्न बाध्य आमाको देशमा

- निर्मलमणि अधिकारी
यो यही देश हो जहाँ भोककै कारण आठ महिना र सात वर्ष उमेरका दुई छोरीहरुसहित आत्महत्या गर्न बाध्य भइन् एक आमा । अखबारका पानामा संक्षिप्त समाचार छापिनुबाहेक उनीहरुको दुःखान्तले छोएन कसैलाई ।

सकेसम्म कोही चाहँदैन मर्न । मानिसलाई सबै भन्दा प्यारो लाग्ने नै आफ्नो जिन्दगी हो । त्यसमाथि प्रेम एवं करुणाकी प्रतिमूर्ति आमाले आफ्ना सन्तानलाई यति माया गर्छिन् कि त्यो अवर्णनीय छ । तर हाम्रै नेपालको सुदूरपश्चिममा एक आमाले आत्महत्या गरिन् आफ्ना दुई छोरीहरुसहित ।

अखबारले दिएको समाचार संक्षिप्त भए पनि कुरो बुझिन्छ । थुप्रै दिनदेखि ती तीनजनाको मुखमा अन्न परेको थिएन । केही नखाएपछि आमाको स्तनबाट दूध आओस् कसरी । रोइरहेका छोरीहरुलाई पानीसमेत पियाउन सकिनन् आमाले किनकि सुदूरपश्चिमको त्यो गाउँ हाम्रो देशका अनेकौँ यस्ता गाउँजस्तै थियो जहाँ पिउने पानी लिनसमेत निक्कै पर पुग्नु पर्ने हुन्छ ।

समाचार पढेर थाहा लाग्दैन तर अनुमान गर्न सकिन्छ कि आमाले केही माग्ने र छोरीहरुलाई बचाउने प्रयत्न पक्कै गरिन् । दरिद्रबस्तीमा सम्भवतः कसैसँग थिएन उनीहरुलाई दिनका लागि केही ।

अन्नपानी केही पनि नपाएपछि छोरीहरुको स्वरसमेत सुक्यो होला । पीडाले छटपटाइरहेका तर त्यसलाई समेत व्यक्त गर्न नसकिरहेका छोरीहरुको वेदनाको आघात कसरी सहन सक्थिन् आमाले । निरुपाय उनले छोरीहरुलाई पीडाबाट मुक्ति दिने एउटै मात्र उपाय देखिन् ।

हाम्रै देशमा भएको घटना हो यो । यो यस्तै अनेकौँ घटनाहरुको प्रतिनिधि मात्र हो ।
यो संसारमा यस्तो पनि देश छ र यो मेरै देश हो जहाँ भोकका कारण मानिस आत्महत्या गरिरहेका छन् जहाँ झाडापखाला लाग्दा सामान्य औषधी नपाएर कैयौँजना मरिरहेका छन् जहाँका मानिसहरु सामान्य गाँस बास कपासको आवश्यकता पूर्तिका लागि कुल्ली दर्बान भाडाका सैनिक घरेलु नोकर आदिका रुपमा बेचिनु परिरहेको छ जहाँ आफ्नै चेलीहरुलाई वेश्यावृत्तिका लागि बेचिन्छ जहाँ बोक्सीका नाममा आमा दिदी बहिनीहरुमाथि बर्बर िहंसा भइरहेको छ जहाँ हजारौँ मानिसको हत्या गर्ने िहंस्रकहरु राजनेता कहलाइन्छन् जहाँ राजनीति भनेकै जसरी पनि सत्ता शक्ति र सम्पत्ति हत्याउने साधन बनेको छ ।

यो यही देश हो जहाँ भोककै कारण आठ महिना र सात वर्ष उमेरका दुई छोरीहरुसहित आत्महत्या गर्न बाध्य भइन् एक आमा । के अधिकार छ त्यस्तो देशलाई एउटा स्वतन्त्र देश भएको भनेर गर्व गर्न के हक छ त्यस्तो देशको सरकारलाई जनतामाथि राज गर्न कुन स्वाभिमानले हो म बुझ्न सकिरहेको छैन कि आठ महिनाकी बच्चीलाई समेत अन्न पानी उपलब्ध गराउन नसक्ने मेरा देशका बहुसंख्यक मानिसहरु सधैँभरि राष्ट्रियताको नारा उरालिरहेका हुन्छन् ।

Saturday, May 9, 2009

आयोदधौम्यद्वारा रचित खण्डकाव्य "नियमित कथा यही संसारको" बाट लिइएको एक अंश

हिम्मत हार्नु ठीक होइन कायर पामर् बनी
आउँदैन भाग्य त्यसै दुःखी यो रै'छ भनी ।
छन त छन् ईश्वर प्रभु जगतका पिता
तर हेर्छन् यो मनुवामा कर्मयोग छ कति ।
स्वतन्त्र नै छाडिदिन्छन् कर्मफल भोग्न
कर्म गरे फल पाइन्छ कस्ले सक्ने रोक्न ।
गर्नु उद्योग पर्दछ सबले नहत्तारिइकन
त्यसै दूध दुहिन्छ कि दुिहंदैन भन ।
गर्नु पर्दछ एक् चित्त लगाई हामीले आफ्नो सबै कर्तव्य
त्यसै आउँदैन संपति न हुन्छ भवितव्यले ।
बाधा पन्छाई सब किसिमका नलत्रेर जीवनमा
राख्नु पर्दछ दृढता सधैं हामीले मनमा ।

(आयोदधौम्यद्वारा रचित यो खण्डकाव्य तरङ्ग साहित्यिक अभियानद्वारा वि.सं. २०६५ मा प्रकाशित पुस्तक "आठ खण्डकाव्यहरु आयोदधौम्यका" मा पनि संकलित छ ।)

Saturday, April 18, 2009

मेरो भाव लुकेपनि तिम्रो मनले बुझोस् (२०५४-८-१५)

मेरो भाषा अर्कै होला तिम्रो भाषा अर्कै
मैले भन्दा अर्कै होला तिम्ले भन्दा अर्कै
जे भनेुनि कुरो एउटै शैलीमात्र अर्कै
नाट्यकला एउटै एउटै शायद पात्र अर्कै
मेरो भाव लुकेपनि तिम्रो मनले बुझोस्
मेरो पि्रय प्रेमरागमा तिम्रो मन रुझोस् ॥
(२०५४-८-१५)

Wednesday, April 1, 2009

पश्चाताप त तिमीले पो गर्नुपर्ने जस्तो लाग्छ

मलाई त यस्तो लाग्छ तिमीलाई कस्तो लाग्छ
पश्चाताप त तिमीले पो गर्नुपर्ने जस्तो लाग्छ

कहानीको आरम्भ र अन्त्य दुबै तिमी थियौ
अनायाशै साथ दिई उसरीनै टाढा भयौ
यसमा त कसूर मेरो केही छैन जस्तो लाग्छ
पश्चाताप त तिमीले पो गर्नुपर्ने जस्तो लाग्छ

आउनु जानु तिम्रो मर्जी मैले के पो गरें
थाहा छैन के कारणले क्रोध्मा तिम्रो परें
रिसाएर टाढिनु झन् व्यर्थै जस्तो लाग्छ
पश्चाताप त तिमीले पो गर्नुपर्ने जस्तो लाग्छ

मलाई त यस्तो लाग्छ तिमीलाई कस्तो लाग्छ
पश्चाताप त तिमीले पो गर्नुपर्ने जस्तो लाग्छ

Sunday, March 22, 2009

मेरो प्रेम तिमीसम्म तिम्रो मसम्म (मिित २०५४।८।२० मा रचित)

यो जुनि मात्र हैन अर्को जुनि-जुनि सम्म
मेरो प्रेम तिमीसम्म तिम्रो मसम्म

तिम्रो जीवन-कथा शुरु अनि अन्त्य पनी
जताततै मेरो नाम त्यस्तै तिम्रो पनी

मेरोपछि तिम्रो नाम तिम्रोपछि मेरो
दायाँ बायाँ मायाकोनै बनोस् चौघेरो

यो जुनि मात्र हैन अर्को जुनि-जुनि सम्म
मेरो प्रेम तिमीसम्म तिम्रो मसम्म ॥
(२०५४।८।२०)

Saturday, March 7, 2009

प्रेमको होली, म र प्रेयसी (२०५४।११।२८।५ मा रचित)

होलीको स्वागत गर्न मन लागेकाले यो पुरानो रचना पुन: पोस्ट गरेको हुँ ।
प्रेमको होली, म र प्रेयसी (कविता)

केहि मैले आफै राखें
केहि तिमी संग मागें
तिम्रो रंग मेरो रंग
मिसाई होली खेलें ॥

एक अक्षर मैले लेखें
एक अक्षर लेख्ने तिमी
रंगारंग फागुबिच
मैले माया लेखें ॥

रंग विरंग संग
झुम्दै झम्दै अंग अंग
इन्द्रधनुष बन्दै बन्दै
आहा प्रेम तरंग ॥

गोधूलीमा नयन दर्पण
साक्षी प्रीतं अर्पण
सराबोर यसरी भो
क्या स्व-समर्पण ॥

कालो कलुष पखालेंर
इन्द्र धनुष कोरें
चित्रपट मुटु बनाई
बहार अपार भरें ॥

निशाकर अम्बरमा
हैन हाम्रै- हाम्रै मनमा
निर्झरिणी निद्र्वन्द
छाल उछाल सब्मा ॥

बेष्टित -लता तुल्य
िकंवा लता-बेष्टित तुल्य
उफान आख्यान तुल्य
क्याबात् ती क्षण अमूल्य ॥

निलगिरी अन्नपूर्णा
इन्द्र धनुष सेतु
भङ्कार झङ्कार झङ्कार
झङ्कार कै हेतु ॥

सारेगम मेरो हुँदा
प ध नि को टुंगो तिमी
सूर मसँग हुँदा
लय लयित तिमी ॥

सप्तरङ्गी सप्तपदी
सप्तपदी जीवनधूरी
जीवनधूरी रंगारंग
इन्द्रधनुष इन्द्रधनुष ॥

पूर्णिमा पूर्ण चन्द्र हुँदा
चन्द्रिका बिना कहाँ
वैशिष्ट्य यो दिनको
होली पो भो यहाँ ॥

रगतको रातो तिम्रो
मेरो अम्बर नीलो
जीवन-वायु मेरो भए
जीवन-रस तिम्रो ॥

दूर्वाङ्कुरे हरियाली
तिमी मलाई देऊ
पहेंलपुर जमराको
ओस जोसमा लिऊ ॥

एक कर मेरो भर
एक हल्चल्
फागु होलीमात्रै हैन
प्रेम तल्तल् ॥

अरुणकी सरीता वा
सविता हौ अरुणकी
मदनकी मायावी वा
काया अकायाकी ॥

शून्यकी सार स्वरुप
चँदुवाकी झल्लरी
बाग-बाग भएँ अहे
बागकी पल्लवी ॥

पौडियौ रङ्ग-सागर
आफै ऊ धन्य भयो
पौडायौ मधु-सागर
आफै यो धन्य भयो ॥

यी रङ्ग शर भए
दिन-होली धनु
लक्ष्य फगत् तिमीबिना
हाय के पो अरु ॥

पुसे-माघे सूर्य तुल्य
अझ पुष्पसँग -सुवासको तुल्य
प्रेमले रंगिएको
होली धन्य धन्य ॥

(२०५४।११।२८।५ दिनको १:४५ बजे; स्थान - अर्चलबोट पोखरा-२)

Wednesday, March 4, 2009

प्रेम प्रसङ्ग हाम्रो दुनियाँलाई कहानी भो ( मिति २०५४।८।२० मा रचिएको)

प्रेम प्रसङ्ग हाम्रो दुनियाँलाई कहानी भो
एक् कान् दुई कान् गर्दागर्दै जगतैको जुवानी भो

न्याउलीको विरहमा मान्छे प्रीत सुन्न थाले
कोइलीले को हो भन्दा मान्छे माया गुन्न थाले
पिरतीको हाम्रो गाथा संसारले गाउन थाले
हाम्रो देखासिकी हेर सब्ले माया लाउन थाले

प्रेम प्रसङ्ग हाम्रो ..............

कुमुदिनी फूल्दाखेरी हाम्रो प्रीत मुस्काउँछ
लज्जावती सँगसँगै हाम्रो प्रीत लजाउँछ
पूर्णिमाको चन्द्रतुल्य जाज्वल्यमान् हाम्रो माया
अमर छ चाहे छाडी जानुपरोस् जर्जर् काया

प्रेम प्रसङ्ग हाम्रो ........

(२०५४।८।२०, शुक्रवार, दिउँसो २ः०० बजे, स्थान ः अर्चलबोट, पोखरा)