Friday, January 7, 2022

हिमवत्खण्ड महाकाव्यको समीक्षा

 वैदिक कथानकमा वर्तमान–युगीन संचेतना : हिमवत्खण्ड महाकाव्य 

डा. निर्मलमणि अधिकारी "आयोदधौम्य", भाषा तथा आमसञ्चार विभाग, काठमाडौँ विश्वविद्यालय 

(यो समीक्षा २०६५ सालमा गोरखापत्र दैनिकमा प्रकाशित भएको थियो ।)

काव्यसृजन, काव्यशास्त्रीय अनुचिन्तन, समालोचना एवं प्राध्यापन कर्मबाट नेपाली वाङ्मयलाई पुष्पित–पल्लवित पार्ने विशिष्ट साधक भानुभक्त पोखरेलको महाकाव्य हिमवत्खण्ड वि.सं. २०६४ सालमा प्रकाशित भएको हो । यो महाकाव्यमा सङ्क्रमणकालीन नेपालका लागि युगीन सन्देश रहेको पाइन्छ । राज्य र समाज दुवैका रूपमा नेपालको बृहत्तर (कतिपयले त वैकल्पिक वा नयाँ) परिभाषा खोज्दै गरेको यस कालखण्डमा सो युग–संचेतनालाई कवि पोखरेलले हिमवत्खण्ड महाकाव्यमार्फत्सम्बोधन गरेका छन् । 

सङ्क्रमणकालीन नेपालमा एकातिर राज्यको स्वरूप समावेशी हुनु पर्ने मागलाई सम्बोधन गर्नु छ भने अर्कोतिर विगतमा एक नेपाल राष्ट्र र एक नेपाली जाति भन्ने बृहद् परिचयभित्रै अटाएका, तर नयाँ परिवेशमा नयाँ आकाङ्क्षासहित मौलाएका बहुविध पहिचान (आइडेन्टिटी) हरूबीचको द्वन्द्वलाई समन्वयात्मक निष्कर्षमा पु¥याउनु पनि छ । वैदिक (मूलतः ऋग्वैदिक) कथानकलाई आधार मानेर लेखिएको हिमवत्खण्ड महाकाव्यमार्फत् कवि पोखरेलले त्यस्तो निष्कर्षको आधार प्रष्ट्याएका छन् । यस मानेमा वर्तमान नेपालका जुन–कुनै जातीय/सांस्कृतिक समूहका सदस्यहरूका लागि यो कृति पठनीय–सङ्ग्रहणीय बनेको छ । 

ऋग्वैदिक पृष्ठभूमिमा लेखिएको यही नै पहिलो महाकाव्य हो नेपाली भाषामा । कविकै शब्दमा भन्ने हो भने यसको “विषयवस्तु, कथावस्तु, कथानक वा कथा मूलतः ऋग्वैदिक–वैदिक मन्त्रहरू चालेर, सिलोसँगालो गरेर तिनका सूक्ष्म तन्तुहरूद्वारा तुनिएको–बुनिएको छ भने सहयोगीका रूपमा प्राचीन–पुरातन आख्यान–उपाख्यान तथा पूर्वी–पश्चिमी मिथकीय कथा, लोकगाथा–कथाका साथै उपनिषद्लगायत विभिन्न पुराण–महापुराण आदि अनेकौँ सामग्रीको रासायनिक तत्व पनि लिइएको छ ।” त्यस क्रममा काव्यिक रसात्मकता र कवि–कल्पनाको उडान प्रचूर हुँदाहुँदै पनि कविमा नवीन वैज्ञानिक दृष्टिकोण र ऐतिहासिक–पुरातात्विक ‘तथ्य’ का सन्दर्भमा अनुसन्धानात्मक आधार पाइन्छ । 

भारतवर्षीय सन्दर्भमा ज्ञान, विज्ञान, अध्यात्म, धर्म, संस्कृति सबैको मूल वेद नै मानिएको छ । वैदिक युगीन राजनीतिबारे अध्ययन–अनुसन्धानको क्रम चलिरहेको छ र हालसम्मको अध्ययनबाट विज्ञहरू के निष्कर्षमा पुगेका छन् भने सामाजिक, राजनीतिक एवं सांस्कृतिक दृष्टिले उपयोगी विभिन्न संस्थाहरूको मूल पनि वेदमा पाउन सकिन्छ । वैदिक पृष्ठभूमिको कथानकबाट वर्तमानकालका लागि सन्देश निकालेर कविवर पोखरेलले सोही मान्यतालाई सार्थक तुल्याएका छन् ।

वैदिक युग प्रस्थानबिन्दु भए तापनि कवि पोखरेलकृत हिमवत्खण्ड महाकाव्यको युग–संचेतनाको प्रवाह वर्तमानकालसम्मै आइपुग्छ । आर्य र किरातका राजनैतिक स्वार्थ एक–आपसमा नमिल्ने भन्ठानिने मान्यताको विकल्पमा किराती सम्राट् शम्बरासुर हिमवत्खण्डीय महाएकताको अवधारणा अघि सार्छन् । त्यसपछि हिमवत्खण्डमा ध्रुवीकरण सुरु हुन्छ र यस क्रममा अनेक युद्धहरू हुन्छन् । लामो समयसम्मको महायुद्धपश्चात् सम्राट् शम्बरासुरकी पत्नी महारानी विवक्षा र सम्राट् दिवोदासकी पत्नी महारानी सुलोचनाको नेतृत्वमा हिमवत्खण्डीय महाएकता साकार हुन्छ । समकालीन नेपालमा पनि विभिन्न जातीय, क्षेत्रीय, सम्प्रदायगत आकांक्षा र पहिचान (आइडेन्टिटी) हरूबीच अन्तद्र्वन्द्व रहेको छ र सो अन्तद्र्वन्द्वलाई उपयुक्त तवरले समाधान गरेर मात्र अचेल भनिने गरेको “नयाँ नेपाल” ले मूर्तरूप लिने हो । त्यसका लागि कवि पोखरेलले यस महाकाव्यमार्फत् दिग्दर्शन गराएको ‘महाएकता’को अवधारणालाई आत्मसात् नगरी हुँदैन । 

अहिले नेपालमा जातीय साथसाथै भाषिक, धार्मिक, क्षेत्रीय, राजनीतिक, आर्थिक लगायतका अनेकौं किसिमका द्वन्द्व वा विवादहरूको सगबगाहट चलिरहेको छ । त्यसोहुँदा स्थिति बडो जटिल छ । तर यति जटिल पनि छैनकि समस्याको समाधान गर्न नै नसकियोस् । हरेक समस्याहरू समाधान गर्न सकिन्छ । समाजलाई यथास्थितिमा राख्नु पर्छ भन्ठान्नु वैज्ञानिकतायुक्त दृष्टिकोण होइन र त्यो स्वीकार्य पनि छैन । कसैले चाह“दैमा समाज यथास्थितिमा टक्क रोकिएर बस्ने पनि होइन । त्यसो हु“दा नेपालमा जातीय सवालमा नया“–नया“ दृष्टिकोणहरू आउनु र ‘जनजाति’, ‘आदिबासी’, ‘मधेशी’ र ‘दलित’हरूले आफ्ना भूमिकालाई पुनः परिभाषा गर्न चाहनु स्वाभाविक हो । अनि, नेपालजस्तो बहुजातीय भनिने देशमा जातीय सवालमा बहस, छलफल तथा अन्तक्र्रियाको थालनी हुनु राम्रो हो किन भने वादको विवादलाई सम्वादमा परिणत गरेर समाजका लागि उपयुक्त निकास निकाल्न सकिएमा यस्ता बहस, छलफल तथा अन्तक्र्रियाले अपूर्व अवसर समेत प्रदान गर्न सक्छन् । तर यस्ता सवाललाई बुद्धिमत्तापूर्वक सम्बोधन र तिनले उठाएका सवाललाई सही तरिकाले समाधान गर्न नसक्दा परिणाम त्रासदीपूर्ण हुने खतरालाई पनि बिर्सन मिल्दैन । कुनै पनि सवालको जरोसम्म पुग्न सबै पक्ष हेर्नु पर्ने हुन्छ । जातीय सवालका सकारात्मक र नकारात्मक दुवै पक्ष रहेका छन् । सकारात्मक तत्व ग्रहण र नकारात्मक तत्व निराकरण नगरी ‘जातीय आन्दोलन’ सही दिशामा अघि बढ्न सक्दैन । हो, यहीँनेर सान्दर्भिकता छ हिमवत्खण्ड महाकाव्यमार्फत् कविवर भानुभक्त पोखरेलले अगाडि सारेको दृष्टिकोणको ।

हिमवत्खण्ड महाकाव्यको रचनागर्भलाई बुझ्न यसका स्रष्टा कविवर पोखरेलको अध्यक्षतामा वि.सं. २०५४ गठित ‘नेपाली भाषा–संस्कृति परिषद्’ मार्फत् अगाडि बढेका चिन्तनधारालाई उल्लेख गर्नै पर्ने हुन्छ । ‘नेपाली भाषा–संस्कुति परिषद्’ले ‘एक नेपालीजाति’को वृहद् अवधारणालाई अगाडि सारेको थियो । ‘नेपाली भाषा–संस्कृति परिषद्’ को अध्यक्षका हैसियतले पोखरेलले अनेकौँ लेखरचनामार्फत् आफ्ना सैद्धान्तिक आधारहरूबारे परिचर्चा गरेको हुनाले जिज्ञासुहरूका लागि अन्वेषणको ठूलो पाटो हुन सक्ने उक्त विषयवस्तुमा प्रशस्त सामग्री प्रकाशितै छन् । संक्षेपमा, ‘एक नेपालीजाति’को अवधारणालाई लागि निम्नानुसारका बुँदाहरू उल्लेख्य छन् ः

(क) नेपाल कुनै एक जात वा जाति वा जनजाति को, कुनै एक वर्गविशेषको मात्र देश नभएर विविधताहरूको समष्टि रूप हो । सृष्टिको नियम नै विविध चीजहरूको संयोजन हो । जस्तो, प्रोटोनइलेक्ट्रोनइत्यादिको संयोजन नभएकोभए परमाणु बन्दैनथ्यो, परमाणु–परमाणु नमिलेकोभए अणुको अस्तित्व हुँदैनथ्यो, अणु–अणु नजुटेकोभए तत्व हुनेथिएन र तत्व–तत्वको मिलन नहुँदो हो त पदार्थहरू हुनेथिएनन् । पदार्थबिना भौतिक सृष्टि हुने कुरै भएन । अनि, हामीलाई थाहा छ कि उत्तरीध्रुव र दक्षिणीध्रुव समन्वित नभई चुम्बकीय गुण आउँदैन । यसरी सृष्टिको नियम नै विविध चीजहरूको संयोजन हो, फरक–फरक वस्तुहरूको योग हो भन्नेकुरा प्रष्टै छ । समाज निर्माणका क्रममा पनि यही नियम लागू हुन्छ । व्यक्ति–व्यक्ति मिलेर परिवार बन्ने प्रकृयाबाट शुरु भएको मानवसमाजको जातिगत, भाषिक, सांस्कृतिक आदिको संयोजनको सुरुचिपूर्ण स्वरूपले राष्ट्र को रूप लिन्छ । त्यही संयोजनको सुरुचिपूर्ण स्वरूप अझ उच्चतर तहमा पुग्दाखेरि वसुधैव कुटुम्बकम् को अवधारणा विकसित हुने हो ।

(ख) नेपाल कुनै एक जात वा जाति वा जनजाति को, कुनै एक वर्गविशेषको मात्र देश नभएर विविधताहरूको समष्टि रूप होतापनि ती सबैको संयोजन भइसकेर एउटा राष्ट्रका रूपमा विकसित भइसकेको हुँदा सम्पूर्ण जातियसमुदाय, सबै भाषिकसमुदाय, सारा धार्मिकसमुदायको सहभागिताबाट निर्मित सिंगो रूप एक नेपालीजातियता प्रति इमान्दार रहनु नै राष्ट्रियता सुदृढ पार्ने कार्य हो ।

माथिका दुई बुँदाको आलोकमा नै कविवर पोखरेलले आफ्नो महाकाव्यमार्फत् दिग्दर्शन गराएको ‘महाएकता’को अवधारणालाई सही अर्थमा बुझ्न सकिन्छ । एक नेपाली सांस्कृतिक चेतना को साझा आत्मचेतको आधारमा प्रतिष्ठित एक नेपालीजाति भन्ने अवधारणालाई सुदृढ पार्नु नै नेपाली राष्ट्रियता सुदृढ पार्ने उपाय हो ।

हाम्रो देशमा राष्ट्रिय–चिन्तन हुँदै नहुने त होइन, तर अत्यन्त कम हुने गरेको छ । जसका कारण कतिपय राष्ट्रिय महत्वका सवालहरु नेपथ्यमै सीमित रहने गरेको देखिन्छ । हाम्रो पहिचान संसार सामु के कस्तो रहिआएको छ र हाम्रा परिचायक बनेका मध्ये के के कुरा हामीले कायम राख्ने हो र के चाहिँ फेर्नुपर्ने हो भन्ने सवाल यस्तै महत्वपूर्ण सवाल हो । यस्ता सवालको समाधानका लागि कविवर पोखरेलको चिन्तनबाट प्रवद्र्धित ‘महाएकता’को अवधारणाले गहकिलो दिग्दर्शन गराउन सक्छ ।

हिमवत्खण्ड महाकाव्यलाई वर्तमान–युगीन मूल्यको कसीमा जाँच्ने क्रममा थप दुईवटा पक्षहरू अत्यन्त विचारणीय छन् । पहिलो, यसको नायक किरात हो । यसरी किरातलाई (वा जनजातिलाई) नायक बनाएर लेखिएको पहिलो नेपाली महाकाव्य हो यो । नेपालको इतिहासलेखन नयाँ दृष्टिबिन्दुबाट गरिनु पर्छ भन्ने माग उठाइरहेकाहरूका लागि यो पक्ष यस कृतिको बलियो विशेषता लाग्न सक्छ । यस मानेमा किरात जातीय इतिहास, संस्कार एवं परम्पराको खोजीलाई प्राथमिकता दिइरहेकाहरूका लागि त यो महाकाव्य झन् पठनीय–सङ्ग्रहणीय बन्न पुगेको छ । दोस्रो, हिमवत्खण्डीय महाएकतालाई निष्कर्षसम्म ल्याइपु¥याउन निर्णायक भूमिका खेल्नेहरू दुवैजना महिला हुन् । राजनीतिमा महिला सहभागिता आलङ्ककारिक मात्र हुन नहुने, नेतृत्वदायी नै हुनु पर्ने वर्तमान युग–आवश्यकतालाई कवि पोखरेलले विवक्षा र सुलोचनामार्फत् प्रकट गरेका छन् ।

अत्यन्तै घतलाग्दो नीतिवचन छ, “अनायका विनश्यन्ति नश्यन्ति बहुनायकाः” । साँच्चैनै, इतिहासमा बारम्बार प्रमाणित भएको छकि यदि कुनै समाज÷समुदाय÷समूह वा राष्ट्र ‘अनायकत्व’ अर्थात् नेतृत्व–विहीनताको अवस्थामा हुनु भनेको त्यसको विनाशको पूर्व–लक्षण हो । त्यसैगरी यदि त्यहाँ अनेकन् मनमुखी नेताहरु छन् अर्थात् ‘बहुनायकत्व’को अवस्था छभनेपनि त्यसको परिणति उही हुन्छ । त्यसैले त भनिएको होकि नायकहीनको पनि विनाश हुन्छ र धेरै नेता भएकाको पनि । अब यतिखेर एकैपल्टमा ‘अनायकत्व’ र ‘बहुनायकत्व’ हुने विडम्बनापूर्ण अवस्था छ नेपालमा । एकातिर सम्पूर्ण जनसमुदाय त के कुरा बहुजनमा सर्वस्वीकार्य वा सर्वमान्य वा सर्वोच्च स्तरको पनि नेता अर्थात् ‘नायक’को हैसियतमा कोही छैनभने अर्कातिर आफूलाई ठूलै नेता भन्ठान्नेहरू बर्खाको च्याउ भन्दापनि बढी उम्रेका छन् । यसरी ‘अनायकत्व’ र ‘बहुनायकत्व’ दुइटै समस्या एक्कैचोटी आइपर्ने उपचक्कको स्थितिमा उभिएको नेपालको सामुन्नेमा कविवर भानुभक्त पोखरेलले नायकत्वको आफ्नै किसिमको मानक प्रस्तुत गरेका छन् । कविवर पोखरेलले मानेको नायकत्वले ‘महाएकता’को मान्यता अगाडि सार्छ र त्यसलाई व्यवहारतः सार्थक बनाउने परिकल्पना पनि देखिन्छ ।

चाहे युद्ध जेसुकै नाममा लडिएको होस्, वा जहाँसुकै गरिएको होस्, र जुनसुकै कालखण्डमा मच्चाइएको होस् —त्यसबाट मानवता आहत भएकै छ । युद्धबाट पीडित, अनाथ, विधवा तथा शरणार्थीहरूको चित्कारमा मानवताको छटपटाहट नै त प्रतिबिम्बित भएको छ ! युद्धलाई समाप्त नपारुञ्जेल यस्ता त्रासदीहरूबाट मानव समाज भविष्यमा पनि बारम्बार घाइते भइरहने निश्चित छ । कसैलाई फाइदा नहुने, कोहीपनि विजयी नहुने र सबैलाई बित्यास पार्ने हिंसाको आगो निभाउने उपाय पनि कविवर पोखरेलले देखेको ‘महाएकता’को अवधारणमा निहित छ ।

काव्यसृजनका लागि मूलतः संस्कृत शास्त्रीय छन्दहरूलाई रोज्ने कवि पोखरेल संस्कृत शिक्षाको पृष्ठभूमिबाट आएका हुनाले उनका काव्यमा संस्कृतनिष्ठ शब्दहरूको प्राचुर्य अनपेक्षित होइन । यस महाकाव्यमा पनि उनले संस्कृतनिष्ठ शब्दको भण्डारमाथि आफ्नो पहुँचलाई अधिकतम् प्रयोग गरेका छन् । तर त्यस्ता प्रत्येक शब्द प्रयोग भएपिच्छे तत्क्षण पादटिप्पणीमार्फत् अर्थ दिइएको र आवश्यकतानुसार सन्दर्भसमेत प्रष्ट्याइएको छ । त्यसमाथि, सुरुमै “हिमवत्खण्ड महाकाव्य चहार्ने गोरेटो” (कथावस्तु) सरल गद्यमा राखिएकैछ । यसरी सामान्य पाठकलेसमेत यो महाकाव्यको रसास्वादन गर्न सक्ने अवस्था छ ।

विश्वका धेरै देशका अनुभवले देखाएका छन् कि भीषण द्वन्द्व र सङ्क्रमणले धेरै घाउहरू दिए तापनि साहित्यले त्यस्ता कालखण्डबाट आफ्नै किसिमले पाठ लिन्छ । द्वन्द्व र सङ्क्रमणबीचबाट कतिपय कालजयी कृतिहरू निक्लेका छन् । नेपालमा पनि समाजले भोगिरहेको सङ्क्रमणलाई सम्बोधन गरी धेरैजनाले धेरै कुराहरू लेखेका छन् । समसामयिक टिप्पणीका रूपमा अखबारी लेखहरूमार्फत् मात्र होइन, साहित्यमार्फत् पनि त्यस्तो सरोकार प्रचूर मात्रामा प्रकाशित भएका छन् । तर यस्ता पहलहरूमा प्रायः राजनीतिक नाराबाजीलाई साहित्य वा काव्यको जामा पहि¥याउने प्रयत्न भइरहेका हुनाले तिनको गुणवत्ताले निराशा जन्माइरहेको थियो । यस्तो बेलामा कवि पोखरेलले भने हिमवत्खण्ड महाकाव्यजस्तो कृति दिएका छन्, जुन नेपाली वाङ्मय (विशेषतः महाकाव्य विधा) मा कोसेढुङ्गा बन्ने देखिन्छ । 

परम्परागत पहिचानका राम्रा पक्षहरुको संरक्षण, सम्बद्र्धन, प्रवद्र्धन तथा नराम्रा पक्षहरुको त्याग, विनाश र आवश्यक परेका खण्डमा परिष्कार, परिमार्जन, संशोधन सहित नयाँ उपलब्धि हासिल गर्नकालागि पनि हामी क्रियाशील रहनुपर्छ भन्ने मान्यतालाई कविवर पोखरेलले आत्मसात् गरेको देखिन्छ । विगतको महान् विरासतलाई सुहाउँदो राष्ट्रिय पहिचान वर्तमानमा पनि जाज्वल्यमान राख्न सक्नु जरुरी छ भन्ने बुझेरै उनले प्राचीन सांस्कृतिक पृष्ठभूमि र समकालीन युग–संचेतनाबीच सन्तुलन मिलाउन विशेष जोड दिएको पाइन्छ । 

कि पुरानै कुरामात्र चपक्क समातेर वर्तमानयुगीन संचेतनालाई ढिम्किनै नदिने; किचाहिँ प्रगतिवाद, आधुनिकता, उत्तरआधुनिकता वा अन्य कुनै वादको चस्मा लगाएर प्राचीनतालाई पूरापूर नकार्ने — यस्ता अतिवाद नेपाली साहित्यिक समुदायमा पनि देखिन्छ । तर कवि पोखरेल आफ्नो सांस्कृतिक पृष्ठभूमि र समकालीन युग–संचेतना दुवैसँग पूर्ण परिचित रहेका छन् । यो तथ्य उनले मृत्युञ्जय महाकाव्य (वि.सं. २०४७ मा मदन पुरस्कार पाएको कृति) जस्ता कालजयी कृतिमार्फत् स्थापित गरिसकेका हुन् । प्राचीन सांस्कृतिक पृष्ठभूमि र समकालीन युग–संचेतनाबीच सन्तुलन  मिलाउन सक्ने कवि पोखरेलको खुबी हिमवत्खण्ड महाकाव्यमा पनि प्रष्टसँग प्रतिष्ठित छ । उपर्युक्त विशेषतासमेतका आधारमा मूल्याङ्कन गर्दा यो महाकाव्य नेपाली वाङ्मयको अति विशिष्ट प्राप्ति हो ।

तनहुँ

सम्प्रति :- भाषा तथा आमसञ्चार विभाग, काठमाडौं विश्वविद्यालय स्कूल अफ् आर्ट्स, हात्तीवन, ललितपुर ।