Tuesday, June 29, 2010

आफ्नै-आफ्नै सपना बोकेका दुई पुस्तासँग

मलाई परिवारका दुई पुस्ताले आ-आफ्नै तवरले प्रशिक्षित गर्नु भएको थियो । मेरा पिताजी र मेरा दाई दुईजनासँगबाट मैले बिल्कुलै फरक-फरक विधाहरु पढ्न पाएको थिएँ । उहाँहरु दुबैसँग आफ्नै-आफ्नै सपना थिए र ती अधूरा-अपूरा सपनालाई विपनामा साकार गर्न उहाँहरु दत्तचित्त हुनुहुन्थ्यो । ती दुबै कल्पनामा ऐक्यतापनि थियो ।

सनातन हिन्दूधर्मशास्त्रका प्रकाण्ड विद्वान धार्मिक प्रकृतिका अनि आफ्ना अडानमा अत्यन्तै दृढ रहने स्वभावका पिताजी पण्डित रुद्रमणि (उहाँकी आमा अर्थात् मेरी हजुरआमाले दिनुभएको नामचाहिँ “चिरंजीवि”) र एक अक्षर पनि नचिन्नुभएकी, साह्रै दयालु-मायालु अनि अत्यन्तै परिश्रमी आमा – रमादेवी (उहाँको नाम माइतीमाचाहिँ “सीता”) को प्यारो छोरो म । मेरा माता-पितालाई के विश्वास रहेको थियो भने मेरो जन्म भगवान्को प्रसाद स्वरुप भएको हो । एक वर्षसम्म नित्य भगवद्-पूजन पश्चात् मेरो जन्म भएको भन्ने कुरा उहाँहरुले मलाई धेरैपल्ट बताउनु भएको छ । त्यसैकारणले पनि होला सानैदेखि मेरो विशेष ख्याल राखिएको थियो ।
पिताजीका छोराहरु तत्कालीन परिवेश अनुरुप सुपठित भएतापनि उहाँहरुले पिताजीको आफ्नो विद्या अर्थात् सनातन हिन्दू धर्मशास्त्र नपढी नयाँ सरकारी शिक्षा हासिल गरेको हुँदा मेरा पिताजीलाई आफ्नो शेष पछि परम्परा कसले थाम्ने भन्ने सवालले टोकिरहेको थियो ।
छोराहरुलाई संस्कृत शिक्षा दिन उत्कट इच्छा-आकांक्षा हुँदाहुँदैपनि कतै संस्कृत पढेकै कारणले जागिर नपाएर भविष्यमा आफ्ना सन्तानले दुःख-कष्ट पाउने पो हुन्कि भन्ने आशंका पनि भएकाले उहाँका छोरा-छोरीको शिक्षादीक्षा सरकारी विद्यालयमार्फत् नै भयो । अर्को उत्तिकै उल्लेख्य पक्ष केपनि होभने मेरा दाजुहरुमध्ये कतिपयले स्वयम् नै पिताजीको जस्तो जीवन-दर्शन र मान्यताप्रति व्यावहारिक तवरलेनै अनास्था प्रकट गरिदिएर पिताजीको आफ्नो सन्तानलाई संस्कृत धार्मिक शिक्षा दिने इच्छा-आकांक्षामाथि तुसारापात गरिदिनु भएको थियो । पिताजीले जे-जे नगरिदिए हुन्थ्यो जे-जे नखाइदिए हुन्थ्यो इच्छा राख्नुहुन्थ्यो त्यही-त्यही गर्दिने/खाइदिने सन्तानका कारण कहिलेकाहिँ पिताजी साह्रै निराश एवं दुःखी भएको मैले देखेको छु । अब पिताजीको आशा ममाथि थियो । उहाँ “भगवद्कृपावश जन्मेको” पुत्रलाई आफ्नो बिँडो थाम्ने उत्तराधिकारीका रुपमा हेर्नुहुन्थ्यो । उहाँको आशा ममाथि थियो भन्नुको अर्थ केभने उहाँ मलाई आफूजस्तै ‘पण्डित’ बनाउन चाहनुहुन्थ्यो । यतिमात्रै होइन नि उहाँ मेरालागि आधुनिक शिक्षा दिने कुरामा त झन् बढी सचेत हुनुहुन्थ्यो । उहाँको इच्छा केभने म विद्यालयमा आधुनिक शिक्षा हासिल गरुँ र घरमाचाहिँ परम्परागत शिक्षा । अर्थात् उहाँको चाहना थियो- छोरोले दुबै ‘विद्या’ पढोस् – अंग्रेजी पनि र संस्कृत पनि । छोरोले एकैचोटी दुई-दुईतर्फको पढाइ थाम्नसक्छ भन्नेमा अचम्मसँग विश्वस्त हुनुहुन्थ्यो मेरा पिताजी । माध्यमिक विद्यालयस्तरमा पढ्दासम्म एस.एल.सी. पास हुँदाको बेलासम्म उहाँको विश्वासलाई मैले कायम राखेको पनि थिएँ । पछिचाहिँ मेरो पढाइ पहिलेजस्तो रहेन ।
मेरा दाजु हुतमणिकोबारेमा कुरा गर्दा उहाँ प्रविणता प्रमाणपत्र (आई.ए.) तहको पढाइ सक्दानसक्दै गाउँको प्राथमिक विद्यालयमा शिक्षक भएर बस्नु परेको थियो । मलाई के लाग्थ्यो भने परिस्थितिले उहाँमाथि ठूलो अन्याय गरेको थियो ।
पिताजीका तीनवटी श्रीमतीतर्फका तीन परिवार भएकाले सबै एकै ठाउँमा बस्न सम्भव थिएन । छुट्टाभिन्न हुँदाखेरीमा एक त हामी कान्छीतर्फका सन्तान भएकाले साना थियौं; जेठी र माइली आमातर्फका दाजुहरु त जागिरे भएकाले नियमित आम्दानीको बाटो थियो -यदि पिताजी नहुने होभने हाम्रो त बिचल्ली नै हुन्थ्यो; अनि यसका अतिरिक्त उहाँहरुबाट पिताजीको जीवन-दर्शनप्रति द्रोह गरिएकालेपनि स्वभावतः पिताजी हामीसँग बस्नुभएको थियो । उमेरमा अतिनै पौरखी भएतापनि पिताजीको वृद्धावस्थालाई विचार गर्दा मेरो दाजुले घर-व्यवहार सम्हाल्नु परेको थियो ।
दाई १८ वर्ष पुग्दानपुग्दै गृहस्थीले पुरै किच्यो र महान् सम्भावना बोकेको एउटा युवा त्यत्तिकै कुण्ठित भयो । जसरी मलाई अवसर मिल्यो त्यो अवसर मेरो दाईलाई मिलेको भए आज म जे छु त्योभन्दा धेरै उपलब्धि मेरो दाजुले हासिल गर्नुहुनेथियो भन्नेमा म सधैं विश्वस्त छु । उहाँको प्रतिभाको समुचित उपयोग हुन नसकेकोमा मलाई सदा खेद छ । मेरा पिताजीको महान् प्रतिभा एवं विराट विद्वत्ता र योगदान पनि यो समाजले जति चिन्नुपर्ने हो त्यति चिन्न सकेन । पिताजी घर-व्यवहारमा यति धेरै अल्मलिनु पर्योकि उहाँभन्दा निकै निम्न प्रतिभा र योग्यता भएकाहरु नक्कली मुजुर भएर नाचिरहन पाइरहे । मेरा जेठाबाठा दाजुहरुले पिताजीलाई सघाइदिएकाभए स्थिति अर्कै हुनेथियो भन्ने मेरो मनमा शैशवावस्था देखिनै परेको छ । अनेक पक्षबाट पिताजीलाई काँध थाप्न पाएकोमा मलाई सन्तोष छ ।
मेरो दाजुले आफ्नो इच्छा-आकांक्षालाई त्यसै गुट्मुट्याएर घर-व्यवहारमा अल्मलिनु पर्यो तर उहाँको हार्दिक इच्छा आफ्नो पि्रय भाइलाईचाहिँ जसरीपनि उन्नति-प्रगतिको शिखरमा पुर् याउनेमा दृढ थियो । त्यसकारण शिशु अवस्थाबाटनै उहाँले मेरो पढाइ-लेखाइमा विशेष ध्यान पुर्याउनुभयो । मेरा दिदीहरु -भारती र बिस्नु-सँगपनि मैले केही पढेको त हुँदोहुँ तर अहिले मलाई सम्झना छैन । आमाको सम्बन्धमा मैले आरम्भमै भनिसकेको छु एक अक्षर पनि नचिन्नु भएकी भनेर । तर आफू नपढेपनि छोरा-छोरीलाई पढाउने कुरामा आमा यति धेरै ध्यान पुर् याउनु हुन्थ्योकि बर्णन गरिसाध्य छैन । ज्ञान-आर्जननिमित्त एकदमै उपयुक्त वातावरण भएको घर थियो हाम्रो ।
मलाई परिवारका दुई पुस्ताले आ-आफ्नै तवरले प्रशिक्षित गर्नु भएको थियो । मेरा पिताजी र मेरा दाई दुईजनासँगबाट मैले बिल्कुलै फरक-फरक विधाहरु पढ्न पाएको थिएँ । उहाँहरु दुबैसँग आफ्नै-आफ्नै सपना थिए र ती अधूरा-अपूरा सपनालाई विपनामा साकार गर्न उहाँहरु दत्तचित्त हुनुहुन्थ्यो । ती दुबै कल्पनामा ऐक्यतापनि थियो ।

Wednesday, June 23, 2010

घर नै पहिलो पाठशाला

निर्मलमणि अधिकारी (आयोदधौम्य) द्वारा लिखित, अप्रकाशित-आत्मकथाबाट झिकिएको एक अंश

भनिन्छकि घर नै पहिलो पाठशाला हो । यो कुरा मेरोबारेमा राम्ररी लागू हुन्छ । मेरो वैचारिक यात्रा अर्थात् विचारको निर्मल-यात्राको आरम्भ विन्दुमा पुग्नकालागि मेरो पारिवारिक चर्चाबाटै कुरो शुरु गर्नुपर्ने हुन्छ । मेरो के विश्वास रहिआएको छभने प्रत्येक शिशु विशेष संभावनाहरुका साथमा जन्मेको हुन्छ र उसको सफलता वा असफलतामा यस धर्तीमा ऊ जन्मेपछि उसले पाउने अवसरहरुले पनि अत्यन्त महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । यदि म कुनै कुरामा सफल ठानिएँछु भने त्यसको श्रेय पिता-माता, दाजु, घर-परिवार तथा गुरुजनलाई नै दिन्छु म । असफलताहरुचाहिँ मेरा आफ्ना कमाइ हुन् र यिन्लाई म कदाचित् कसैसँग पनि भागबण्डा लगाउन चाहन्नँ ।
विचारको द्वन्द्वबाट पार नपाइकन कुनै विचारकले आफ्नो मौलिक विचार विकसित गर्न सकेको छैन र भविष्यमा पनि प्रत्येक विचारकले विचारको द्वन्द्वात्मक प्रकि्रयाबाट पार पाएपछिमात्र आफूलाई एउटा विचारकका रुपमा प्रस्तुत गर्न सक्नेछ । यसमा कुनै परमतत्व वा ईश्वरीय अनुकम्पाको अनुभूति पनि कोही-कोहीले गर्दछन् । म आफूलाई त्यस्तो भाग्यमानीका रुपमा पाउँदा गौरवान्वित छु । मेरो आफ्नो विचारयात्राको सन्दर्भमा कुरा गर्दा सौभाग्यवश पारिवारिक पृष्ठभूमिका कारणले गर्दा शैशवकाल देखि नै मेरो बाटो करिब-करिब यही थियो । हो यदाकदा केही आरोह-अवरोह नआएका होइनन् । कतिपय समयमा म आफ्नो मूलबाटोभन्दा केही टाढा रुमल्लिएको र नजाने गाउँको बाटोमा रल्लिएको थिइनँ भनेर ठोकुवा म गर्न सक्दिनँ । विचार-मन्थनको लामो प्रकृया पार गरेरै ममा दृढता आएको हो । पछुताउन पर्नेगरी बाटो नबिराएको भएतापनि विचारको द्वन्द्वमा खारिनचाहिँ परेकै हो । तर सौभाग्यवश मेरो पारिवारिक पृष्ठभूमिका कारण मैले उचित दिग्दर्शन पाइरहेँ र विचारको द्वन्द्वात्मक यात्रामा मेरो डुङ्गा डुबेन ।
बाटाहरु धेरै हुन्छन् । ती मध्ये कतिपय सुबाटा हुन्छन् भने कतिपय कुबाटा पनि हुन्छन् । यदि आन्तरिक प्रकाशको उज्यालोले हामी प्रकाशित भइसकेका छौं भने सुबाटाहरुमध्ये पनि सर्वाेत्तमचाहिँ बाटो रोज्न कठिनाइ पर्दैन । तर आन्तरिक रुपमा पनि अँध्यारोमा भ्रमित हुने अनि बाह्य तवरमा पनि गलत दिग्दर्शकका फेला परियो भने त खत्तमै हुनजान्छ । दिग्दर्शनको आवश्यकता मानिसलाई करिब-करिब उसको जन्मकालदेखिनै आवश्यकता पर्दछ । त्यसैले त घर-परिवारको महत्व अनुपमेय रहेको हो । कतिपय व्यक्तिहरु पारिवारिक कुसंस्कारवश गलत कार्य गरिरहेका भएतापनि सद्गुरुका कृपावश सही बाटोमा आइपुग्न पनि सक्छन् जस्तोकि वाल्मिकी तथा अंगुलिमाल जस्ता उदाहरण हामीसँग छन् । तर ती त भाग्यशाली थिए र पो पछि सद्गुरु फेला पारे । अन्यथा पारिवारिक वा सामाजिक संस्कार नमिलेको अवस्थामा सही दिग्दर्शक फेला पार्नु असंभवप्रायः नै हुन्छ । तसर्थ सकेसम्म घर-परिवारमै र त्यो सम्भव नभएतापनि पाठशाला यानेकि विद्यालयमा त नयाँ पुस्ताका निमित्त उचित संस्कारको समुचित शिक्षा दिनै पर्दछ ।
मेरो अनुभवमा त विद्यालय/क्याम्पसमा गएपछि पारिवारिक पृष्ठभूमिबाट प्राप्त संस्कार समेत बिग्रन सक्ने स्थिति मैले देखेको छु । मेरो र मेरा दाजु-भाइ-दिदीका व्यक्तिगत आचार-व्यवहारमा यदि िकंचित् मात्रपनि संस्कारहीनताको संकेत छभने त्यसलाई विद्यालय/क्याम्पस वा यस्तै सार्वजनिक स्थानमा पुगिसकेपछिको कमाइ भन्ने जाने हुन्छ । नत्र हाम्रो पहिलो पाठशाला अर्थात् हाम्रो घरबाट हामीले गलत संस्कार प्राप्त गर्ने क्षीण संभावना समेत थिएन । हामीलाई के सही र के गलत भनेर चिन्न सक्ने बनाइएको थियो ।

Saturday, May 22, 2010

प्रशान्त महासागरलाई

प्रशान्त महासागरलाई (कविता)
--- निर्मलमणि अधिकारी


प्रशान्त !
आज भोली तिमी
बिरामी परेका छौ कि कसो
कतैपनि अचेल
ज्वारभाटा छैन
आँधी तूफान चलेको छैन
झ्वाम्म अँगाल्ने जेलाईपनि र उदरस्थ गर्ने
तिम्रो इच्छा मरिसक्यो कि कसो
ठिक छ प्रशान्त
उद्दण्ड उग्र र प्रचण्डबाट
शान्त सौम्य र निश्छल बनेको रहेछौ-
तिम्रो यही रुप नै
मलाई स्वीकार्य छ प्रशान्त
तर तिमी बबण्डर बन्छौभने
मपनि अवरोध बन्नेछु
प्रशान्त !
तिम्रो शान्त यो रुपको पुजा गर्दैछु ।
२०४७।५।१४

Thursday, April 8, 2010

जय होस् भन्छु म त मायाको यो संसारैमा

को होला र म जत्तिको सुखी यो संसारैमा
तिमीलेनै बनाइदियौ आनन्दी यो संसारैमा

निवेदन प्रणयको तिम्रो मैले पाएँ
आज त झलमल्ल देख्छु यो संसारैमा

मनमनै रोजेपनि भन्न चािहं नसकेको
तिमीलेनै भनिदिँदा खुशी यो संसारैमा

आिलंगनमा तिमी हुँदा चुम्दै तिम्रो अधर्
जय होस् भन्छु म त मायाको यो संसारैमा ॥

(रचना मिति : २०५४।८।२३)

Thursday, March 11, 2010

व्यथा (कविता)

कविता
व्यथा

बोलुँ -
बोलिपासो,
नबोलुँ -
नबोलिपासो;
जब म चूप हुन्छु
चिच्याउँछौं तिमीहरु
कि योसँग वाणी नै छैन
र जब म बोल्न थाल्छु
टाउको दुख्न थाल्छ तिमीहरुको
कि यो साह्रै बोल्यो
-यो हामी भन्दापनि बढि बोल्यो;
बोलुँ -
बोलिपासो
नबोलुँ -
नबोलिपासो ।

रचना मिति - २०५३।१२।७ बिहीबार, रातको ठीक पौनेबाह्र बजे ।
स्पीकर्स कर्नरमा प्रकाशित

Wednesday, January 20, 2010

बुझ र फर्क (वि.सं. २०४९ मा राष्ट्रिय वातावरण कविता प्रतियोगितामा प्रथम पुरस्कार)

बुझ र फर्क
कवि - आयोदधौम्य (निर्मलमणि अधिकारी)

उजाड बनेको छ पृथ्वी
नीरस र फूङ्ग नेपाल -
कतै नदीमा बगरै-बगर टल्कने त होइन,
मानिसहरुको जीजीविषा धप्धप् बलेर
खरानी त हुन्न हाम्रो संसार !
ए मान्छे हो,
रोक आफैंलाई डढाउन खोज्ने हातहरु,
पछि फर्काऊ विष कुण्डतिर बढेका
तिम्रा ती खुट्टाहरु;
रुखसँग आत्मियता राखेर हेर,
यसका रत्याउने गीतका तालमा नाच त,
त्यसपछि तिम्रा हातहरु
ममतामयी नारीलेझैं
रुखलाई संरक्षण गर्न प्रयोग गर,
भविष्यमाथि बन्चरो नहान,
बुझ र फर्क -
हरित नेपालतर्फ ।
वि.सं. २०४९ मा राष्ट्रिय वातावरण कविता प्रतियोगितामा प्रथम पुरस्कार पाउन सफल यो कविता ऋचा, २०४९ कार्तिकमा प्रकाशित छ ।

Saturday, December 26, 2009

मधुयाम जिन्दगीमा आजै आए जस्तो

मधुयाम जिन्दगीमा आजै आए जस्तो
कोइलीले तिम्रै हाम्रै गीत गाए जस्तो

बहारले हाम्रै निम्ति सजाएको जस्तो
लज्जावती हामीसँगै लजाएको जस्तो

नदीहरु हाम्रै सूरमा सुसाएको जस्तो
झरनाले हाम्रो प्रीत रुचाएको जस्तो

तिम्रो साथ हुँदा सब थोक पाए जस्तो
सपनीमा विपनीमा माया लाए जस्तो

धर्तीबाट धेरै पर स्वर्ग आए जस्तो
मधुयाम जिन्दगीमा आजै आए जस्तो ॥

Sunday, November 22, 2009

आयोदधौम्य निर्मलमणि अधिकारीको उपन्यास "अन्तिम बादशाह" तेस्रो किस्ता

अन्तिम बादशाह
(उपन्यास)



"किन गर्ने नि क्रान्ति ! क्या हरामहरु छन् भने ! खुरुखुरु हलो जोते भइहाल्यो नि । बेकारमा त्यो राजनीतिको लण्ठामा लागेर !"
जब जब संसारमा क्रान्ति हुन्छ त्यस बेला मुख्यतः तीन भागमा मान्छे विभक्त हुन्छ । एउटा वर्ग क्रान्तिको दुस्मन हुन्छ । दोस्रो वर्ग पहिलो वर्गको सफाया गर्न इन्क्लाबको नारा बोकेर हिँड्छ । तेस्रो वर्ग निकै विपन्न वर्ग हो । ऊ शोषित छ र अज्ञानी छ । उसलाई क्रान्तिको महत्व थाहा हुँदैन र बिनबिच्चमा क्रान्तिको औचित्यमाथि प्रश्न उठाइदिन्छ ।

------------------ ---------

हुसुआन तुङ्ग आज पाँचौँ वर्ष पुगेका छन् । महाचीनका राजा हुसुआन तुङ्गको पाँचौँ जन्म दिवश मनाउनमा कुनै कसर बाँकी राखेका छैनन् आयोजकहरुले ।

---------------- -------------


इन्क्लाब - जिन्दाबाद
इन्क्लाब - जिन्दाबाद
हाम्रो माग - पूरा होस्
जनतन्त्रको बहाली - हुनै पर्छ
… … … …
यस्ता नाराहरुले आकाश गुाजायमान भयो । अभाव र शोषणमा पि_िल्सरहेका जनता ज्यानको पर्वाह नगरी सडकमा उत्रे । साँच्चै नै जनता ज्वालामुखी हो जो अधिकांश समय सुष्ाप्त रहन्छ तर उसको विष्फोटलॆ ठूलो कम्पन आउँछ । उसमा अन्तर्निहित म्याग्माले संसारको प्रत्येक महाशक्तिलाई पुरिदिन्छ । जनता भूकम्प हो । यसको हल्लाइमा तानाशाहहरु साधारण घर ढलेझैँ बङलङ्ग ढल्छन् । जनता त्यो समुद्री छाल हो त्यो समुद्री तूफान हो जसले एकै छिनमा कैयौँ कुराहरु स्वाहा पार्न सक्छ । उनीहरुको मन जल्दा संसारका बडे बडे सम्राटहरु खग्रास हुन्छन् ।
चिनियाहरुको यो क्रान्ति ती पाँच वर्षीय सम्राट हुसुआन तुङ्गविरुद्ध थिएन । उनीहरु परिस्थितिवश बाध्य भएका थिए । उनीहरु चाहन्थे चिनी सम्राट वीर होऊन् र फेरि संसारभर आफ्नो वर्चस्व कायम गरुन् । तर यसो हुन सकिरहेको थिएन । सय वर्षदेखि यता कुनै पनि चिनिया सम्राट त्यति बलिया र आँटिला निस्केका थिएनन् । तसर्थ चिनी जनताको विशाल छाती सङ्कुचित हुन पुग्दा क्षोभ थियो त्यो ।

चीनको कृषिप्रणाली पुरानो थियो । जनसङ्ख्याको चापमा उब्जिएको सीमित अन्न ज्यादै अपुग हुन्थ्यो । राजा साना थिए । सामन्तहरुको कमी थिएन । उनीहरु हली र साधारण किसानलाई शोषण गर्नसम्म गर्थे । त्यसैको प्रतिफल थियो त्यो क्रान्ति ।
वास्तवमा जनताद्वारा गरिएको यस्तो क्रान्तिमा दमन गरिनु हुँदैन । बरु जनताको भावनालाई बुझेर उनीहरुका प्रतिनिधिसँग कुरा गरी उनीहरुको इच्छालाई पूर्ति गर्ने कोसिस गर्नु पर्छ । तर उनीहरुका इच्छालाई दमित राख्ने कामचाहिँ पटक्क गर्नु हुँदैन ।

----------------- ---------

"हुन्छ; किन हुँदैन ? ठोक् गोली । यी साला भतुवाहरु मंचुवंशविरुद्ध बगावत गर्ने यी हलीहरु हाम्रा नोकरहरु बागी बनेर निस्कने जाओ ठोक गोली ।"
एक ठूलो सुरक्षाअधिकारी जो ती जनताको क्रान्तिबाट निकै रिसाइरहेको थियो बोल्यो । ऊ बीच बीचमा मंचुवंशप्रति भक्ति जनाउन टुटाउँदैनथ्यो ।

---------------------- ---------


"डा। सेन ! अझ तपाईँको क्रान्तिप्रतिको मोह भङ्ग भएको छैन हेर्नोस् यत्रा जनता मरिसके । अझ कति मर्ने हुन् ! तपाईँमाथि पनि पुरस्कार छ । कोही द्रोही निस्क्यो भने ?"
"साथी ली ! तपाईँ किन आत्तिनु हुन्छ ! म त्यस्तोविधि कायर छैन । म डाक्टर हूँ राजनीतिशास्त्र पढेको छैनँ त के भो म राजनीति गर्न सक्दिनँ र जनताको निम्ति लड्न पाउन्नँ र मेरो सङ्कल्प कहिल्यै टुट्दैन । यत्रा जनता हाम्रो आह्वानमा मरिसकेपछि हाम्रो क्रान्ति फिर्ता लिई तिनको अपमान गर्ने तिनीहरुको रगत बगेको अर्थै के भयो र तिनको आत्मालाई शान्ति दिलाउनु हाम्रो कर्तव्य होइन र हामीले कसैको एक बुँद रगत पनि सित्तैमा खर्चिनु हुन्न । साथी ! जनताको निम्ति मर्न पाउँदा म अति प्रसन्न हुनेछु ।"
"त्यो त हो । तर साथी सेन …"
"हेर्नुस् मित्र त्यो तर र सरपट्टि हामी लाग्नु हुँदैन । यसरी आफ्नै जनतामाथि गोली बसा्रएर यिनीहरु सैतानियततर्फ उन्मुख हुँदैछन् । सैतान बनेपछि त्यहाँमाथि यिनीहरुको गन्तव्य छैन र त्यहीँ यिनीहरु धराशायी हुनेछन् । यसलाई खुसीको कुरा मान्नुहोस् कि उनीहरु आफ्नो चिहानतर्फ आफै जाँदैछन् घिसारेर लानु परिरहेको छैन ।"
"अब पनि जनता क्रान्तिमा होमिएलान् र साथी ? सायद उनीहरु आफन्तको मृत्युपछि डरले चिसिएका पनि त हुन सक्छन् नि !"
हाँस्दै डा. सन यात् सेनले भने "असंभव, मित्र असंभव । थाहा पाउनु भएको छ बाघ रगतको स्वाद पाएपछि कस्तो हुन्छ त्यस्तै जनता पनि आफन्तका रगत देखेर उतसर्िइसकेका छन् र त्यही उतसा्रइमा अर्को अठोट थपिएकाले उनीहरु बन्दुक अगाडि उभिइनै रहने छन् । त्यो हो - बदला ।
फेरि जनता अब धेरै बुज्रुक भइसकेका छन् । यो क्रान्तिले तिनैको हित गर्छ भन्ने उनीहरुले बुझिसकेका छन् ।"

Friday, October 30, 2009

निर्मलमणि अधिकारी आयोदधौम्यकृत उपन्यास अन्तिम बादशाहको दोस्रो किस्ता

अन्तिम बादशाह
चीनका मंचुवंशीय अन्तिम सम्राटसम्बन्धी लघु-उपन्यास
लेखन मिति ः २०४८ असार २१ गते शुक्रवार - भदौ ३१ गते सोमवार

पहिलो किस्ता पढ्न यहाँ जानुहोस् : http://maharshidhaumya.blogspot.com/2008/10/blog-post_25.html

अन्तिम बादशाह


"पिरिनु पर्दैन । भइसकेको कुरा पिरिएर वा रोई-कराई गरेर फिर्ता हुन्छ र ? अब चुपो लागिबक्स्योस् र राजपाठ सम्हालिबक्स्योस् ।"
हुसुआनले यी कुरा के बुझ्यो होला र । नबुझेर पनि बुझ्नै पर्ने बाध्यतालाई उसले आत्मसात् गरिसकेको छ । जे होस् आफन्त भनाउँदाहरुको खलबलमा उसले यत्ति बुझ्यो कि उसका बाबु र आमा दरबारमा छैनन् । हुसु ति स्याङ्गको प्यारो हुसु एक्लै छोडिएको छ यस विशाल संसारमा ।
उसलाई रिस उठ्छ अब आमाले दूध चुसाउने छैनन् । उसलाई प्यारो गरेर बोलाउने कोही रहेको छैन । उसलाई थाहा छैन उसका पिताश्री गह्रुङ्गो श्रीपेच आफ्नो छोरालाई दिएर कहाँ बसिरहेछन् । ऊ कथित आफन्तका मुखबाट बाबु-आमा नजिकै रहेको सुन्न चाहन्छ । ऊ आफूले चाहेजस्तो नहुँदा खिन्न हुन्छ । सबै बाबु-आमा नभएको कुरा गर्छन् यहीँ छ कोही भन्दैनन् । आखिर किन होला त अबोध हुसुआन आफैमा जेलिन्छ ।
उसलाई त्यो झ्याङ्लो पोसाक कत्ति मन पर्दैन । त्यही पोसाक राजकीय रे नलगाई हुँदैन रे । त्यो गद्दी जहाँ आमा-बा बस्थे ऊ त्यहीँ बस्नु पर्छ । किन होला उसले गह्रौँ झल्लरे श्रीपेच लगाउनु पर्ने ! ऊभित्र मनोद्वेगका छालहरु उर्लिरहेका छन् ।

अँ हँ उसलाई यी सब प्रश्नका जवाफ दिने फुस्रदमा कोही छैनन् । ऊ महाराज रे । उसले भावनामा बहकिनु हुन्न रे । राज खान्दानको व्यक्ति भावशून्य हुनु पर्ने कस्तो विडम्बना !
हुसुआनलाई दैव भन्ने कुरा अचम्म लाग्यो । परिस्थितिले ऊ दैवलाई चिन्न सक्ने भएको छ । नत्र त उमेरै के छ र बरा ! बोलेको पनि राम्ररी बुझिँदैन । उसलाई पक्कै अभागी मान्नु पर्छ । चार वर्ष नपुग्दै आफ्नी आमा-बाबुविहीन भएर रहनु पर् यो ।

<> <> <>
त्यही देशमा, कुनै एक गाउँमा : माओत्से तुङ्ग - यही त राखियो छ त्यस बालकको नाम । तर वास्तवमा ऊ जन्मनु र नजन्मनुमा उसको बाबु झियाङ्ग र आमा तेई खुशी छैनन् । उनीहरु सोच्छन् कि यो बालक व्यर्थै जन्मियो । आखिर यसले गर्ला के नै र ! हलो त जोत्ला । हलो जोत्न त अरु पनि त छन् । यो व्यर्थको सकस हो । बरु नजन्मेकै भए ! हाम्रा साना राजाको नाम पनि तुङ्ग नै हो । एउटा तुङ्ग राजा अरे अर्को तुङ्ग हलो जोत्ने ! दुवैले हलो जोत्ने भए वा दुवै शासक हुन पाए !
आज झियाङ्गको मनमा किन यस्ता तरङ्ग खेल्छन् हँ उसले यसभन्दाअघि यस्तो कहिल्यै सोचेन । तर आज अचानक त्सेको जन्ममा ऊ सब कुरा किन सम्झन्छ ! कि साँच्चै यो बालक … … । यस्तो भए त मजा हुँदो हो ।
एक किसानको हलीको छोरोले देश चलाएमा पक्कै पनि भावना बुझेर काम गर्छ । उसलाई हलीको दुःख थाहा हुन्छ र मजदुरको हातका फोरा उसले चुमेको हुन्छ । अनि यस धर्तीको आह्वान उसले आत्मसात् गरेको हुन्छ । तर एउटा परम्परागत राजा ऊ त कहिल्यै पनि हलीको दुःखसँग परिचित हुन्न । ऊ त जन्मैदेखिको शोषक र शासक हुन्छ । उसको कर्तव्य यति हो कि ऊ जनतालाई दबाएर राज गरोस् । खै यिनीहरुले राज्य विस्तार गर्न सकेका खै हाम्रो झण्डा फरफराएका यस संसारमा खै हाम्रो आत्मसम्मान


<> <> <>
"डा। सेन ! के क्रान्ति गर्नु अहिले उचित छ र ?"
सन यात् सेन गम्भीर भए । उनलाई आफ्ना साथीहरुप्रति दया लाग्यो । अझ पनि यी क्रान्ति गर्ने समय नआएको बताउँछन् । के यिनीहरु कायर छन् कि यिनीहरुले राम्रोसँग कुरै बुझेका छैनन् !
सन यात् सेन गम्भीर रुपले मग्न हुँदै गए । उनलाई जताततै कोलाहल भएझैँ लाग्यो । उनको देश महाचीन रुँदै कराउँदै छटपटाएको देखे । महाचीन हात दिएर सन यात् सेनलाई हेर्दै रोइरहेछ । जनता नचिनिएका परजीवीको टोकाइबाट त्रस्त छन् । उनीहरु कराइरहेछन् । तर पनि परजीवीहरु रगत चुसिरहेकै छन् । उनीहरु चाहेर पनि भाग्न सक्दैनन् । आखिर किन डा। सेनको आँखाबाट आँसु आयो । उनको आँसुमा मातृभूमिप्रतिको भक्ति प्रष्टिइरहेको थियो । उनी चाँडैभन्दा चाँडै महाचीनलाई दाम्लाबाट निकाल्न चाहन्थे ।
उनको मनले भन्यो "क्रान्ति गर्नै पर्छ ।"

Tuesday, October 13, 2009

आयोदधौम्यकृत उपन्यास "शहरमा ...." को तेस्रो किस्ता

समय बित्दै जाँदा पुनः क्याम्पस जान थालेको थिएँ म । आफैलाई धोका दिए तापनि आफ्नो परिवारलाई धोका दिने साहस ममा थिएन । बा-आमा र दाईले लिनुभएको मप्रतिको आशा चूर चूर बनाउने हिम्मत मसँग थिएन । म पढेर वजनदार लब्धाङ्कपत्र उहाँहरुलाई दिन चाहन्थें । तिमी पनि माइतमै बसेर क्याम्पस धाउन थालेकी थियौ । सिन्दूर-पोते नलाएकी तिमीलाई देख्नेहरुले हिजो र आजकी जुनिमा फरक अरुले नदेख्नु स्वाभाविकै थियो होला तर मेरो नजरमा आकाश-पातालको अन्तर परिसकेको थियो । म तर्कन्थें तिमीसँग सकेसम्म टाढा तिम्रो अधर र तिम्रो नजर भन्दा पर ।
मलाई थाहा थियो केही भन्न चाहन्थ्यौ । तर म भने बोलेको सुन्नु पर्ला भनेर बोल्याबोल्यै गर्न थालें । अर्काको कुरा नसुन्नु छ भने आफै बोलिरहनु नै सम्भवतः प्रभावकारी उपाय थियो । पीडा लुकाउनु थियो त्यसैले त सधैं भन्दा बढी हाँस्नु थियो । साँच्चै बदनाम हुन पुगें म बढी हल्ला गर्ने भनेर । सरले मलाई हप्काउँदा टाउको तिम्रो निहुरन्थ्यो । कोही मसँग झगडा गर्न त_िम्सँदा तिम्रो आँखामा आँसु हुन्थ्यो । तर म म त आफैसँग दिक्क थिएँ ।
भर्खरै आइपुगेको थिएँ क्याम्पसबाट । ढोका ढक्ढक् गरेको आवाजले ध्यान भंग भयो ।
"खुलै छ" मैले भनें । तर ढक्ढकाइ रोकिएन ।
"खुलै छ भन्या" केही चर्को भएको थियो मेरो स्वर ।
अब भने अति भयो । फेरि पनि ढोका ढक्ढक्याइ रहे पछि म राँक्किए "खुलै छ भनेपछि पनि कस्तो मूर्ख रहेछ ।"
ढोकामा तिमी थियौ । ट्वाँ परेर हेरेको हेर् यै भएँछु म त ।
"बस्न पनि भन्दैनौ मलाई ?"
"अरे तिमी आऊ न ।" कििाचत् हड्बडाएको स्वर मेरो ।
"क्याम्पस देखि पछ्याएर आएकी तिमीसँग झगडा गरुँ भनेर ।" तिमीले बस्दै भनेकी थियौ ।
म चूप थिएँ ।
"किन साइलेन्ट् नि फेरि !"
म केही बोलिनँ ।
"के मसँग रिसाएको ?"
अझै बक् फूटेन मेरो ।
"साँच्चै रिसाएको भन्या ?"
"के अझैपनि रिसाउने कुनै अधिकार छ र ?" व्यंग्यात्मक लवजले भनें मैले ।
"खुब ग्रेट् सोच्छौ हैन आफूलाई ! भन के गल्ती छ मेरो ?"
"पराइ मान्छेहरुसँग … "
मैले बडो मुस्किलसँग भन्न नपाउँदै तिम्रो रुन्चे स्वर थियो- "वाऽऽ वाऽऽ ... कति इजिली बोल्छौ तिमी । पराइ भनेर घोच्नु भन्दा पहिले सोच त कहिल्यै आफन्त बनाउन खोज्यौ कहिल्यै केही भनेर मैले एसेप्ट् नगरेको थाहा छ तिमीलाई तिमी यति निष्ठूरी थियौ कि भावनालाई कहिल्यै साकार हुन दिएनौ । प्रुेण्डसीप भन्दा बढी प्रपोज् गर् यौ ? कसरी थाहा पाऊँ म तिम्रो मनको कुरा ?"
................. (क्रमश:)