Wednesday, May 27, 2020

मधुयाम जिन्दगीमा आजै आए जस्तो

मधुयाम जिन्दगीमा आजै आए जस्तो
कोइलीले तिम्रै हाम्रै गीत गाए जस्तो

बहारले हाम्रै निम्ति सजाएको जस्तो
लज्जावती हामीसँगै लजाएको जस्तो

नदीहरु हाम्रै सूरमा सुसाएको जस्तो
झरनाले हाम्रो प्रीत रुचाएको जस्तो

तिम्रो साथ हुँदा सब थोक पाए जस्तो
सपनीमा विपनीमा माया लाए जस्तो

धर्तीबाट धेरै पर स्वर्ग आए जस्तो
मधुयाम जिन्दगीमा आजै आए जस्तो ॥

आयोदधौम्य (निर्मलमणि अधिकारी)

Sunday, April 5, 2020

अघि बढौँ यो युग हाम्रो हो

हुँदैन यो दुरवस्था/दुर्दशामा रल्लिन;
अघि बढौँ -
पुनर्जागरणको मार्गमा;
पुन: श्रेष्ठ बन्नेछौँ ।
वैदिक मन्त्रद्रष्टा ऋषिका सन्तान हामी;
तीर्थंकर र बुद्धका आशिर्वाद पनि हामीसँगै छ;
अनेकौँ आचार्य, गुरु, सन्तका मार्गदर्शनको परम्परा छ हामीसँग;
अघि बढौँ यो युग हाम्रो हो ।