Wednesday, July 11, 2012

म्याग्दे खोला बग्यो सललल, मायालुको मुहार् झललल (It was writeen about 20 years ago)

म्याग्दे खोला बग्यो सललल
मायालुको मुहार् झललल

फागुपूर्णे मेला भर्न थर्पु झेरकी
पानी खेल्न होकि किन खोला तरेकी
किन हामीदेखि परपर सरेकी
मायालुलाई नचिनेर होकि डरेकी
म्याग्दे खोला …

 घर तिम्रो छाङ होकि पर् यो मनपाङ
सत्ते कुरा भन आज हामी जान्न पाऊँ
तिम्रो घर तिलाहार या हो चोक्रे गाउँ
उत्तर हो कि दक्षिण हो कि तिम्रो जन्म ठाउँ
म्याग्दे खोला …

छबिसेको पुलमा बसी खोला हेरेकी
कम्मरमा पटुकी झैं के पो बेरेकी
खैरेनीटार जाने होकि जाने दमौली
मन्का कुरा कति दिन राख्छ्यौ मन्मै लि
 म्याग्दे खोला …
(It was written about 20 years ago.)

Monday, April 16, 2012

निर्मलमणि अधिकारी 'आयोदधौम्य' कृत संचार मीमांसा (काव्य) को पाँचौँ अधिकरण

संचार मीमांसा (काव्य)
पाँचौँ अधिकरण

साधारणीकरण-ढाँचा संचार देखाउँछ
सहृदयताको लागि संचार प्रष्ट्याउँछ ।
आधिभौतिक् आधिदैविक् अनि आध्यात्मिक
हिन्दू-चिन्तन पद्धतिको सार बताउँछ ॥४९॥

रेखीय किन छैन यस्को संरचना
बुझ्नलाई गर्नु पर्छ वैदिक् विवेचना ।
दिक् र काल चक्रीय मानिने दुवै यहाँ
दिक्-काल्भित्रै हुने संचार रेखीय तब कहाँ ॥५०॥

यसैबारे थप अर्को कुरा पनि बुझ्नू
दोहोरो नै संवादको हिन्दू मत सोच्नू ।
निरन्तर कि्रया अनि प्रतिकि्रया देख्नू
त्यसैले त पर्यो मैले यस्तो चित्र लेख्नु ॥५१॥

हिन्दू समाज् भेद विभेद् बीच हुँदा पनि
संचार सफल् हुने कारण् के पो होला नि ।
ढाँचा यस्ले प्रष्ट्याउँछ त्यो रहस्य पिन
सहृदयता नै त्यस्तो खास तत्व हो नि ॥५२॥

वर्ण आश्रम जात जाति अनि अरु कुरा
धनी गरिब शोषक् शोषित् कति कति छुरा ।
भाषा बोली चाल चलन् यस्ता धेरै कुरा
यसो हेर्दा विभाजनै विभाजन् छ पूरा ॥५३॥

सहस्र वर्ष सभ्यताका बितिसक्दाखेरि
देखेकै छौँ संवाद सफल हाम्रा वरिपरि ।
विभाजन छ तापनि छैन संचारमा
समस्यालाई हटाउन सहृदय भावना ॥५४॥

असमान सामाजिक सम्बन्धलाई जिती
विभेदका भौतिक स्थितिलाई मिची ।
सहृदयताको ज्योति प्रदीप्त छ सधैँ
अपसंचार हुनलाई दिँदैन है कबै ॥५५॥

यदि संचार असफल कतै भएदेिख
अपसंचार प्रबल कतै रहेदेखि ।
बुझ्नु पर्छ सहृदयता पक्का भयो कमी
उपाय गर्नु गर्छ संस्कार् भर्न भनी ॥५६॥

संचारमा रत दुई पक्ष कस्ता हुने
सम्बन्धको स्वरुप्बारे बुझौँ मनै छुने ।
संचार-स्वार्थ होइन यहाँ सम्बन्ध नै स्वयम्
प्रथम् कुरा हुन जान्छ संचारमा बुझम् ॥५७॥

पश्चिमा संचारका अधिकतर् ढाँचा
प्रेषकको प्रधान्तामा जोड दिन्छन् काँचा ।
साधारणीकरण्-ढाँचा अर्कै कुरा भन्छ
प्रेषक्-प्रापक् दुवैको सह-अस्तित्व मान्छ ॥५८॥

सहृदयता अवधारणा राम्ररी बुझी
बुझिनेछ प्रेषक्-प्रापक् सम्बन्ध पनि ।
आरम्भमा सामान्य अभिमुखीकरण् भई
साचार् सुरु गरी पुग्ने सहृदय स्थिति ॥५९॥

अर्थापन्कै सन्दर्भमा कुरा गर्ने हो त
प्रेषक् होइन प्रापक पो शक्तिशाली हुन्छ ।
अर्थापन गर्दाखेरि प्रापक्ले नै गर्छ
यो तथ्यलाई सदैव बुझिराख्नु पर्छ ॥६०॥

साधारणीकरण-ढाँचा ध्यानपूर्वक् हेरौँ
अभिव्याजना अनि रसास्वादन चिनौँ ।
संचारको प्रकि्रयामा निर्णायक बुझौँ
भतृ्रहरि भरत्मुनि धेरै चिन्तन गरौँ ॥६१॥

शब्दका चार तह परा पहिलो मानी
पश्यन्ति र मध्यमा अनि वैखरी ।
श्रवण्बाट सुरु हुने शब्दको प्राप्ति
मनन र निदिध्यासन् साक्षात्कार्मा व्याप्ति ॥६२॥

यति गहन् चार श्रेणी हुनु पर्ने कारण्
आन्तरिक संचारमा जोड दिने चलन् ।
आभ्यन्तरिक अनुभूति महत्वको चरण्
इन्द्रिय भन्दा उच्च ज्ञानको छ विधान् ॥६३॥

बाह्य संसार् नकारेको हुँदै होइन हेर
यसैलाई परम् सत्य मान्याछैन तर ।
बृहदको कारणमा सूक्ष्म छ है बुझ
ब्रह्माण्डलाई आफैँभित्र अनुभूत गर ॥६४॥

सन्दर्भको जुन् विधान ढाँचाभित्र छ है
भतृ्रहरिबाटै यस्लाई विकास् गरियो है ।
व्याख्या यस्ले गर्छ हेर अर्थबोध सही
प्रेषक्-प्रापक् दुवैको हुन जान्छ उही ॥६५॥

लौकिक संचारमा कि्रया प्रतिकि्रया
साचार्रत पक्षलाई राख्छ सकि्रय ।
मननको तह पार गर्छ जस्ले तर
प्रतिकि्रया नचाहिने निदिध्यासन् साक्षात्कार ॥६६॥

संचारको मद्वारा विकसित् यो ढाँचा
भएकाले हिन्दू मत्को पूरापूर सच्चा ।
आवश्यक पन्र्यै थियो भौतिक् भन्दा पर
पुगिकन व्याख्या गर्ने जीवन उच्चतर ॥६७॥

ख्याल राखी वैदिक हिन्दू मान्यतालाई
आधिदैविक् साथमा आध्यात्मिक् साचार्लाई ।
साधारणीकरण-ढाँचा प्रष्ट्याउँदै छ है
संचारको क्षेत्र त यी तीन्वटै हुन् है ॥६८॥

भौतिक र मानसिक साचारको कुरा
सन्देशको साझेदारी सफलता पूरा ।
आदर्शको अवस्थामा सबै संचारवाला
पुग्दछन् जुन् स्थिति हो है सहृदयता ॥६९॥

आध्यात्मिक संचारमा अझै पर पुग्ने
सहृदयी बनेपछि साक्षात्कार हुने ।
मोक्ष पनि सम्भव साचार्बाटै हेर
शब्दब्रह्मलाई नै गरी साक्षात्कार ॥७०॥

लक्ष्य के हो संचारको यसले बुझाउँछ
संचारबाटै समझ्दारी हुने देखाउँछ ।
सूचनाको साझेदारी हुँदै अघि बढी
एकत्वको अनुभूति गर्नु पर्छ साथी ॥७१॥

पुरुषार्थ मानवका चारवटा मानवका भन्ने
अर्थ काम धर्म मोक्ष यसरी जान्ने ।
हिन्दू मत मेरो ढाँचा अंगीकार गर्छ
संचारबाटै प्राप्य छन् भन्ने प्रष्ट्याउँछ ॥७२॥

समष्टिमा भन्नु पर्दा केन्द्रीय भाव
सहृदयता बुझेपछि बुझिनेछ सब ।
संचारको प्रकि्रयामा धेरै गर्दा विचार्
सहृदय बन्नलाई हुनु पर्छ संचार ॥७३॥

Sunday, September 18, 2011

निर्मलमणि अधिकारी आयोदधौम्यका दुई नयाँ पुस्तक-कृतिहरु प्रकाशित

अधिकारी, निर्मलमणि । वि.सं. २०६८ । संचार मीमांसा । काठमाडौं : मिडिया एजुकेटर्स एसोसिएसन अफ् नेपाल ।

अधिकारी, ‘आयोदधौम्य’ निर्मलमणि । वि.सं. २०६८ । जीवन : अन्तर्दृष्टि (खण्डकाव्य) । तनहुँ : तरङ्ग साहित्यिक अभियान ।

Thursday, January 13, 2011

बुझ र फर्क (वि.सं. २०४९ मा राष्ट्रिय वातावरण कविता प्रतियोगितामा प्रथम पुरस्कार)

बुझ र फर्क
कवि - आयोदधौम्य (निर्मलमणि अधिकारी)

उजाड बनेको छ पृथ्वी
नीरस र फूङ्ग नेपाल -
कतै नदीमा बगरै-बगर टल्कने त होइन,
मानिसहरुको जीजीविषा धप्धप् बलेर
खरानी त हुन्न हाम्रो संसार !
ए मान्छे हो,
रोक आफैंलाई डढाउन खोज्ने हातहरु,
पछि फर्काऊ विष कुण्डतिर बढेका
तिम्रा ती खुट्टाहरु;
रुखसँग आत्मियता राखेर हेर,
यसका रत्याउने गीतका तालमा नाच त,
त्यसपछि तिम्रा हातहरु
ममतामयी नारीलेझैं
रुखलाई संरक्षण गर्न प्रयोग गर,
भविष्यमाथि बन्चरो नहान,
बुझ र फर्क -
हरित नेपालतर्फ ।
वि.सं. २०४९ मा राष्ट्रिय वातावरण कविता प्रतियोगितामा प्रथम पुरस्कार पाउन सफल यो कविता ऋचा, २०४९ कार्तिकमा प्रकाशित छ ।

Friday, December 3, 2010

कृति - जीवन : अन्तर्दृष्टि । विधा - खण्डकाव्य । कवि - 'आयोदधौम्य' निर्मलमणि अधिकारी । प्रकाशक - तरङ्ग साहित्यिक अभियान । प्रथम संस्करण - वि.सं. २०६७

कृति - जीवन : अन्तर्दृष्टि । विधा - खण्डकाव्य । कवि - 'आयोदधौम्य' निर्मलमणि अधिकारी । प्रकाशक - तरङ्ग साहित्यिक अभियान । प्रथम संस्करण - वि.सं. २०६७ (सन् २०१०) ।

'जीवन-सत्य'लाई बुझ्ने प्रयत्नरुपी यात्रालाई नै यस खण्डकाव्यको विषय-वस्तु बनाइएको छ । रुनु, हाँस्नु, रुनु-हाँस्नु, हाँस्नु-रुनु आदिलाई जीवन-भोगाइका अनेक आयामका प्रतीकका रुपमा यस खण्डकाव्यमा प्रयोग गरिएको छ । यी अवधारणाका मद्दतले जीवनका विविध पक्षहरुलाई प्रतिनिधित्व गराइएको छ । सक्कली जीवन अर्थात् 'जीवन-सत्य' भनेको 'आत्मसाक्षात्कार' नै हो भन्ने निष्कर्षमा यो कृतिको समापन हुन्छ ।
व्यक्ति एक्लै जन्मिन्छ; तर तत्क्षण सामाजिक सम्बन्धका साजालको एक अंशका रुपमा परिणत हुन्छ । माता-पितासँगको सम्बन्धको तन्तुबाट जोडिएर सारा ब्रह्माण्डसँग साइनो जोड्छ व्यक्तिले । प्रतिक्षण सामाजिकीकरणको साँचोले उसलाई यो वा त्यो रुपमा ढाल्न परीक्षण गरिरहेको हुन्छ । भौतिक मानसिक आध्यात्मिक सबै आयाममा समाज-निर्देशित मापदण्डमा बाह्य र आभ्यन्तरिक यात्रालाई गतिमान गराउने क्रममा रहने उक्त व्यक्ति समाजमा निहीत विविधता र तिनका फरक दाबी दिग्दर्शन अभिप्रेरणा आदिले रनभुल्ल हुने सम्भावना अत्यधिक रहन्छ । यही फेरोमा आफ्नो जीवनको 'सत्य' गन्जागोल भएको अवस्थामा पनि सहजै जीवन बाँच्न सक्नेहरु पनि अवश्यै छन् यो संसारमा; तर कतिपयलाई चित्त बुझ्दैन र जीवनको अर्थ खोज्ने यात्रा प्रवाहमान हुन्छ । बाढीसँगै बगेको सिन्को वा हूरीसँगै बतासिएको पत्करझैँ जीवन बाँच्ने नियतिमै अल्झेका हुन्छन् कतिपय; तर जीवनको अर्थ खोज्ने यात्रामा अघि बढ्नेहरु आफ्नो मानक आफैँ निर्धरण गर्न चाहन्छन् ।
प्रस्तुत खण्डकाव्यको मूल पात्र कोही एक मानव व्यक्ति को जीवनयात्रा साधारण मानिसको जीवनयात्रा होइन; यो त 'जीवन-सत्य'को खोजीको प्रतिबिम्बन हो । अन्ततोगत्वा व्यक्तिले आफ्नो जीवनलाई आफैँले बुझ्ने विधि निरुपण गर्छ । 'साक्षात्कार'को तहमा साधन र साध्य, ध्यान र ध्येय, विधि र विधाता, नाम र नामीबीच एकत्व हुने विश्वदृष्टिकोण/जीवनदर्शनमा विश्वास गर्ने भएकाले त्यसपछि खण्डकाव्यमा केही थप्नु पर्ने आवश्यकता नदेखिएको हो । यसरी यस कृतिमा मानवजीवनको आरम्भदेखि उठान गरेर जीवनयात्रालाई एक समुचित निष्कर्षसम्म पुर्याइएको छ ।

.....

Back-cover of the book contains the following:
प्रस्तुत कृतिका सर्जक हुन् - 'आयोदधौम्य' निर्मलमणि अधिकारी । नेपालको तनहुँ जिल्ला छाङ्ग गा.वि.स.-४ पिपलटारमा वि.सं. २०३३ मा जन्मेका निर्मलमणि अधिकारी 'आयोदधौम्य' को नवौँ प्रकाशित खण्डकाव्य हो यो । यसअघि टोकाहा, वीराङ्गना शूरप्रभा, क्षात्रमूर्ति जना, भूकम्पका खण्डहरहरु, असन्तोषी पानाहरु, आकाश यसरी खुल्छ, नियमित कथा यही संसारको र लक्ष्यवेध शीर्षकमा उनका खण्डकाव्यहरु प्रकाशित भइसकेका छन् । समष्टिमा साहित्य, संस्कृति, दर्शन, संचार, पत्रकारिता आदि विधामा गरी उनका करिब ३० वटा पुस्तक-कृतिहरु प्रकाशित भइसकेका छन् । साथै अधिकारीद्वारा लिखित दर्जनौँ शोधलेख एवम् सयौँ विश्लेषणात्मक लेखहरु पनि प्रकाशित छन् ।
अधिकारी तरङ्ग साहित्यिक अभियान (वि.सं. २०५२) का संस्थापक एवम् अध्यक्ष, नेपाली भाषा-संस्कृति परिषद् (वि.सं. २०५४) का संस्थापक महासचिव र युग निर्माण अभियान (वि.सं. २०५८) का संस्थापक अध्यक्ष हुन् । उनी मिडिया एजुकेटस्र एसोसिएसन अफ् नेपाल (वि.सं. २०६४) का पनि अध्यक्ष हुन् । यिनका अतिरिक्त स्थानीय, राष्ट्रिय, क्षेत्रीय तथा वैश्विक तहका अनेक संस्थाहरुमा पनि उनको संलग्नता रहेको छ ।
वि.सं. २०६३ देखि उनी काठमाण्डौ विश्वविद्यालय, भाषा तथा आमसाचार विभागमा प्राध्यापन गर्छन् । त्यसअघि उनी मदन भण्डारी मेमोरियल कलेज काठमाडौँमा पत्रकारिता तथा आमसंचार विभागका प्रमुख थिए । विगतमा उनले तनहुँस्थित माध्यमिक विद्यालयहरु र काठमाण्डौँस्थित उच्चमाध्यमिक विद्यालयहरुमा अध्यापन पनि गरेका थिए ।
निर्मलमणि अधिकारीले अनेक सम्मान पुरस्कार तथा फेलोसिप पाएका छन् । उनलाई नेपाल जेसिज राष्ट्रिय समितिले सन् २००८ मा वर्ष व्यक्ति घोषणा गरी स्वर्णपदकसहित सम्मान गरेको थियो भने सन् २००३ मा संयुक्त राज्य अमेरिकास्थित फोरम् फर् इन्टरफेथ् सोलिडारिटीले धार्मिक विषयवस्तुमा लेख्ने विश्वकै प्रभावशाली लेखकका रुपमा सम्मान गरेको थियो । उनले राष्ट्रिय वातावरण कविता प्रतियोगितामा प्रथम पुरस्कार (वि.सं. २०४९) एवम् राष्ट्रिय निबन्ध प्रतियोगितामा स्वर्णपदक (वि.सं. २०५३) र प्रथम पुरस्कार (वि.सं. २०५४) पनि जितेका थिए । अधिकारीलाई देश/विदेशका विभिन्न संस्थाले हिन्दू भ्वाइस फेलोसिप (सन् २०१०-२०१२), चौतारी मिडिया फेलोसिप (सन् २०१०), स्वामी विवेकानन्द पारितोषिक (सन् २००९), उत्कृष्ट युवा पुरस्कार (सन् २००९), शुक्ला गण्डकी सम्मान (वि.सं. २०६०), हरफ साहित्यिक सम्मान (वि.सं. २०६१) आदि प्रदान गरेका छन् ।

Friday, November 12, 2010

आयोदधौम्यद्वारा वि. सं. २०५० लेखिएको एक टुक्रो

प्रीति-गान

लेख्न खोजेको थिएँ कविता नै
तर बनेछ यो त
तिम्रै कहानी ।
हेर मेरा आँखामा-
यहाँ महाकाव्यहरु प्रवाहित भइरहेछन्
तिम्रै,
फगत् तिम्रै ।
मेरा हरेक श्वास-प्रश्वासमा
आरोह-अवरोह तिम्रै प्रीतिगानका;
आहा ! धड्कनमा पनि त तिमी नै छौ ।

Wednesday, September 22, 2010

सम्झना छ मनभित्र (२०५४-७-२८)

न त केहि चिनो न छ साथमा फोटो
दिन साह्रै लामो लामो रात साह्रै छोटो

एक झलक् पाउनपनि नसकेको धेरै भयो
मनको कुरो खोल्ने इच्छा हाय मनमै रह्यो

तिमी भयौ नदी उता यता पारी परिएछ
सपनीको सुखान्त नि झस्काइले हरिएछ

फोटो भए हेर्थें छैन साथ्मा केही
सम्झना छ मनभित्र आँखाभरी त्यही ॥
२०५४-७-२८

Wednesday, September 1, 2010

माया माया भन्दाभन्दै (२०५४-८-१५)

माया माया भन्दाभन्दै सुकिसक्यो काया
आफैलाई छोडूँ छोडूँ भन्छ आफ्नै छाया

मन उड्यो कता कता सिमलको भुवा
रुँदारुँदै रित्तिन्छ कि आँसूको यो कुवा

जतिखेर जतिबेला पनि तिम्रै फिक्री
बाँधिसक्यौ यो मनलाई माया बनी सिक्री

तिमीबिना केही छैन फगत् हुन्छ शुन्य
हृदयलाई बुझ तिमी माया गरी पुण्य

कतै छोडिजाने हौकि पर्दैछ नि भ्रान्ति
तिमीबिना हाय संसार हाय हाय शान्ति ॥
२०५४-८-१५

Tuesday, June 29, 2010

आफ्नै-आफ्नै सपना बोकेका दुई पुस्तासँग

मलाई परिवारका दुई पुस्ताले आ-आफ्नै तवरले प्रशिक्षित गर्नु भएको थियो । मेरा पिताजी र मेरा दाई दुईजनासँगबाट मैले बिल्कुलै फरक-फरक विधाहरु पढ्न पाएको थिएँ । उहाँहरु दुबैसँग आफ्नै-आफ्नै सपना थिए र ती अधूरा-अपूरा सपनालाई विपनामा साकार गर्न उहाँहरु दत्तचित्त हुनुहुन्थ्यो । ती दुबै कल्पनामा ऐक्यतापनि थियो ।

सनातन हिन्दूधर्मशास्त्रका प्रकाण्ड विद्वान धार्मिक प्रकृतिका अनि आफ्ना अडानमा अत्यन्तै दृढ रहने स्वभावका पिताजी पण्डित रुद्रमणि (उहाँकी आमा अर्थात् मेरी हजुरआमाले दिनुभएको नामचाहिँ “चिरंजीवि”) र एक अक्षर पनि नचिन्नुभएकी, साह्रै दयालु-मायालु अनि अत्यन्तै परिश्रमी आमा – रमादेवी (उहाँको नाम माइतीमाचाहिँ “सीता”) को प्यारो छोरो म । मेरा माता-पितालाई के विश्वास रहेको थियो भने मेरो जन्म भगवान्को प्रसाद स्वरुप भएको हो । एक वर्षसम्म नित्य भगवद्-पूजन पश्चात् मेरो जन्म भएको भन्ने कुरा उहाँहरुले मलाई धेरैपल्ट बताउनु भएको छ । त्यसैकारणले पनि होला सानैदेखि मेरो विशेष ख्याल राखिएको थियो ।
पिताजीका छोराहरु तत्कालीन परिवेश अनुरुप सुपठित भएतापनि उहाँहरुले पिताजीको आफ्नो विद्या अर्थात् सनातन हिन्दू धर्मशास्त्र नपढी नयाँ सरकारी शिक्षा हासिल गरेको हुँदा मेरा पिताजीलाई आफ्नो शेष पछि परम्परा कसले थाम्ने भन्ने सवालले टोकिरहेको थियो ।
छोराहरुलाई संस्कृत शिक्षा दिन उत्कट इच्छा-आकांक्षा हुँदाहुँदैपनि कतै संस्कृत पढेकै कारणले जागिर नपाएर भविष्यमा आफ्ना सन्तानले दुःख-कष्ट पाउने पो हुन्कि भन्ने आशंका पनि भएकाले उहाँका छोरा-छोरीको शिक्षादीक्षा सरकारी विद्यालयमार्फत् नै भयो । अर्को उत्तिकै उल्लेख्य पक्ष केपनि होभने मेरा दाजुहरुमध्ये कतिपयले स्वयम् नै पिताजीको जस्तो जीवन-दर्शन र मान्यताप्रति व्यावहारिक तवरलेनै अनास्था प्रकट गरिदिएर पिताजीको आफ्नो सन्तानलाई संस्कृत धार्मिक शिक्षा दिने इच्छा-आकांक्षामाथि तुसारापात गरिदिनु भएको थियो । पिताजीले जे-जे नगरिदिए हुन्थ्यो जे-जे नखाइदिए हुन्थ्यो इच्छा राख्नुहुन्थ्यो त्यही-त्यही गर्दिने/खाइदिने सन्तानका कारण कहिलेकाहिँ पिताजी साह्रै निराश एवं दुःखी भएको मैले देखेको छु । अब पिताजीको आशा ममाथि थियो । उहाँ “भगवद्कृपावश जन्मेको” पुत्रलाई आफ्नो बिँडो थाम्ने उत्तराधिकारीका रुपमा हेर्नुहुन्थ्यो । उहाँको आशा ममाथि थियो भन्नुको अर्थ केभने उहाँ मलाई आफूजस्तै ‘पण्डित’ बनाउन चाहनुहुन्थ्यो । यतिमात्रै होइन नि उहाँ मेरालागि आधुनिक शिक्षा दिने कुरामा त झन् बढी सचेत हुनुहुन्थ्यो । उहाँको इच्छा केभने म विद्यालयमा आधुनिक शिक्षा हासिल गरुँ र घरमाचाहिँ परम्परागत शिक्षा । अर्थात् उहाँको चाहना थियो- छोरोले दुबै ‘विद्या’ पढोस् – अंग्रेजी पनि र संस्कृत पनि । छोरोले एकैचोटी दुई-दुईतर्फको पढाइ थाम्नसक्छ भन्नेमा अचम्मसँग विश्वस्त हुनुहुन्थ्यो मेरा पिताजी । माध्यमिक विद्यालयस्तरमा पढ्दासम्म एस.एल.सी. पास हुँदाको बेलासम्म उहाँको विश्वासलाई मैले कायम राखेको पनि थिएँ । पछिचाहिँ मेरो पढाइ पहिलेजस्तो रहेन ।
मेरा दाजु हुतमणिकोबारेमा कुरा गर्दा उहाँ प्रविणता प्रमाणपत्र (आई.ए.) तहको पढाइ सक्दानसक्दै गाउँको प्राथमिक विद्यालयमा शिक्षक भएर बस्नु परेको थियो । मलाई के लाग्थ्यो भने परिस्थितिले उहाँमाथि ठूलो अन्याय गरेको थियो ।
पिताजीका तीनवटी श्रीमतीतर्फका तीन परिवार भएकाले सबै एकै ठाउँमा बस्न सम्भव थिएन । छुट्टाभिन्न हुँदाखेरीमा एक त हामी कान्छीतर्फका सन्तान भएकाले साना थियौं; जेठी र माइली आमातर्फका दाजुहरु त जागिरे भएकाले नियमित आम्दानीको बाटो थियो -यदि पिताजी नहुने होभने हाम्रो त बिचल्ली नै हुन्थ्यो; अनि यसका अतिरिक्त उहाँहरुबाट पिताजीको जीवन-दर्शनप्रति द्रोह गरिएकालेपनि स्वभावतः पिताजी हामीसँग बस्नुभएको थियो । उमेरमा अतिनै पौरखी भएतापनि पिताजीको वृद्धावस्थालाई विचार गर्दा मेरो दाजुले घर-व्यवहार सम्हाल्नु परेको थियो ।
दाई १८ वर्ष पुग्दानपुग्दै गृहस्थीले पुरै किच्यो र महान् सम्भावना बोकेको एउटा युवा त्यत्तिकै कुण्ठित भयो । जसरी मलाई अवसर मिल्यो त्यो अवसर मेरो दाईलाई मिलेको भए आज म जे छु त्योभन्दा धेरै उपलब्धि मेरो दाजुले हासिल गर्नुहुनेथियो भन्नेमा म सधैं विश्वस्त छु । उहाँको प्रतिभाको समुचित उपयोग हुन नसकेकोमा मलाई सदा खेद छ । मेरा पिताजीको महान् प्रतिभा एवं विराट विद्वत्ता र योगदान पनि यो समाजले जति चिन्नुपर्ने हो त्यति चिन्न सकेन । पिताजी घर-व्यवहारमा यति धेरै अल्मलिनु पर्योकि उहाँभन्दा निकै निम्न प्रतिभा र योग्यता भएकाहरु नक्कली मुजुर भएर नाचिरहन पाइरहे । मेरा जेठाबाठा दाजुहरुले पिताजीलाई सघाइदिएकाभए स्थिति अर्कै हुनेथियो भन्ने मेरो मनमा शैशवावस्था देखिनै परेको छ । अनेक पक्षबाट पिताजीलाई काँध थाप्न पाएकोमा मलाई सन्तोष छ ।
मेरो दाजुले आफ्नो इच्छा-आकांक्षालाई त्यसै गुट्मुट्याएर घर-व्यवहारमा अल्मलिनु पर्यो तर उहाँको हार्दिक इच्छा आफ्नो पि्रय भाइलाईचाहिँ जसरीपनि उन्नति-प्रगतिको शिखरमा पुर् याउनेमा दृढ थियो । त्यसकारण शिशु अवस्थाबाटनै उहाँले मेरो पढाइ-लेखाइमा विशेष ध्यान पुर्याउनुभयो । मेरा दिदीहरु -भारती र बिस्नु-सँगपनि मैले केही पढेको त हुँदोहुँ तर अहिले मलाई सम्झना छैन । आमाको सम्बन्धमा मैले आरम्भमै भनिसकेको छु एक अक्षर पनि नचिन्नु भएकी भनेर । तर आफू नपढेपनि छोरा-छोरीलाई पढाउने कुरामा आमा यति धेरै ध्यान पुर् याउनु हुन्थ्योकि बर्णन गरिसाध्य छैन । ज्ञान-आर्जननिमित्त एकदमै उपयुक्त वातावरण भएको घर थियो हाम्रो ।
मलाई परिवारका दुई पुस्ताले आ-आफ्नै तवरले प्रशिक्षित गर्नु भएको थियो । मेरा पिताजी र मेरा दाई दुईजनासँगबाट मैले बिल्कुलै फरक-फरक विधाहरु पढ्न पाएको थिएँ । उहाँहरु दुबैसँग आफ्नै-आफ्नै सपना थिए र ती अधूरा-अपूरा सपनालाई विपनामा साकार गर्न उहाँहरु दत्तचित्त हुनुहुन्थ्यो । ती दुबै कल्पनामा ऐक्यतापनि थियो ।

Wednesday, June 23, 2010

घर नै पहिलो पाठशाला

निर्मलमणि अधिकारी (आयोदधौम्य) द्वारा लिखित, अप्रकाशित-आत्मकथाबाट झिकिएको एक अंश

भनिन्छकि घर नै पहिलो पाठशाला हो । यो कुरा मेरोबारेमा राम्ररी लागू हुन्छ । मेरो वैचारिक यात्रा अर्थात् विचारको निर्मल-यात्राको आरम्भ विन्दुमा पुग्नकालागि मेरो पारिवारिक चर्चाबाटै कुरो शुरु गर्नुपर्ने हुन्छ । मेरो के विश्वास रहिआएको छभने प्रत्येक शिशु विशेष संभावनाहरुका साथमा जन्मेको हुन्छ र उसको सफलता वा असफलतामा यस धर्तीमा ऊ जन्मेपछि उसले पाउने अवसरहरुले पनि अत्यन्त महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । यदि म कुनै कुरामा सफल ठानिएँछु भने त्यसको श्रेय पिता-माता, दाजु, घर-परिवार तथा गुरुजनलाई नै दिन्छु म । असफलताहरुचाहिँ मेरा आफ्ना कमाइ हुन् र यिन्लाई म कदाचित् कसैसँग पनि भागबण्डा लगाउन चाहन्नँ ।
विचारको द्वन्द्वबाट पार नपाइकन कुनै विचारकले आफ्नो मौलिक विचार विकसित गर्न सकेको छैन र भविष्यमा पनि प्रत्येक विचारकले विचारको द्वन्द्वात्मक प्रकि्रयाबाट पार पाएपछिमात्र आफूलाई एउटा विचारकका रुपमा प्रस्तुत गर्न सक्नेछ । यसमा कुनै परमतत्व वा ईश्वरीय अनुकम्पाको अनुभूति पनि कोही-कोहीले गर्दछन् । म आफूलाई त्यस्तो भाग्यमानीका रुपमा पाउँदा गौरवान्वित छु । मेरो आफ्नो विचारयात्राको सन्दर्भमा कुरा गर्दा सौभाग्यवश पारिवारिक पृष्ठभूमिका कारणले गर्दा शैशवकाल देखि नै मेरो बाटो करिब-करिब यही थियो । हो यदाकदा केही आरोह-अवरोह नआएका होइनन् । कतिपय समयमा म आफ्नो मूलबाटोभन्दा केही टाढा रुमल्लिएको र नजाने गाउँको बाटोमा रल्लिएको थिइनँ भनेर ठोकुवा म गर्न सक्दिनँ । विचार-मन्थनको लामो प्रकृया पार गरेरै ममा दृढता आएको हो । पछुताउन पर्नेगरी बाटो नबिराएको भएतापनि विचारको द्वन्द्वमा खारिनचाहिँ परेकै हो । तर सौभाग्यवश मेरो पारिवारिक पृष्ठभूमिका कारण मैले उचित दिग्दर्शन पाइरहेँ र विचारको द्वन्द्वात्मक यात्रामा मेरो डुङ्गा डुबेन ।
बाटाहरु धेरै हुन्छन् । ती मध्ये कतिपय सुबाटा हुन्छन् भने कतिपय कुबाटा पनि हुन्छन् । यदि आन्तरिक प्रकाशको उज्यालोले हामी प्रकाशित भइसकेका छौं भने सुबाटाहरुमध्ये पनि सर्वाेत्तमचाहिँ बाटो रोज्न कठिनाइ पर्दैन । तर आन्तरिक रुपमा पनि अँध्यारोमा भ्रमित हुने अनि बाह्य तवरमा पनि गलत दिग्दर्शकका फेला परियो भने त खत्तमै हुनजान्छ । दिग्दर्शनको आवश्यकता मानिसलाई करिब-करिब उसको जन्मकालदेखिनै आवश्यकता पर्दछ । त्यसैले त घर-परिवारको महत्व अनुपमेय रहेको हो । कतिपय व्यक्तिहरु पारिवारिक कुसंस्कारवश गलत कार्य गरिरहेका भएतापनि सद्गुरुका कृपावश सही बाटोमा आइपुग्न पनि सक्छन् जस्तोकि वाल्मिकी तथा अंगुलिमाल जस्ता उदाहरण हामीसँग छन् । तर ती त भाग्यशाली थिए र पो पछि सद्गुरु फेला पारे । अन्यथा पारिवारिक वा सामाजिक संस्कार नमिलेको अवस्थामा सही दिग्दर्शक फेला पार्नु असंभवप्रायः नै हुन्छ । तसर्थ सकेसम्म घर-परिवारमै र त्यो सम्भव नभएतापनि पाठशाला यानेकि विद्यालयमा त नयाँ पुस्ताका निमित्त उचित संस्कारको समुचित शिक्षा दिनै पर्दछ ।
मेरो अनुभवमा त विद्यालय/क्याम्पसमा गएपछि पारिवारिक पृष्ठभूमिबाट प्राप्त संस्कार समेत बिग्रन सक्ने स्थिति मैले देखेको छु । मेरो र मेरा दाजु-भाइ-दिदीका व्यक्तिगत आचार-व्यवहारमा यदि िकंचित् मात्रपनि संस्कारहीनताको संकेत छभने त्यसलाई विद्यालय/क्याम्पस वा यस्तै सार्वजनिक स्थानमा पुगिसकेपछिको कमाइ भन्ने जाने हुन्छ । नत्र हाम्रो पहिलो पाठशाला अर्थात् हाम्रो घरबाट हामीले गलत संस्कार प्राप्त गर्ने क्षीण संभावना समेत थिएन । हामीलाई के सही र के गलत भनेर चिन्न सक्ने बनाइएको थियो ।